प्योङयाङ, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् ।
चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको छ । चिनियाँँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण भएको पनि उक्त समाचारमा जनाइएको छ ।
राष्ट्रपति सी चीनको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार प्योङयाङ पुगेका थिए । त्यहाँ उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग द्विपक्षीय वार्ता गरेका छन् ।
चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको यस वर्ष यी दुई देशले ७० औँ वर्षगाँठ मनाइरहेका छन् । यसै उपलक्ष्यमा चिनियाँँ राष्ट्रपति सी उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बिहीबार हस्ताक्षर भएको थियो ।
आर्थिक तथा पराम्परागत सम्बन्ध कायम रहँदै आएका यी दुई देशबीच राष्ट्रपति सिको यस भ्रमणबाट परम्परागत सम्बन्धमा नयाँ अध्याय सुरु भएको प्रतिक्रिया राष्ट्रपति सिले नै दिएका छन् । राष्ट्रपति सिले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा उत्तर कोरियामा रहँदा व्यक्त गरेका थिए ।
चीन र उत्तर कोरियाबीचको असल सम्बन्धले दुई देश र ती देशका नागरिकका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि प्रत्यक्ष रुपमा लाभ पुग्ने धारणा चिनियाँ राष्ट्रपति सिले राखेका थिए ।
उनले आफ्नो भ्रमणको एक दिन अघि उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित आफ्नो लेखमा सो कुरा उल्लेख गरेका थिए ।
प्रतिक्रिया