एक निर्वाचन क्षेत्र, एक पकेट एरिया

दैलेख । जिल्लामा रहेका दुई वटा निर्वाचन क्षेत्र पकेट एरिया बनाउने कार्यक्रमअन्तर्गत प्रदेश सरकार र कृषि ज्ञान केन्द्र दैलेखद्वारा नारायण बहुउद्देशीय सहकारी संस्थामार्फत सञ्चालित लक्ष्मीनारायण अलैँची पकेट क्षेत्र निर्माण कार्यक्रमअन्तर्गत किसानलाई अलैँचीका विरुवा उपलब्ध गराइएको छ ।

कर्णाली प्रदेश सरकारले व्यावसायिक किसानलाई पुरक अनुदानमा अलँैची खेती विस्तार र प्रवद्र्धनमा सघाउने योजना अनुसार ३ लाख ७५ हजार अलैँचीका विरुवा वितरण गरेको हो । कार्यक्रमलाई दुई वटा चरणमा विभाजन गरी अलैँचीका विरुवा वितरण गरिएको छ । जसअन्तर्गत पहिलो चरणमा नारायण नगरपालिका–१० भवानीमा १ लाख २० हजार, वडा–११ विन्ध्यवासिनीमा १५ हजार, महावु गाउँपालिकामा १ लाख २५ हजार २ सय, नौमुले गाउँपालिकामा १ लाख १५ हजार मध्ये ६६ हजार बिरुवा वितरण भइसकेको कार्यक्रम संयोजक भक्तकिशोर श्रेष्ठले बताए ।

पहिलो चरणमा दैलेख निर्वाचन क्षेत्र–१ का तीन वटा स्थानीय तहका ७० हेक्टर क्षेत्रफलमा कार्यक्रम विस्तार गरिएको छ । जसअन्तर्गत पूर्वाधारतर्फ १५ वटा प्लास्टिक पोखरी, चार वटा पक्की पोखरी, तीन वटा अलैँची भट्टी पकेट क्षेत्र निर्माणाधीन अवस्थामा छन् । सानो तथा ठूलो गरी करिब पाँच हजार मिटर पाइप वितरण गर्ने योजना रहेको बताइएको छ । दोस्रो चरणमा क्षेत्र–१ कै भगवतीमाई, डुंगेश्वर र गुराँस गाउँपालिकामा कार्यक्रम बिस्तार गरिने र क्षेत्र–२ को तीन वटा तह गरी १ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेतीलाई विस्तार गरिने कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

यस कार्यक्रम अघि पनि दैलेख जिल्लाका भिविन्न ठाउँमा अलैँची खेती गरिँदै आएको छ । अब यस कार्यक्रमले दैलेख अलैँची पकेट एरिया बनाउनमा थप टेवा पुग्नेछ ।

प्रतिक्रिया