ब्राजिल र पेरुबीच उपाधि भिडन्त

एजेन्सी, ब्राजिल । कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुने भएको छ । ब्राजिलले बुधबार अर्जेन्टिनालाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । बिहीबार भएको अन्तिम सेमिफाइनलमा डेफेन्डिङ च्याम्पियन चिलीलाई ३–० ले स्तब्ध बनाउँदै पेरुले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

चिलीलाई पराजित गर्ने क्रममा पेरुले २ गोल पहिलो हाफमा गरेको थियो । १ गोल भने दोस्रो हाफमा सम्भव भएको थियो । २१औँ मिनेटमा इडिसन मिचेल पिरिएल्टाले एन्ड्रे मार्टिन केरिलियोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १७ मिनेट पछि पेरुले गोल संख्या दोब्बर बनायो । ३८औँ मिनेटमा केरिलियोकै सहयोगमा भिक्टर फालेर्सले गोल गरेका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । २–० ले पछि परेको चिलीले गोल गर्ने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । पहिलो हाफमा २ गोल गरेको पेरुले अन्तिम समयमा १ गोल थपेको थियो । ९१औँ मिनेटमा पाउलो गुरेरोले गोल थप्दै ३–० को जित दिलाए ।

उत्कृष्ट तेस्रो टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको पेरुले अन्तिम आठको खेलमा बार्सिलोनाका अर्का स्ट्राइकर लुइस स्वारेजको टोली उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो । ‘अघिल्लो खेलमा जस्तै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भयो । सन्तुलित खेल प्रदर्शन गर्दा जित सम्भव भयो,’ टोलीका लागि दोस्रो गोल गरेका योटुनले भने, ‘उपाधि भिडन्त ब्राजिलसँग निकै प्रतिस्पर्धात्मक हुने छ ।’

‘सदावहार टोली ब्राजिलसँग कठिन त अवस्य नै हुन्छ । मेहनतका साथ उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा हाम्रो टोली रहनेछ ।’ लिगचरणको खेलमा ५–० को फराकिलो अन्तरले पराजित भए पनि क्वार्टरफाइलनमा उरुग्वेका लुईस स्वारेजको पेनाल्टीलाई बचाउँदै अन्तिम चारमा पु¥याएका गोलकिपर पेड्रो गालेजलाई फाइनलमा बदला लिने अवसर हुनेछ ।

बुधबार पनि चिलीको पेनाल्टी अवसरलाई विफल पार्दै टोलीलाई स्पस्ट जित दिलाउन सफल भए । ‘उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा ठेस लागेको छ । यसले हामीलाई निकै पीडा महशुस भइरहेको छ,’ चिलीका कप्तान ग्यारे मिडेलले भने, ‘प्रतिद्वन्द्वी पेरुले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भयो । बधाइ र शुभकामना दिन चाहन्छु । उनीहरू फाइनल पुग्ने योग्य टोली हो ।’

प्रतिक्रिया