सर्वनाममा भ्रष्ट केलाउने नाटक

काठमाडौं । नेपालको राजनीतिक, सांस्कृतिक तथा वैदेशिकमोहका विषयमा केन्द्रित रही बनाइएको नाटक ‘विकास भर्सेस निकास’ मञ्चन भइरहेको छ । १३ असार देखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा रंगकला गोरखाको प्रस्तुतिमा उक्त नाटक प्रदर्शन भएको हो ।

भद्रगोलका ‘काकु’ अर्थात् दीपक आचार्यको मुख्य भूमिका रहेको नाटकको लेखन तथा निर्देशन रामबाबु रेग्मीले गरेका हुन् । नेपालको वर्तमान अवस्थालाई कलात्मक रुपमा प्रस्तुत गरिएको यसले विकासको अवरोधकलाई समेत केलाउने चेष्टा गरेको छ ।

नेपालबाट डाक्टरको छात्रवृत्ति पाएर अमेरिका पढ्न गएको डा. एस एसको नेपाल सरकारको छात्रवृत्तिमा डाक्टर परेर अमेरिका गएका हुन् । उनले अमेरिकामा त्यहाँका हजारौ बिरामीको उपचारमा संलग्न रहे । तर, उनले नेपालमा भने पढ्नेबाहेक अन्य काम गरेनन् । उनको अमेरिका बसाई र केही समयअघि श्रीमतिको मृत्यू भएपछि एकल जीवन व्यतित गरिरहेका थिए ।

उनका दुई छोराले आफ्नो व्यवस्था आफै गरेपछि उनी मातृभूमिको सम्झनाले नेपाल आउँछन् । अमेरिकाको लामो समयको बसाइपश्चात् नेपाल फर्किएका डा. एस.एसले रिटायर लाइफ नेपालमै बिताउने निधो गर्छन् । उनले देशमा केही सेवा गर्न नसकेकोमा पश्चताप हुन्छ र आफूले कमाएको केही रकमबाट नेपालमा सेवा गर्ने लक्ष्य राख्छन् । सेवा गर्नको लागि उनले विभिन्न ठाउँ खोज्छन् ।

स्वास्थ्य, शिक्षा, धर्मजस्ता ठाउँमा भन्दा पनि सबैको लागि काम लाग्ने सेवाक्षेत्र खोज्छन् । राजनीतिक दल, कर्मचारी, शिक्षक, गैरसरकारी संस्थालगायतमा रहेको भ्रष्ट मनस्थितिका कारण उनी सुरुमा असामञ्जयस्यतामा पर्दछन् । पछि उनले ५० वटा सार्वजनिक शौचालय बनाउने उद्घोष गर्छन् र नाटक सकिन्छ ।

निर्देशक तथा लेखक रेग्मीले नाटक तयार पार्ने क्रममा जन्मस्थल गोरखा र कमस्थल काठमाडौंका विविध परिवेश र घटनालाई जोडेको बताए । उनले भने, ‘देशको नीति नियम तथा सामाजिक सोचलाई फरक दृष्टिकोणबाट हेर्ने कोशिसका साथ नाटक निर्माण गरिएको हो ।’

नाटकमा दीपक आचार्य काकु , प्रकाश कट्टेल, अजय रेग्मी, मिलन गुरुङ, विक्रम माझी, गौरब सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, अमृता श्रेष्ठ, सुरज केसी, सशांक उप्रेती, प्रियना आचार्य, प्रेम अर्याल, विपुल थापा र पुष्प अवस्थीको अभिनय छ । विपुल थापामगर तथा पुष्प अवस्थीको संगीत संयोजन तथा हुम बिसीको मञ्च परिकल्पना रहेको छ । नाटक असार २८ गतेसम्म चल्ने निर्देशक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया