नेकपा एकता प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताले अन्तिम रूप पाएको छ । केन्द्रीय सदस्यहरूको कार्यविभाजन लगभग टुंगिएको छ भने पोलिटब्युरो गठन पनि अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले चालू आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तमा एकता टुंगिने बताए पनि केही दिन लम्बिने देखिएको छ । सबैभन्दा कठिन देखिएको सदस्यहरूको कार्यविभाजन लगभग टुंगिएको स्रोतले दाबी गरेको छ । तत्कालीन माओवादीले तीनदेखि चार वटामा आफ्नो नेतृत्व माग गरिरहेको छ ।

यद्यपि, यस विषयमा नेताहरूबीच छलफल चलिरहेकाले अन्तिम टुंगो भने लागेको छैन । स्रोतका अनुसार प्रचार तथा प्रसार विभाग र संगठन विभाग प्रमुखमा तत्कालीन माओवादीले दाबी गरिरहेको छ । अध्यक्ष ओलीले प्रचार–प्रसार विभाग दिन सकिने बताए पनि संगठन विभागमा भने विवाद कायमै छ ।

वरिष्ठ नेता माधवलाई विदेश विभाग, झलनाथलाई नीति तथा योजना बिभाग, वामदेवलाई किसान फाँट, नारायणकाजी श्रेष्ठ प्रचार–प्रसार विभाग र नेम्वाङलाई संसदीय विभाग प्रमुख बनाउने प्रस्ताव । संगठन विभाग, स्कुल विभाग र आर्थिक विभागमा कुरा मिल्न बाँकी

स्रोतले दिएको जानकारीअनुसार वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख र झलनाथ खनाललाई नीति तथा योजना बिभाग प्रमुख बनाइएको छ । नेता नेपाल तत्कालीन नेकपा एमालेको पनि विदेश विभाग प्रमुख रहेका थिए । त्यस्तै, वामदेव गौतम किसान फाँटको प्रमुख, नारायणकाजी श्रेष्ठ प्रचार–प्रसार विभाग प्रमुख र सुवास नेम्वाङ संसदीय विभाग प्रमुख हुने प्रस्ताव गरिएको छ ।

संगठन विभाग, स्कुल विभाग र आर्थिक विभागमा कुरा मिलेको छैन । संगठन बिभागमा नेता रामबहादुर थापा ‘बादल’को नाम आए पनि यसविषयमा सहमति जुटेको छैन । थापाको कार्यक्षमताको विषय उठेकाले उनलाई दिने वा नदिने भन्ने विषय विवादमा परेको छ ।

यसैगरी, नेता योगेश भट्टराईलाई अध्यक्ष ओलीले प्रचार विभाग प्रमुख बनाउन चाहेको पनि खुलेको छ । तर, उनि अब आउने मन्त्रिपरिषद् विस्तारमा मन्त्री हुने लगभग पक्का जस्तै रहेकाले सो विभाग नदिएको स्रोतको दाबी छ । हाल पर्यटन मन्त्रालय खाली रहेको छ । प्रधानमन्त्री ओलीले सो मन्त्रालय भट्टराईलाई दिने वा अर्को मन्त्रालय खाली गरेर त्यहाँ लैजाने भन्ने टुंगो लागिनसकेको बताइएको छ ।

यसैबीच, नेकपाले सोमबार मात्रै पार्टी राजनीतिक प्रतिवेदन छपाईका लागि प्रेसमा पठाएको छ । केही शब्द तलमाथि गर्नुपर्ने भएकाले प्रेसमा पठाउन ढिलाइ भएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले सोमबार नै छपाउन पठाइएको जानकारी दिदै एकताले अब टुंगो पाउने दाबी गरे । तर, अध्यक्ष ओलीले भनेजस्तै असार मसान्तमा टुंगोमा पुग्न भने नसकिने देखिएको छ । एक दिन मात्र समय बाँकी रहेको अवस्था सचिवालय बैठक अहिलेसम्म बोलाइएको छैन ।

वरिष्ठ नेता नेपाल विदेश भ्रमणमा गएर भर्खरै मात्र आएकाले शिर्ष नेतामा घनिभूत छलफल हुन सकेको छैन । यद्यपि, अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भने केही दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा निरन्तर छलफल चलिरहेको छ । महासचिव पौडेलले पनि छलफल चलिरहेको जानकारी दिँदै छिट्टै एकताले सार्थकता पाएको खवर सार्वजनिक गरिने बताए । शिर्ष नेताहरूबीच यसअघि नै साबिककै जिल्ला इन्चार्ज र सह–इन्चार्जलाई जिम्मेवारी दिने सहमति जुटिसकेको छ ।

जिल्ला एकीकरणकै मोडलमा इन्चार्ज र सह–इन्चार्ज तोक्ने समझदारी भए पनि एउटा जिल्लामा एकभन्दा बढी सह–इन्चार्ज तोक्ने कि नतोक्ने विषयमा भने अझै सहमति जुटेको छैन । अध्यक्ष ओली समूहले चार सय ४१ केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिनुपर्ने भएकाले एक जिल्लामा एकभन्दा बढी सह–इन्चार्ज तोक्नुपर्ने अडान राख्दै आएको छ । ७७ जिल्लामा एक सय ४४ जनाले मात्र जिम्मेवारी पाउने भएकाले बाँकी केन्द्रीय सदस्यहरू बेरोजगार बन्दा पार्टीको कामले गति नलिने ओलीनिकट नेताहरूको तर्क छ ।

प्रतिक्रिया