पायलको छायांकन

काठमाडौं । समाजमा घटिरहेका अपराधिक घटनाको विषयमा केन्द्रित रही फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ को शुभसाइत गरिएको छ । आगामी शुक्रबारदेखि छायांकन सुरु हुने उक्त चलचित्र उपत्यकालगायत पूर्वको केही स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

राजधानीमा एक कार्यक्रमकाबीच सोमबार चलचित्रको शुभसाइत गरियो । लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनालाई समेटेर थ्रिलर फ्लेभरको चलचित्र बनाउन लागेको जानकारी दिए ।

कविता राई लिङ्देनको लगानी रहने चलचित्रमा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ ।

चलचित्रका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । सेन्दाङ निजी व्यावसाय गर्दै विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । उनकै पहलमा नेपालअघि चलचित्रलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको चलचित्रमा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया