कर्णालीमा जीप खस्दा दशजना बेपत्ता

कर्णाली । खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु १ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा १० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका छन् ।

खार्पुनाथ –५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह जीप दुर्घटनामा परेको हो । बेपत्ता हुनेमा १० जना पुगेको घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ का कौर कामी र उनका दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वेल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन । सो जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा खसेको हो । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिएका छन् ।

१६ सिट क्षमता भएको जीपमा १० जनाको नाम खुलेको भएपनि जीपमा कतिजना चढेका थिए भन्ने एकिन भइसकेको छैन । उद्धारका लागि स्थानीयबासी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सिम्रिक एयर, माउन्टेन र समिट एयरका ६ वटा हेलिकप्टर परिचालित गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेले बताए ।

नदीमा खसेकाहरूको उद्दार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । उद्दारका लागि स्थानीय प्रहरी घटनास्थल पुगेको भए पनि आवश्यक प्रविधि नहुँदा नदीमा पसेर खोजी गर्न कठिनाई भएको उनले जानकारी दिए । कर्णालीको पानी चिसो भएकाले स्थानीय उद्धारकर्मी पनि नदीमा पस्न नसकेको रावलले बताए ।

नदीमा हराइरहेकाहरूको तालिम प्राप्त गोताखोरको सहयोगले मात्रै खोजी गर्न सकिने भएकाले आफूहरूले केन्द्रमा यसबारे जानकारी दिएको दुर्घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भीमराज शाहीले बताए । उद्धारका लागि भन्दै जिल्लाबाट आएको टोली नदीमा छिर्न नसकेपछि फोटो खिचेर तालिमप्राप्त उद्धारकर्तासहित आउने भन्दै फर्केको उनले बताए ।

प्रतिक्रिया