आजदेखि स्मार्ट पार्किक सञ्चालनमा

काठमाडौं । राजधानीको ट्राफिक जामलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले निजी संस्थाको सहकार्यमा आइतबारदेखि स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको छ । राजधानी मुख्य पाँच स्थानका स्मार्ट पार्किङ सञ्चालनमा आएको छ । ‘विशालबजार, इन्द्रचोक, पाको, प्युखा र खिचापोखरीको स्मार्ट पार्किङ सञ्चालनमा आएको हो ।

गतहप्तादेखि सञ्चालनमा आएको सो पार्किङको आज अर्थात आइतबार औपचारिक शुभारम्भ गर्न लागिएको कामपाले जनाएको छ । कामपाका मेयर विद्यासुन्दर शाक्यले सो पार्किङको औपचारिक शुभारम्भ गर्ने छन् । राजधानीका अस्तव्यस्त सवारीलाई व्यवस्थित बनाउन स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको कमापा प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

सो पार्किङ वैशाख पहिलो साताबाट सञ्चालनमा ल्याउन गृहकार्य थालिएको थियो । विभिन्न प्राविधिक कारणले समयमै सञ्चालनमा ल्याउन नसकेको महानगरपालिकाले जनाएको छ । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक जाम हुनुका साथै सहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको थियो । सोही योजना अनुरूप पार्किङ निर्माण गरेको कामपाले जनाएको छ ।

महानगरपालिकाले ‘ब्हिल्स ट्रली योर्स प्राली’ र ‘एड गुरु’ सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो । पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउनका लागि एक करोड लागत लागेको प्रालिका सूचना अधिकारी प्रविधि इन्जिनियर हरिश अग्रवालले जानकारी दिए । स्मार्ट पार्किङमा दुइ पांग्रे तथा चार पांग्रे सवारी साधनले पार्किङ गर्न पाउने छन् ।

अहिले सुरुआत भएको अन स्ट्रिट स्मार्ट पार्किङ अन्तर्गत मुख्य सडकभन्दा भित्र रहेका सडकमा छोटो अवधिका लागि दिइने पार्किङ सुविधा हो । जुन ठाउँमा सवारीको जाम कम छ र व्यापार व्यवसाय बढी भैरहेको छ त्यो स्थानमा आम मानिसको पहुँच सहज बनाउने उदेश्य रहेको काठमाडांै महानगरपालिका निजी साझेदारी एकाइका प्रमुख ध्रुब काफ्लेले बताए । उनले भने, ‘पहिलो चरणमा अति व्यस्त हुने न्यूरोड र दरबारमार्ग रोजिएको हो ।’ जहाँ रहेका पसल र व्यापारिक स्थलमा पार्किङको कुनै सुविधा छैनन् ।

पाँच स्थानमा ८ सय मोटरसाइकल र ८० निजी चार पांग्रे सवारी साधन अट्ने क्षमता छ । उनका अनुसार पाँच वर्षसम्म काठमाडौं महानगरपालिकाले स्थान मात्र उपलब्ध गराउने र अन्य सबै व्यवस्था निजी संस्थाले गर्ने सम्झौता अनुरूप स्मार्ट पार्किङ परियोजनामा काम भएको छ ।

मोवाइल एप्सबाटै बुकिङ हुने
कम्पनीले एप्स मार्फत स्मार्ट पार्किङ गर्ने सुविधा समेत ल्याएको छ । ‘प्रयोगकर्ताले मोवाइलमार्फत ‘के टि एम’ एप्लिकेसन डाउनलोड गरी घरमै बसेर पार्किङ बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ । पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेसन मार्फत घरमै बसेर पार्किङका बारेमा सूचना लिन सक्ने छन् भने १५ मिनेट अगाडिनै पार्किङ बुकिङ गर्न पाउनेछ ।

सुरुआतमा यी स्थानमा पार्किङ राखिए पनि विस्तारै अन्य स्थानमा पनि सञ्चालनमा ल्याउने छ । यी स्मार्ट पार्किङ राखिने स्थानमा एक पटकमा ८ सय वटा मोटरसाइल र स्कुटर, ४ सय चार पांग्रे सवारी साधन पार्किङ गर्न सकिनेछ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोर्डबाट पनि हेर्न सकिन्छ । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहित ६० जना पार्किङ सहयोगी खटिएका छन् । यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । यी क्षेत्रमा पार्किङ गर्दा दुइ पांग्रे सवारीका लागि प्रति घण्टा करबाहेक २० रुपैयाँ लाग्नेछ । त्यस्तै चार पाङग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ लाग्ने कामपाले जनाएको छ ।

प्रतिक्रिया