घुससहित इकाइ प्रमुख पक्राउ

सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओली घुससहित रंगेहात पक्राउ परेका छन् । उनी २५ हजार नगदसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शाखा अधिकृत ओलीलाई घुस रकम लिएकोे अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजीकरण गरेबापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

ओली गत ११ वैशाखदेखि सल्यानमा इकाइ प्रमुखको रूपमा कार्यरत थिए । ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए ।

सेवाग्राहीले सरुवाको विषयमा सेवा लिन खोज्दा घुस लिन खोजेको उजुरी कार्यालयमा परेको थियो सापकोटाले भने सोही उजुरीको आधारमा हामीले प्रक्रिया अघि बढाएका हौँ । शाखाअधिकृत वलीले आफ्नो कार्यकक्षमै २५ हजार घुस बुझिसकेपछि अख्तियारको टोलीले उनलाई पक्रेको बताए ।

‘हामीले उनलाई घुस लिएको रकम साथमै रहेको अवस्थामा पक्राउ गरेका हौँ’, उनले थपे, ‘सेवाग्राहीकै उजुरी र गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।’ सापकोटाले भने आवश्यक प्रक्रिया पूरा गरेपछि मुद्दा प्रक्रिया अघि बढाइनेछ ।

जिल्लाबाट ७१ वटा उजुरी
यसैबीच सल्यान जिल्लाबाट अख्तियारमा ७१ वटा उजुरी परेका छन् । ती मध्ये जिल्लाका स्थानीय तहहरूले आपूmखुसी खर्च गरेको भन्दै १३ वटा उजुरी परेका छन् ।

१३ मध्ये दुई वटा मुद्दा टुंगिएको भएपछि बाँकी ११ मुद्दा अनुसन्धानमै रहेको सूचना अधिकारी सापकोटाले बताए । यस्तै अन्य ५८ मुद्दा मध्ये ३२ वटा शिक्षासँग सम्बन्धित छन् । ५८ मुद्दा मध्ये ३५ मुद्दा फस्र्योट भइसकेका छन् भने बाँकी २३ मुद्दा अनुसन्धान प्रक्रियामै छन् । अख्तियारमा परेका यी मुद्दाहरू दुई वर्ष अवधिका हुन् ।

शिक्षा क्षेत्रमा विद्यालय निर्माणमा अनियमितता, व्यवस्थापन समिति गठन प्रक्रिया नमिलेको, नियुक्ति र परीक्षामा मनपरी भएको लगायतका उजुरी रहेको सापकोटाले बताए । स्थानीय तहसँग सम्बन्धित भने लागत स्टेमेट अनुसारको काम नगरेको, निर्माण प्रक्रियामा अनियमितता, उपभोक्ता समितिले रकम हिनामिना गरेको लगायतका छन् ।

प्रतिक्रिया