काठमाडौं । उपराष्ट्रपतिको कार्यालय बुधबारबाट औपचारिकरूपमा लैनचौरस्थित ग्रीन हाउसमा सरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयसँगै जोडेर रहेको भवनबाट उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको हो ।
विगतमा समाज कल्याण परिषद्को भवन रहेको सो क्षेत्रलाई हरियाली बनाइएको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गरेर कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ ।
मन्त्रिपरिषद्ले उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत संभार सुरु गरिएको थियो । उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भइसके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रूपमा बुधबार मात्रै स्थानान्तरण भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो । अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ ।
प्रतिक्रिया