धवनको स्थानमा ऋषभ

एजेन्सी, नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएपछि उनको ठाउँमा ऋषभ पन्त खेल्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएका धवनको औँला फ्याक्चर भएका कारण धवन तीन साताका लागि मैदान बाहिर बस्नेछन् ।

अहिलेलाई तीन खेलमा खेल्न नसक्ने भनिए पनि भारतबाट ऋषभ बुधबार नै इंग्ल्यान्ड जान लागेको टाइम्स अफ इन्डियाले जनाएको छ । बिहीबार न्यूजील्याण्डविरुद्धको खेलअघि ऋषभ इंग्ल्यान्ड पुगे पनि धवन प्रतियोगिताबाट बाहिरिएको पूर्णरूपमा घोषणा नहुँदासम्म अन्तिम १५ मा भने हुने छैनन् ।

’टाइम्स अफ इन्डिया’ ले ऋषभ इंग्ल्यान्ड जान लागेको खबर प्रकाशित गरे पनि बीसीसीआईले पुष्टि भने गरेको छैन । उनी विश्वकपको स्क्वाडमा परेमा चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । अहिले टिममा रहेका केएल राहुलले ओपनिङ गर्न सक्ने भएकाले पनि ऋषभले चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना रहेको हो ।

प्रतिक्रिया