काठमाडौँ । एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङकङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङकङवीच दोस्रो सेमिफाइनल खेल अहिले भइरहेको छ ।
मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्यलाई नेपालले १५ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा भीम सार्कीले अविजित ३३ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले अविजित ३१ रन जोडे । त्यसैगरी पवन सर्राफले १८ रन तथा रित गौतमले तीन रन जोडे । बलिङतर्फ मलेसियाका हैकल मोहमद खेरले दुई विकेट लिए भने मुहमद आमीरले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । उसका लागि मुहमद आमिरले सर्वाधिक २४ रन जोडे । त्यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन जोडे ।
मलेसियालाई सस्तैमा समेट्नेक्रममा नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । उक्त प्रतियोगिताको उपाधि विजेता टोलीले श्रीलङ्कामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछन् । फाइनल खेल मङ्गलबार हुनेछ ।
प्रतिक्रिया