कामपासँग अब सात ब्रुमर

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगरको धुलो नियन्त्रणका लागि चीनबाट थप दुई ब्रुमर ल्याएको छ । यसअघि कामपाले ५ ब्रुमर सञ्चालनमा ल्याएको थियो ।  सो ब्रुमरको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले गरेका थिए । चीनको छेङ्दुले महानगरलाई दिएका ब्रुमर, युरो पाँच मापदण्डका रहेका छन् ।

महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८ दशमलव ६ मिटर लम्बाइ र ३ दशमलव ५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता एक सय ५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता एक सय १८ किलोवाट छ । १५ दशमलव ८ मेट्रिक टन तौल भएका बु्रमरहरू डिजेलले चल्छन् ।  धुलो र पात पतिंगर संकलन गर्न प्रयोग गर्न सकिने खालको रहेको छ । हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र नौ घनमिटर पानी बोक्ने क्षमता रहेको छ ।

सो ब्रुमरले सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिंगर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा तीन किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी दुई वटा ब्रुमरको मूल्य दुई करोड २७ लाख तीन सय ७२ रहेको छ ।

१३ चैत २०७५ मा काठमाडांै महानगरपालिकाले आधुनिक प्रविधियुक्त ब्रुमरबाट सडक धुलोमुक्त बनाउने भन्दै औपचारिकरूपमा शुभारम्भ गरिरएको थियो । यतिका समय बितिसक्दा पनि धुलोको सास्ति भने घट्न सकेको छैन । महानगरले फेरि थप २ ब्रुमर राजधानी ल्याएको छ ।
काठमाडौं महानगरपालिकाले सडक सफाइ गर्न ब्रुमर ल्याउने तयारी थालेको दुई वर्षपछि काठमाडौं आइपुगेको थियो । महानगरपालिकाले ०७३ चैतमा ५ वटा बु्रमर खरिद गर्ने योजना अगाडि बढाएको थियो । साथै चुनावको वेला सो विषय मुख्य ऐजेन्डाका रूपमा समेत अगाडि बढेको थियो ।

महागरका सडकलाई धुवाँ धुलो मुक्त बनाउने भन्दै दैनिक आठ घण्टा सडकमा पाँचवटा यान्त्रिक कुच्चो अर्थात ब्रुमर चलाइरहेका छन् । तर पनि पानीपर्दा हिलो घाम लाग्दा धुलो काठमाडौंका लागि सामान्यजस्तै बन्दै गएको छ । ब्रुमरले सडक सफाइ गर्दा पनि कुनै सुधार नभएको स्थानीयको भनाइ छ । राजधानीका अधिकांश सडक ब्रुमर चलाउन योग्य नभएको विज्ञहरूको निष्कर्ष छ ।

यहाँका सडक ब्रुमर योग्य छैनः पूर्वाधारविद्
राजधानीका सडक ब्रुमरले सफा गर्न योग्य नभएको पूर्वाधारविद्को भनाइ छ । राजधानीका अधिकांश सडक कालेपत्रेसम्म भएका छैनन् । ब्रुमरले कस्तो ठाउँमा सफा गर्ने ?  सफाइ गर्नका लागि ब्रुमरले काम गर्न नसक्ने पूर्वाधारविद् सूर्यराज आचार्यले बताएका छन् । ब्रुमर चलाउने भनेको सम्पूर्ण सडक कालेपत्रे भएको र धुलोको मात्र समस्या भएको स्थानमा हो । ब्रुमरले मसिनो धुलो मात्र टिप्न सक्छ ।

राजधानीका सडकमा गिट्टी निर्माण सामग्री रहेकाले ब्रुमरले काम गर्न नसक्ने पूर्वाधारविद् आचार्यको भनाइ छ । राजधानीका सडक सफाइ गर्नका लागि फोहोरको स्रोत नै पत्ता लगाइ त्यसलाई समाधन गर्नुपर्ने आवश्यकता देखिएको छ । सडक निर्माण गर्दा लापवाही गर्नु, सडक पेटीमा निर्माण सामग्री थुपार्नु, साथै व्यावसायिक भवन निर्माण गर्दा सडकमा सामग्री थुपार्नु नै मुख्य समस्या हो ।

उनले भने, ‘ब्रुमर चलाउनुभन्दा पहिला महानगरपालिकाले ब्रुमर चाउन सक्ने सडक बनाउन जरुरी छ ।’ राजधानी भित्रिने नाकाबाट आउने सवारी साधनले माटो, गिट्टी, बालुवा बोकेर आउने भएकाले पनि उपत्यकाका सडक फोहोर हुने गरेका छन् ।

प्रतिक्रिया