विद्युत् अनियमितताले नेपालगञ्जवासी हैरान

बाँके । चिसोको वेला अति चिसो तथा गर्मी याममा अति गर्मी हुने नेपालगञ्जको यति वेला तापक्रम ४० देखि ४३ डिग्रीको हाराहारीमा रहने गरेको छ । तातो हावा र चर्को गर्मी झेलिरहेका नेपालगञ्जवासी घरभित्र पनि आराम बस्न सक्ने अवस्था छैन । त्यसको कारण भनेको विद्युत् अनियमितता हो ।

गत साता भन्दा उच्चतम तापक्रममा कमी आए पनि बढ्दै गएको न्यूनतम तापक्रमले गर्मी झनै बढाएको छ । नेपालगञ्जमा उकुसमुकुसको अवस्था छ । गत सातासम्म २२÷२४ डिग्री सेल्सियसमा रहेको नेपालगञ्जको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस नाघेको छ । अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको नेपालगञ्जको तापक्रम केही दिनअघि बर्षा भएपछि ३९ डिग्रीमा झरेको छ ।

चर्को गर्मीमा विद्युत् मात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत् नियमितताका पहल पनि भैरहेका हुन्छ । तर, चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै जान्छ । प्रत्येक बर्ष गर्मीमा हुने अनियमितताको समस्या यसबर्ष पनि समाधान भएको छैन । कहीकतै मर्मत गर्नु परे नेपालगञ्ज वितरण केन्द्रले विद्युत अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन ।

‘विद्युत के कति कारणले अनियमित भएको हो जानकारीसम्म पाउन सकिँदैन’, नेपालगञ्ज–६ की नबिना रावल भन्छिन्, ‘गर्मीमा झनै पीडा दिने काम प्राधिकरणले गरेको छ ।’ दिनभरको चर्को गर्मी सहने नेपालगञ्जवासी रातीको समयमा समेत छिनछिनमा जाने विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन । ‘दिनभर गर्मीमा काम गर्छौं, विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन’, फुल्टेक्रामा फैन्सी स्टोर सञ्चालन गर्दै आएकी नबिना रावलले भनिन् ।

एक घण्टामा १०÷१२ पटकसम्म विद्युत् काटिने गरेको फुल्टेक्राकै शिवप्रसाद पाठक बताउँछन् । ‘कम्तिमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो’, उनी भन्छन, ‘हाल दिनमा कतिपय बत्ती जान्छ भन्ने गनी साध्य छैन ।’ पूर्व सूचनाविना हुने विद्युत् अनियमितताले मेसिनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् । ‘चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ’, नेपालगन्ज–६ का चन्दे्रश्वर त्रिपाठी भन्छन् । लोडसेटिङको विकल्पमा जेनेरेटर र इन्टभर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँद ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने त्रिपाठी बताउँछन् ।

विद्युत् अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो । जेनेरेटको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी बेहोर्नु परिरहेको होटल व्यवसायीहरूको भनाइ छ । नेपालगञ्जका लागि भारत र नेपाल दुवै तर्फबाट विद्युत् आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगञ्जमा २४ एमभिए सम्मको विद्युत् माग हुने गरेको छ । जसमा १२ एमभीएसम्मको विद्युत् भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीका कारण विद्युत् अनियमित हुने गर्छ ।

प्रतिक्रिया