हात्ती जोगाउन मुस्किल

काठमाडौं । पछिल्लो दशकमा नेपालमा हात्तीको संख्या बढेको देखिए पनि यसलाई जोगाउन मुस्किल देखिएको छ । दशकको तुलनामा हात्तीको संख्या बढेको देखिए पनि वर्षको तुलनामा भने घट्दै गएको हो ।

नेपालमा अन्य एसियाली मुलुकको तुलनामा हात्तीको संख्या डरलाग्दो किसिमले घट्न थालेको छ । नेपालमा दुई दशकअघि मुस्किलले ३० देखि ४० वटा हात्ती रहेको अनुमान गरिएको थियो भने हाल जंगली हात्तीको संख्या मात्र नेपालमा कम्तीमा एक सय ७५ पुगेको बताइन्छ ।

घर पालुवा हात्तीको संख्या दुई सय १४ भन्दा बढी रहेको छ । तर, पछिल्ला वर्षमा मानव र हात्तीबीचको टकरावले यो संख्या घट्न थालेको देखिएको छ । प्रत्येक वर्ष दुईदेखि तीनवटा हात्ती स्थानीयवासीको गलत हर्कतका कारण मारिने गरेको हात्तीबारे एक दशकयता अध्ययन गरिरहेका अध्येता दिनेश न्यौपानले बताए ।

उनका अनुसार नेपालले प्रत्येक वर्ष दुई प्रतिशतका दरले हात्ती गुमाउँदै छ । ‘हात्तीको वार्षिक मृत्यु दर हेर्दा सानो देखिए पनि यो चिन्ताको विषय हो । हात्तीले दुई वर्षमा एकपटक सन्तान जन्माउने र त्यो पनि थोरै संख्यामा भएकाले हात्तीको संख्या बढाउनु चुनौतीपूर्ण छ’, न्यौपानेको भनाइ छ । छिमेकी मुलुक भारतमा बर्सेनि दुई सयको हाराहारीमा हात्ती मर्ने गरेका छन् । त्यहाँ हात्तीको संख्या २७ हजारभन्दा बढी रहेको बताइन्छ । त्यस्तै ५ हजार हात्ती रहेको श्रीलंकामा बर्सेनि एक सय ५० ले ज्यान गुमाउने गरेको तथ्यांक छ । नेपालमा तराई क्षेत्रमा हात्तीले गर्ने विनाशलाई नियन्त्रणमा लिनका लागि अपनाइने तरिका गलत हुँदा हात्तीको ज्यान जाने गरेको छ ।

हात्तीको संख्या धेरै रहेको बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती जोखिममा परेका छन् । छावा जोगाउन झनै गाह्रो देखिएको त्यहाका कर्मचारीले बताएका छन् । दुई दशक अवधिमा २९ वटा हात्ती मरेको निकुञ्जको तथ्यांक छ । यसमा भाले १५, पोथी ८ र लिंग नछुट्टिएका ६ वटा छन् । अझ छावा मात्र नौवटा मरेका छन् । पाँचवटा हात्ती करेन्ट लगाएर मारिएको पाइएको छ । वृद्ध, बिरामी र मृत्युको कारण नखुलेका ३÷३ वटा छन् । केही हात्ती नहरमा डुबेर, आपसमा भिडन्त भएर, कालगति, चोरीसिकार र बाँकी अन्य कारणबाट मरेको निकुञ्जका कर्मचारी बताउँछन् ।

विश्वमै संकटापन्न हात्तीमध्ये बर्दियामा एसियन प्रजातिका पाइन्छन् । निकुञ्जमा सयभन्दा बढी हात्ती रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । यीमध्ये ५० वटा रैथाने हुन् । संख्याका हिसाबमा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी हात्ती रहेका छन् । त्यहाँ व्यावसायिकरूपमा पनि हात्ती पाल्नेको संख्या ठूलो छ । तर, विविध कारणले छावा जोगाउन नसक्नु र भएका हात्ती पनि विभिन्न कारणले मर्नुले यसले केही वर्षपछि संकट निम्त्याउने देखिएको संरक्षणविद्हरूको भनाइ छ ।

विशेषगरी मानव र हात्तीबीच हुने टकरावले यसको सकंट झनै बढाएको छ । झापादेखि उदयपुरसम्म जंगली हात्तीले वेला वेलामा आक्रमण गर्ने गरेको सुनिन्छ । एक अध्ययनका अनुसार हात्तीको आक्रमणबाट प्रत्येक वर्ष १०÷१२ जनाको मृत्यु हुने गरेको छ । जसका कारण मानिसहरू हात्तीबाट बच्न करेन्ट प्रवाह गर्ने, ठूला पासो राख्ने गर्दा पनि हात्ती जोखिममा पर्ने गरेका छन् । चोरी सिकारका कारण पनि हात्तीहरू जोखिममा छन् । सरकारले बाघ, गैंडालगायत वन्यजन्तु संरक्षणमा चासो देखाए पनि हात्तीमा खासै ध्यान नपुगेको देखिन्छ । निकुञ्जमा रहेका हात्तीको अध्ययन, अनुसन्धानलगायत अनुगमन नहुँदा संरक्षण कार्य प्रभावित बन्दै गएको छ ।

प्रतिक्रिया