जापान समूह चरणबाटै बाहिरियो

एजेन्सी, ब्राजिल । पाहुना राष्ट्र जापान कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा इक्वेडरले बराबरीमा रोकेपछि जापानको क्वार्टरफाइनल पुग्ने सम्भावना सकिएको हो । जापानले सुरुआतमा अग्रता लिए पनि जोगाउन सकेन ।  १५औँ मिनेटमा शोया नाकाजिमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा पु¥याए । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा जापान समूह चरणबाटै बाहिरिएको हो । समूह ‘सी’बाट उरुग्वे र चिली क्वार्टरफाइनलमा पुगिसकेका छन् । मंगलबार भएको अन्तिम खेलमा उरुग्वेले चिलिलाई हरायो ।

जितपछि उरुग्वे समूहको विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको छ । रियो दि जेनेरियोमा भएको खेलमा उरुग्वेको जितमा इडिन्स कभानीको गोल निर्णायक बन्यो । मंगलबार बिहान समूह चरणको अन्तिम दिनको खेलमा उरुग्वेले चिलीलाई १–० ले पराजित गरेको छ ।
यो जितसँगै उरुग्बे समूह ‘सी’ को विजेताको रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट ब्राजिल विजेता र भेनेजुएला उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेको छ भने समूहको तेस्रो दुई उत्कृष्ट टिमले क्वार्टरफाइनल पुग्ने प्रावधानअनुसार पेरु पनि उत्कृष्ट बन्दै क्वार्टरफाइनल पक्का गर्न सफल भएको छ ।

समूह ‘बी’ बाट कोलोम्बिया समुह बिजेता र अर्जेन्टिना उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्दा समूहको तेस्रो स्थानमा रहेको पाराग्वे पनि क्वाटरफाईनल पुगेको छ । यता समूह ‘सी’ बाट उरुग्वे र चिली क्वार्टरफाइनल पुगेका छन् । अब पहिलो क्वाटरफाईनलमा ब्राजिलले पाराग्वेको सामना गर्नेछ । यो खेल आउँदो शुक्रबार बिहान सवा ६ बजेपछि हुनेछ ।

दोस्रो क्वाटरफाईनलमा अर्जेन्टिना र भेनेजुएलाबीच हुनेछ । यो खेल आउँदो शनिबार पौने १ बजेपछि हुनेछ । तेस्रो क्वाटरफाईनलमा कोलोम्बियाले चिलीको सामना गर्नेछ । खेल शनिबार बिहान पौने ५ बजेपछि सुरु हुनेछ भने अन्तिम क्वाटरफाईनलमा आउँदो आईतबार उरुग्वे र पेरु भिड्नेछन् । यो खेल राती पौने १ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया