गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उनले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताए । मन्त्री पोखरेलले आज बस्ने मन्त्रिपरिषद्को बैठकले शिक्षकको दरबन्दीबारे निर्णय गरिने जानकारी दिँदै पालिका तहमा दरबन्दी पुनः वितरणमा नयाँ प्रक्रिया सुरु गरिने जानकारी दिए ।

उनले नेपाल शिक्षक आयोगको परीक्षा उत्तीर्ण शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्दै स्थानीय पालिका तहमा नपुग विषयगत शिक्षक स्थानीय स्तरबाटै दरबन्दी पूर्ति गरिने बताए । मन्त्री पोखरेलले सामुदायिक विद्यालय स्वायत्त संस्था भएकाले नजिताका आधारमा अनुदानको व्यवस्था भए स्तरीय पठनपाठन हुने विचार व्यक्त गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशमा गुणात्मक एवं जीवनोपयोगी शिक्षाका लागि कार्य भइरहेको जानकारी दिए । सो अवसरमा प्रदेशअन्तर्गत १४ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले आ–आफ्नो विद्यालयबाट गरिएका कार्यबारे जानकारी गराए ।

प्रतिक्रिया