भारतसँगको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष भलिबल टोली र भारतको राष्ट्रिय भलिबल टोलीबीच साउन दोस्रो सातालाई तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले नेपाल र भारतबीचको तीन मैत्रीपूर्ण खेल रद्ध भएको हाम्रो खेलकुदलाई जानकारी गराए । यसअघि नेपालले साउन ९, १० र ११ गते तीन दिन भारतसँग आर्मीको कभर्डहलमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो ।

भारतीय भलिबल संघले टोली अहिले एसियन भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेकाले पठाउन नसकिने जानकारी पठाएको महासचिव चन्दले बताए । ‘नेपाल भलिबल संघको निमन्त्रणालाई स्वीकार्दै भारतीय टोली मैत्रीपूर्ण खेलका लागि आउने बताएको थियो । तर, उनीहरूले मैत्रीपूर्ण खेलका लागि टिकट काटिसकेको अवस्थामा आएर पनि आउन नसकिने सन्देश पठाए,’ महासचिव चन्दले बताए ।

महासचिव चन्दले अब तत्काल कुनै पनि टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तय नभएको र केही समयपछि कुनै एक राष्ट्रसँग खेल हुने सम्भावना कायम रहेको जानकारी गराए । भारतको राष्ट्रिय पुरुष भलिबल टिम आगामी बुधबार काठमाडौं आउने कार्यक्रम तय भएको थियो । एसियन मेन्स भलिबल च्याम्पियनसिप इरानमा सेप्टेम्वर १३ देखि २१ सम्म आयोजना हुँदैछ । भारत समूह ‘सी’ मा रहेको छ । भारत रहेको समूहमा काजकिस्तान, चीन र ओमान रहेका छन् ।

नेपाली टोलीले ३२ साउनबाट ८ भदौसम्म सञ्चालन हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको तयारीमा छ । नेपाली टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिइरहेका छन् । च्याम्पियनसिपमा नेपालसहित तुर्कमेनिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहने छ ।

प्रतिक्रिया