देवदहमा बौद्ध शिक्षा प्रभावकारी बन्दै

बुटवल । रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेसँगै यसको प्रभावकारी बढ्दै गएको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ नगरपालिकाले स्थानीय पाठ्यक्रममा तीन वर्षदेखि लागू भएको थियो । यो शिक्षापछि विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाएको विश्वास नगरपालिकाले गरेको छ ।

जनप्रतिनिधि नआउँदै कक्षा ६ का सामुदायिक विद्यालयमा यस पाठ्यक्रमलाई राखेर पढाउने गरेपछि जनप्रतिनिधि आएपछि कक्षा ६ र ७ मा नेपाली र अंग्रेजी माध्यमबाट बौद्ध शिक्षा अध्ययन हुन थालेको हो ।

देवदहको परिचय र बुद्ध मावली देवदहको जानाकारीसहित तयार गरिएको पुस्तक देवदह नगरपालिकाभित्र रहेका ४९ सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा पढाइ भइरहेको छ । पाठ्यपुस्तकलाई नगरपालिकाले विद्यालयमा निःशुल्क दिँदै आएको देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।

‘स्थानीय विषयवस्तु पाठ्यक्रममा राखेपछि विद्यार्थीहरूले सानो उमरेमै आफ्नो जन्मभूमिका पर्यटकीय एवं धार्मिक विषयको ज्ञान प्राप्त गरेका छन् ।’ उनले भने, ‘बुद्ध र बुद्धत्वको ज्ञानसमेत विद्यार्थीले प्राप्त गर्ने गरेका छन् ।’

पाठ्यक्रममा कथा, निबन्ध र सूत्रका माध्यमबाट शिक्षा बुझाउने गरिएको छ । बुद्ध र उनको मावली देवदहबारे पढ्न पाउँदा विद्यार्थी आकर्षित भएका छन् । कतिपय विद्यालयले बौद्ध शिक्षालाई अनिवार्य गरेका छन् भने कतिपयले कम्प्युटर विषयसँग जोडेर अध्ययन गराइरहेका छन् । बौद्ध शिक्षाको प्रभावकारी बढेको विद्यालयले बताएका छन् । ‘पाठ्यक्रममै देवदहका ऐतिहासिक एवं धार्मिक क्षेत्रका विषयहरू समेटिएका कारण आफ्नो गाउँठाउँको बारेमा विद्यार्थीले जानकारी लिएका छन्’, केरवानी माध्यमिक विद्यालय देवदहका प्राचार्य दुर्गादत्त शर्माले भने ।

यसमा नैतिकता र असल कर्मका लागि बुद्धका पञ्चशीललाई प्राथमिकता दिइएको छ । स्थानीय पाठ्यक्रम भएकाले यसलाई नैतिक र परोपकारसित जोडिएको छ । कसरी असल बन्ने, खराब काम त्याग्ने, दुःखबाट छुटकारा पाउने र भलो हुने काम बुद्ध शिक्षाका मर्म हुन् । बुद्धको जीवनी र उपदेशका साथै देवदहको परिचय र महत्व पाठ्यपुस्तकमा समेटिएको पाठ्यपुस्तक लेखक निर्मल ढुंगानाले जानाकारी दिए । ‘विद्यार्थीलाई कसरी शान्त बनाउन सकिन्छ, उनीहरूले आफ्नो गाउँठाउँलाई कसरी सजिलै चिन्न र सम्झन सक्छन् भने त्यहीअनुसार पाठ्यक्रम हामीले बनाएका हौँ’, उनले भने ।

नगरपालिकाले कम्प्युटर विषयलाई ६० अंकको बनाएर बौद्ध शिक्षा लागू गरेको छ । यो ४० अंकको छ । १० अंकको प्रयोगात्मक अभ्यास र ३० को सैद्धान्तिक विषय समावेश गरिएको छ । यसलाई क्रमशः कक्षा १२ सम्म पु¥याउने योजना छ ।

बुटवलको पनि आफ्नै पाठ्यक्रम
बुटवल उपमहानगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेको छ । आधारभूत तहदेखि कक्षा ८ सम्म पठन पाठन हुने गरी सय पूर्णांकको स्थानीय पाठ्यक्रम तयार पारेको हो । बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, समाजिक र विविध विषयहरू समेटेर बुटवलको चिनारी लगायतका विषय पाठ्यक्रममा समावेश भएका छन् ।

प्रतिक्रिया