संखुवासभा । प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समुहविच सिलिचोङ गाँउपालिकामा गोली हानहान भएको छ । केही समयअघि सोही क्षेत्र आसपास प्रहरी चौकी आक्रमण गर्न सो समूह आएको समाचार पनि आएका थिए । तर, त्यसवेला दुवै पक्षले खण्डन गरे पनि सोमबार बिहान भने गोली हानाहान भएको हो ।
सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँग भएको गोली हानाहानपछि विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्ता बेपत्ता भएको सो पक्षले बताएको छ । यता, प्रहरी स्रोतले दिएको जानकारी अनुसार एक कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी स्रोत अनुसार गोली हानाहान भएपछि घटनास्थल भन्दा केही परको तेन्छोबाट विप्लवका एकजना कार्यकर्तालाई पक्राउ गर्न सफल भएको जानकारी दिएको छ । विप्लव समूहका एक नेताका अनुसार खाना खाइरहेका वेला प्रहरीले फायरिङ गरेको दाबी गरेका छन् ।
‘हाम्रो टोली भात खाइरहेका वेला प्रहरीले अचानक हामीमाथि फायरिङ ग¥यो’, ती नेताले भने, ‘त्यही क्रममा तितरबितर हुँदा हाम्रा तीन कार्यकर्ता बेपत्ता भएका छन् । उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।’ यता प्रहरीले भने आफूहरू गस्तीमा हिँडिरहेका वेला विप्लव समुहले गोली हानेपछि आफूहरूले जवाफी फायरिङ गरेको बताएको छ । यद्यपि, दुवै पक्ष टाढा टाढा रहेका कारण कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा रहेको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन् । ‘हाम्रो प्रहरी टोली सिसुवा क्षेत्रमा नियमित गस्तीमा थियो’, उनले टेलिफोनमा भने, ‘प्रहरीलाई देख्नेबित्तिकै विप्लवको तर्फबाट गोली चलाइयो, त्यसपछि प्रहरीको तर्फबाट आत्मरक्षाका लागि फायर खोलिएको हो ।’
सिसुवा गोलीकाण्ड प्रकरणबारे जिल्लास्थित सुरक्षा अधिकारीहरुले विस्तृत विवरण दिनै अस्वीकार गरेका छन् । गोली हानाहान भएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकको सूचना पनि प्रजिअ र सुरक्षा अधिकारीले दिन अस्वीकार गरेका छन् । उनीहरूले सुरक्षा समितिको बैठक नै नबसेको दाबी गरे ।
दोहोरो भिडन्तको जस्तै अवस्था श्रृजना भएपछि त्यस क्षेत्रमा सोमबार मध्यान्हबाट निक्कै ठुलो सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँबाट सेनाका तीनवटा हेलिकोप्टर सिसुवा क्षेत्रमा उतारेको सरकारले त्यहाँबाट विस्तृत सूचना नै आउन नसकेको बताइरहेको छ । ‘त्यसक्षेत्रमा के भएको हो ? विस्तृत जानकारी आउनै सकेको छैन’, प्रजिअ दुलालले भने, ‘प्रहरीको सञ्चार सेटले पनि काम गरेको छैन । त्यहाँ मौसम पनि खराब भएकाले सबै सूचना आउनै सकेको छैन ।’
सरकारले सिसुवा क्षेत्रमा सेनाका तीनवटा हेलिकोप्टर ओरालेको थियो । ती हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २५–२५ जना टोली लगिएको थियो । त्यस्तै, सदरमुकाम खाँदबारीबाट केही दिनअघिबाटै त्यो क्षेत्रमा सशस्त्र प्रहरीको २० जनाको टोली गस्तीमा थियो । गोली हानाहानपछि खाँदबारीबाट इन्सपेक्टरको कमाण्डमा १७ जनाको अर्को टोली त्यसतर्फ पठाइएको छ । विप्लवका कार्यकर्ता खोज्न ताम्कु र सिसुवाबाट पनि प्रहरी परिचालित गरिएको छ ।
प्रतिक्रिया