बिग्रेड ब्वाइज च्याम्पियन

काठमाडौं । तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाइज क्लबले जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतबार भएको फाइनलमा ब्रिगेड ब्वाइज क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

ब्रिगेड ब्वाइज क्लबको जितमा उसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको २३औँ मिनेटमा ब्रिजेस चौधरीले ब्रिगेड ब्वाइजलाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाको पासमा पृथ्वी चौधरीले गरेको प्रहार पुलिसका गोलरक्षकले रोकेका थिए । तर, रिबाउन्ड बलमा ब्रिजेसले सानदार गोल गरी ब्रिगेड ब्वाइज क्लबलाई पहिलो हाफमा अग्रता दिलाउन सफल भए ।

दोस्रो हाफमा पुलिसले गोल फर्काउन नसक्दा ब्रिगेड १–० को जित निकाल्दै उपाधि जित्न सफल भयो । उपाधि विजेता ब्रिगेड ब्वाइज क्लबले नगद ३ लाख हात पार्दा उप बिजेता भएको पुलिसले १ लाख ५० हजार पा¥यो । नेपाल पुलिसका विशाल बस्नेत उत्कृष्ट डिफेन्डर घोषित भए ।

त्रिभुवन आर्मीका विशाल सुनार उत्कृष्ट गोलकिपर र उत्कृष्ट फरवार्ड पनि ब्रिगेड ब्वाइज क्लबकै ब्रिजेश चौधरी घोषित भए । विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । विजेता टिम तथा खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया