नेकपामा नेताको कार्यविभाजन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले विभागको मुख्य पदमा रहने नेताहरूको कार्यविभाजनको टुंगो लगाएको छ । आइतबार सचिवालय बैठक बस्नुअघि विभागमा रहने अन्य सदस्यको नाम समेत टुंगो लगाइने नेताहरूले बताएका छन् ।  असार मसान्तमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले ३२ वटा विभागको भागबण्डा टुंगो लगाएको थियो । जसमा पूर्वएमालेलाई १८ र पूर्वमाओवादीलाई १४ विभाग परेका थिए । पूर्वपार्टी भनेर भाग लगाए पनि जोसुकै नेताहरू राख्न सक्ने सहमति पनि भएको थियो । जसअनुसार पूर्वएमालेका शीर्ष नेता बसेर आफ्नो भागमा परेका विभागमा नेतृत्व छानेका छन् । उनीहरूले पूर्ववत् रूपमा सम्हालेका विभाग नै नेकपामा पनि सम्हाल्ने भएका हुन् । सबैभन्दा महत्त्वपूर्ण मानिएको संगठन विभागको प्रमुख बामदेव गौतम हुने पक्का भएको छ । सबैभन्दा धेरै संगठित सदस्य रहेको नेकपाको प्रमुख विभागको जिम्मेवारी गौतमले पाएका हुन् ।

हकी स्वभावका नेता गौतम विगतमा पनि संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । २०५० जेष्ठ ३ गते तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा परेर निधन भएपछि उनले सो जिम्मेवारी पाएका थिए । भण्डारी र आश्रितको निधन भएपछि माधवकुमार नेपालले महासचिवको जिम्मेवारी पाएका थिए भने बामदेवले संगठन विभागको जिम्मेवारी सम्हालेका थिए । उनले करिब ३० महिना तत्कालीन एमालेको संगठन विभाग प्रमुख भएर काम गरेका थिए । महाकाली सन्धिका विषयमा एमालेभित्र विवाद भएपछि उनलाई हटाएर अमृत बोहोरालाई त्यो विभागको जिम्मेवारी दिइएको थियो । भारतसँग २०५२ माघ २९ गते महाकाली सन्धि भएको थियो । त्यसपछि गौतमले पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए ।

बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको पूर्वएमाले नेताहरूको छलफलमा आफ्ना भागमा परेका १८ वटा विभागमध्ये अधिकांशको नेतृत्व टुंगो लगाएका हुन् । जसअनुसार दोस्रो वरियतामा रहेका नेता नेपालले विदेश विभाग प्रमुख सम्हाल्ने छन् । तत्कालीन एमालेमा हुँदा पनि उनले विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । पूर्वएमालेका शक्तिशाली नेता गौतम पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहालसँग निकट मानिन्छन् । अध्यक्ष र महासचिवले विभागीय जिम्मेवारी नलिने सहमति भएपछि गौतमलाई फकाउन अध्यक्ष ओलीले संगठन विभाग दिन लागेका हुन् । विगतमा ओलीलाई अध्यक्ष र संसदीय दलको नेता हुन सहयोग गरेका गौतम पछिल्लो समय ओलीसँग चिढिएका थिए ।

यसैगरी पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने निर्णय भएको छ । एकीकरण पूर्वएमालेमा पनि थिंक ट्यांकको रूपमा प्रतिष्ठान थियो । त्यसको नेतृत्व पनि खनालले नै गरेका थिए । ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्वएमाले र १५ जना पूर्वमाओवादीबाट रहने यसअघि नै सहमति भइसकेको छ । नेकपाको अर्को महत्त्वपूर्ण विभाग स्कुल विभाग प्रमुखमा पूर्ण सहमति भइसकेको छैन । यद्यपि त्यो पदमा सचिवालय सदस्य पोखरेललाई बनाउने लगभग सहमति जस्तै भएको पूर्वएमाले नेताहरूको भनाइ छ । त्यसमा नारायणकाजी श्रेष्ठले पनि दाबी गरिरहेकाले सहमति नभएको बताइएको छ । तर, श्रेष्ठलाई पूर्वमाओवादीको भागमा परेको प्रचार–प्रसार विभाग दिइने चर्चा पनि चलिरहेको छ । उनले सो विभाग सम्हाल्न नमाने पम्फा भुषाललाई ल्याउने तयारी छ ।

नेकपाले केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्च पनि स्थापना गर्ने भएको छ । २ सय २१ जना सदस्य रहने परिषद्को अध्यक्ष पूर्वएमालेका केशव बडाल रहने छन् । त्यत्ति नै सदस्य रहने मञ्चको अध्यक्ष पूर्वमाओवादीका एनके प्रसाईं रहने सहमति अध्यक्षद्वय बीच भइसकेको छ । नेकपाका ३ वटा केन्द्रीय आयोगहरूमध्ये २ वटामा पूर्वएमालेबाट प्रमुख र एउटामा पूर्वमाओवादीबाट प्रमुख रहने छन् । लेखा परीक्षण आयोगको प्रमुखमा डा. पुष्प कँडेल रहने छन् भने अनुशासन आयोग प्रमुखमा अमृत बोहरा हुने लगभग निश्चित जस्तै छ । यता, नेकपाको निर्वाचन आयोगको प्रमुखमा पूर्वमाओवादीबाट अमिक शेरचनको नाम चर्चामा रहेको छ ।

आइतबार सचिवालय बैठक बोलाइएकाले त्यसअघि नै नाममा सहमति जुटाउन शीर्ष नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । अध्यक्षद्वय ओली र दाहालबीच शुक्रबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा पोलिटब्युरो सदस्यको नामका विषयमा छलफल भएको नेताहरूले जानकारी दिएका छन् । शनिबार दिनभर छलफल गरेर सबै विषयमा टुंगो लगाउने र केही गरी सहमति नभए आइतबार पुनः छलफल गर्ने अध्यक्षद्वय बीच सहमति भएको छ ।

प्रतिक्रिया