नेताका सम्पत्तिमाथी छानविन

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले राजनीतिक नेताहरूको सम्पत्ति छानबिन गर्न सुरु गरेको छ । सुरुआती चरणमा करिब दुई दर्जन नेतामाथि छानबिन गरिरहेको विभागले जानकारी दिएको छ ।

विशेषगरी विगतमा मन्त्री भएका नेताहरूको सम्पत्ति सुक्ष्मरूपमा अध्ययन भईरहेको विभाग स्रोतले जानकारी दिएको छ । अहिलेसम्म अनुसन्धानमा रहेका मध्ये काँग्रेसका नेता मोहनबहादुर बस्नेत र राप्रपाका पूर्वनेता तथा काँग्रेस सांसद सूर्यबहादुर केसीको सम्पत्ति शंकास्पद देखिएको छ । शंकास्पद सम्पत्ति देखिएपछि केही सातादेखि विभागले निरन्तर उनीहरूको फाइल मगाएर अनुसन्धान गरिरहेको छ ।

राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएको छ । केसीको भने करिब ३० करोड रुपैयाँ बराबर ‘कालोधन’ फेला परेको दाबी विभागले गरेको छ । बस्नेतलाई केही दिनभित्रै बयानका लागि बोलाउने तयारी विभागले गरिरहँदा केसीविरुद्ध भने मुद्दा नै दर्ता गर्ने स्रोतले जानकारी दिएको छ ।

बस्नेतविरुद्ध विभागमा समेत गोप्य उजुरी परेपछि अनुसन्धान थाल्दा केही शंकास्पद रकम देखिएको छ । उनको नाममा सो सहकारीमा ६१ करोड रुपैयाँ फेला परेको छ । विभागले बस्नेतको रकम अहिले ‘फ्रिज’ गरेर अनुसन्धान गरिरहेको छ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकका पूर्व सञ्चालक समेत रहेका बस्नेतको कर छलीबाट आएको रकम जम्मा भएको जस्तो देखिएको विभागको भनाइ छ ।

‘प्रारम्भिक अनुसन्धानमा बस्नेतले कर छली गरेको भेटिएको छ । उहाँको ‘ब्याकग्राउन्ड’ सँग यति ठूलो रकमको मेल खाने देखिएन । त्यही भएर सहकारी विभागमार्फत पैसा रोक्का गरिदिएका छौँ’, विभाग स्रोतले भन्यो, ‘अरू स्रोतहरू पनि खोजिरहेका छौँ । तर, अहिले सहकारीमा स्रोत नपुग्ने पैसा भेटिएको छ ।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो पटक प्रधानमन्त्री हुँदा संचारमन्त्री रहेका बस्नेत सिन्धुपाल्चोकका नेता पनि हुन् । विभागले उनका परिवारका सदस्यको नाममा रहेका बैंक तथा सम्पत्तिका विषयमा पनि खोजबिन सुरु गरेको छ । ‘वित्तीय जानकारी इकाइबाट हामीले परिवार र नातेदार सबैको बैंकिङ ‘हिस्ट्री’ मागेका छौँ’, विभाग स्रोतले भन्यो, ‘इकाइले सहयोग गर्यो भने अझै गहिरोमा पुगेर अनुसन्धान गर्न सकिन्छ ।’

यसैगरी विभागले पोखराका पुराना व्यवसायी तथा काँग्रेसका सांसद केसीको नाममा पनि ३१ करोड रुपैयाँको स्रोत फेला नपारेको जानकारी दिएको छ । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समेत रहेका केसीका धेरै कम्पनी रहेका छन् । उनी सो कलेजसँग सम्बन्धित रकमबाट विभागको अनुसन्धानमा तानिएका हुन् ।

विभागको स्रोतका अनुसार केही संस्थामा जालसाझी गरेर कालोधन थुपारेको देखिएको बताएको छ । उनको सम्पत्ति अवैध भएको ठहर गरिसकेको विभागले केसीविरुद्ध मुद्दा नै हाल्ने तयारी गरेको छ । यद्यपी एक पटक सरकारी वकिलको कार्यालयसँग परामर्श गरेर त्यहीअनुसार अगाडि बढ्ने बताएको छ । केसी पोखराका चर्चित व्यवसायी पनि हुन् । उनी काँग्रेस प्रवेश गर्नुअघि राप्रपा सहप्रवक्ता थिए । राप्रपाबाट ०७४ कात्तिकमा नेपाली काँग्रेसमा प्रवेश गरेपछि समानुपतिक तर्फबाट अहिले सांसद छन् ।

रातो पासपोर्ट बेचबिखनमा मुछिएका तत्कालीन संविधान सभाका सदस्य, पूर्व सांसदहरूको सम्पत्तिमाथि पनि अनुसन्धान भईरहेको शुद्धिकरण विभागले जानकारी गराएको छ । ‘अझै पनि केही नेताहरू शंकाको घेरामा हुनुहुन्छ’, विभाग स्रोतले भन्यो, ‘उहाँहरू विरुद्ध तत्कालै कुनै प्रमाण फेला नपरेपनि अनुसन्धान जारी रहेकाले यसै भन्ने अवस्था छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएपछि यसले गति लिईरहेको छ । विभागले विशेषगरी अहिले सहकारीतर्फ बढी ध्यान केन्द्रित गरिरहेको छ । कालोधन लुकाउन बैंकभन्दा सहकारी सजिलो हुने भएकाले अनुसन्धानपनि त्यतै नै बढी केन्द्रित रहेको छ ।

राजनीतिक दलदेखि विभिन्न कर छलेर कमाएको पैसासम्म सहकारीमा जान थालेपछि सरकारले नियम बनाएर कस्न थालेको छ । त्यही क्रममा पूर्वमन्त्री बस्नेतले पैसा राख्नेबित्तिकै अनुसन्धान गर्ने निकायले जानकारी पाएका हुन् । सहकारी विभागले ०७४ माघ १५ गते सम्पति शुद्धिकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै एसटिआर (सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट) पठाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया