‘एक्सन रुम’मा प्रधानमन्त्री

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन सुरु गरेको छ । आर्थिक वर्ष ०७६-७७ सुरुआतबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचओटा आयोजनाको अनुगमन गर्न सुरु गरेका छन् । स्थलगत नभई सिंहदरबारमै बसेर प्रधानमन्त्रीले सबै आयोजनाको निरीक्षण गरिरहेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ ओटामध्ये पाँचओटा राष्ट्रिय गौरवका आयोजनामा सिंहदरबारबाटै पँहुच पुगेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजनामा सिसिटिभी जडान भएपछि निरीक्षण सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजना स्थलमा भइरहेका कामको प्रत्यक्ष निरीक्षण गर्न पाइन्छ ।

पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर सुरुङ खनिएको भेरी–बबई डाइभर्सनमा अहिले के–के काम भइरहेको छ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमै बसेर अनुगमन र निरीक्षण गर्न थालेका हुन् । सो कार्यालयको उद्घाटन जेठ १५ गते नै भए पनि अझै पूर्ण रूपमा भने सञ्चालनमा आउन सकेको छैन । सरकारी विकासका अधिकांश आयोजनामा ढिलाइ हुन थालेपछि प्रधानमन्त्री ओलीले एक्सन रुम बनाउने निर्णय गरेका थिए । सोहीअनुसार अहिले काम अन्तिम चरणमा पुगेको छ । केही साताभित्रै सबै ११ ओटा आयोजनामा सिसिटिभी जडानको कार्य सकिएपछि सिंहदरबारबाटै अनुगमन र निरीक्षण सुरु हुनेछ ।

प्रधानमन्त्री ओलीले आफ्नै कार्यकक्षमा बसेर दिनहुँ त्यहाँ के कति काम भयो, कहाँ के अवरोध आयो भनेर सबै प्रत्यक्ष रूपमा हेरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । प्रधानमन्त्री ओलीले पहिलोपटक एक्सन रुममा बसेर विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरिसकेका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, रानीजमरा सिँचाइ आयोजना, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडाैं–तराई द्रुतमार्ग आयोजनाको पनि यहीँबाट प्रत्यक्ष निगरानी गर्न मिल्ने गरी आवश्यक प्रणाली जडानको काम भइरहेको छ । कार्यालयका इन्जिनियर विनय सुवेदीले भने, ‘ती आयोजना बन्दै गरेका ठाउँमा क्यामेरा जडान गरिन्छ, आयोजना एक ठाउँमा सकिए क्यामेरालाई अर्को ठाउँमा सारेर अनुगमन गरिने छ ।’

जेठ १५ मा उद्घाटन गर्दा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रत्यक्ष कुराकानी गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुममा तीनओटा ठूला मनिटर जडान गरिएको छ । यस्तै सातओटै प्रदेशका मुख्यमन्त्रीहरूको कार्यालयमा पनि ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फ्रेन्सिङ सिस्टम हो । इन्टरनेटका माध्यमबाट यसमा सादृष्य कुराकानी हुन्छ । प्रधानमन्त्रीले पनि यही सिस्टममार्फत सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुराकानी गरेका हुन् ।

प्रधानमन्त्री ओली कामको सिलसिलामा कार्यालयबाहिर गए मोबाइलबाटै हेर्न सकिने व्यवस्था पनि मिलाइएको छ । यसबाट मुख्य आयोजनाको भौतिक प्रगति हेर्न र त्यहाँ आइपरेका समस्या सल्टाउन सहज हुने विश्वास लिइएको छ । अनुगमन प्रभावकारी नभएकाले विकास निर्माणको काम लथालिंग भएको गुनासो बढेपछि सरकारले अनुगमनलाई बलियो बनाउन पहिलो चरणमा राष्ट्रिय गौरवका मुख्य आयोजनाहरूमा यस्तो प्रविधि जडान गरिएको हो । अहिले आयोजनाका काम तीव्र रूपमा भइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यसका साथै प्रधानमन्त्री निवास बालुवाटारमा पनि एक्सन रुममा आउने फुटेज हेर्न मिल्ने गरी छुट्टै कक्ष राखिएको मन्त्रिपरिषद्का प्रवक्ता कुँवरले जानकारी दिए । फिल्डमा काम नहुँदा पनि आयोजनाले भौतिक पूर्वाधार प्रगतिबारे सम्बद्ध मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई गुमराहमा राख्ने प्रवृत्ति पनि छ । यस्तो समस्या समधानका लागि यो प्रणाली निकै प्रभावकारी हुन सक्ने दाबी सरकारको छ । यस्तै, प्रदेश सरकारलाई परेका समस्या तथा उनीहरूको माग सुन्न र दुईपक्षीय समन्वयका लागि पनि यो प्रविधि फलदायी रहेको प्रवक्ता कुँवर बताए ।

एक्सन रुममा भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरणहरू राखिएको छ । यस्तै, ह्वाइट बोर्ड, चार्टलगायतका माध्यमबाट समस्या भएका आयोजनाहरूको रिपोर्ट राख्ने काम पनि भइरहेको छ । सकेसम्म योजनामा विवाद आउन नदिने गरी काम गर्न निर्देशन हुने र कारणवश विवाद आए प्रधानमन्त्रीको तहबाटै हल गर्ने गरी यो रुम सञ्चालनमा छ ।

प्रतिक्रिया