आँखा अस्पताललाई कौडीको भाउमा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशालाको ५ रोपनी जग्गा कौडीको दरमा भाडामा दिएको खुलेको छ । सामाजिक कार्यका लागि भन्दै कोषले कोष सञ्चालक परिषद्लाई थाहा नै नदिई एक निजी कम्पनीलाई कौडीको भाउमा भाडामा दिएको हो ।

बाग्मती पुल नजिककैको ५ रोपनी जग्गा वार्षिक २ लाख ५० हजार रुपैयाँमा तिलगंगा आँखा अस्पताललाई दिएको हो । प्रतिरोपनी वार्षिक ५० हजारका दरले पाँच रोपनी जग्गा ४९ वर्षलाई दिएको छ । पुलभन्दा पारिपट्टी रहेको त्यस्तै प्रकारको जग्गाको मासिक ५ लाखको हाराहारीमा भाडामा दिएपनि कोषले भने कौडीको भरमा दिएको देखिएको छ । अस्पतालले वार्षिक रूपमा कोषलाई रोपनीको ५० हजारका दरले २ लाख ५० हजार बुझाउँदै आएको अस्पताल व्यवस्थापक प्रमुख भागिरथ बाँनियाले बताए ।

तिलगंगा आसपास हाल एउटा सटरको भाडा मासिक २० हजार देखि ४५ हजार रुपैयाँ सम्म रहेको छ । होटल महाराजा नजिकैको चारतल्ले हाईफाई रेस्टुरेन्ट एन्ड होटलको मासिक भाडा नै ४ लाख पचास हजार रहेको छ । तर, कोषले तिलगंगा आँखा अस्पताल सामाजिक सेवा दिने संस्था भएकाले निक्कै कम भाडामा दिएको उल्लेख गरेको छ । सो संस्था पनि विभिन्न दातृनिकायको दानमा सञ्चालन हँुदै आएको छ । एसियामा नै आँखाको उपचारका लागि ख्याति कमाएको सो संस्थालाई फ्रिडहेलोज फाउन्डेसन र हिमालयन आइएनजिओले वार्षिक ५÷५ करोड रुपैयाँ सहयोग गर्दै आएको छ ।

अस्पताल व्यवस्थापक प्रमुख बानियाँका अनुसार अस्पताल सञ्चालन हुनुपूर्व उक्त ठाउँमा सन् १९९३ देखि आखा बैंक सञ्चालनमा रहेको थियो । कोषले केही सामाजिक काम गर्ने भनी उक्त जग्गा अस्पतालका लागि सुरुमा निःशुल्क दिएको थियो । अस्पतालले जग्गाको भाडा नदिँदा कोषको अरू जग्गाको भाडा उठाउन असहज भएपछि सम्झौता गरेको थियो । सम्झौतापछि अस्पतालले स्थापना कालदेखि हालसम्मकै रकम कोषलाई दिएको दाबी गरेको छ ।

पशुपति क्षेत्र विकास कोष र नेपाल आँखा कार्यक्रमबीच २०७२ साल भदौ ३ गते ४९ वर्षका लागि सम्झौता भएको हो । कोषका तत्कालीन कोषाध्यक्ष र नेपाल आँखा कार्यक्रमका तर्फबाट प्रा.डा. सन्दुक रुइतबीच भएको सम्झौताको दफा २ (क) मा प्रति रोपनी ४० हजार वार्षिक भाडा कायम गरेको र सम्झौताको अवधि ४९ वर्षको हुनेछ भनी उल्लेख गरिएको छ ।

तर, कोषले जग्गा भाडामा दिँदा पनि चलाखी गरिएको भेटिएको छ । जग्गा भाडामा दिने अधिकार कोषलाई भएपनि त्यसलाई अनुमोदन भने कोष सञ्चालक परिषद्बाट गराउनु पर्दछ । सम्झौता भएको चार वर्ष पुग्न लाग्दा समेत पनि कोषले सो निर्णय समितिबाट अनुमोदन गराउन पेश नै गरेको छैन । पशुपति विकास कोषका सदस्य–सचिव डा. प्रदीप ढकालका अनुसार कोषले गरेको निर्णय परिषद्मा पेश गर्ने कुरा ठूलो नभएको बताए ।

‘पहिला दिएको हो, पहिला दिएको मिति सकिएपछि २०७२ सालमा सम्झौता भएको हो, तर त्यसलाई अनुमोदन गर्न परिषद्मा लानुपर्छ ।’ उनले परिषद्मा नलगेको विषयमा अगाडि भने, ‘यो धेरै ठूलो समस्या होइन, कोषको सम्पत्ति हो त्यसैले जग्गा दिने र सम्झौता गर्ने अधिकार कोषलाई छ तर त्यसको निर्णय पास गर्ने अधिकार कोष सञ्चालक परिषद्बाट हुनुपर्छ, त्यो अहिले हामी गर्ने तयारीमा छौँ ।’

पशुपतिको सम्पत्ति हराइरहेको र भएकाको पनि संरक्षण हुन नसकेको भनेर छानबिन समितिले प्रतिवेदन दिइसकेको छ । त्यहाँ रहेको सुनमा कमी देखिएको, रकम समेत निक्कै न्यून देखिएपछि अहिले त्यसको सोधिखोजी भईरहेको छ । कोष संचालक परिषद्का सदस्य रामकुमार खत्रीले भने यो सम्झौताका विषयमा पुनरावलोकन हुने दावी गरेका छन् । परिषद्का अध्यक्ष नियुक्त भएपछि पशुपतिमा भएका सबै अनियमितताका बारेमा कारवाही अगाडी बढ्ने बताए ।

‘कोषले निर्णय गरेको रहेछ, यसलाई खारेज गर्नुपर्छ वा पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा निर्णय हुन्छ’, परिषद् सदस्य खत्रीले भने,‘अब परिमार्जित भएर सम्झौता हुन्छ । उनले आखाँ अस्पताल मानसिक सेवामा मात्र नदेखिएकाले परिमार्जन गरिने उनले स्पष्ट पारे । ‘आँखा अस्पताल व्यापारिक प्रयोजनका लागि पनि देखिएको छ, त्यसले गर्दा पशुपतिले घाटा व्यहोर्नु भएन’, उनले अगाडी भने,‘कि त विशुद्ध सामाजिक सेवाका रुपमा चल्नुपर्यो होइन भने नाफा गर्ने भए विचार गर्नुपर्ने हुन्छ ।’

यता, कोषबाट अत्यन्त न्यून भाडामा जग्गा पाएको अस्पतालमा भने दैनिक १२ सय सम्म आँखाका रोगीहरू आउने गरेका छन् । अस्पतालले ति बिरामीबाट वार्षिक रूपमा करिब ८० करोड रुपैयाँ उठाउने गरेको छ । तर, अस्पतालले सो रकमले आन्तरिक खर्च नै नधान्ने दाबी गर्दै आएको छ । बिरामीबाट लगभग ७० देखि ८० प्रतिशत मात्रै अस्पतालको सेवा सुविधा धान्ने र बाँकी २० प्रतिशत विभिन्न दातृसंस्थासँग सहयोग लिएर गर्ने गरेको प्रमुख बानियाँले जानकारी दिए ।

‘दान नभए त २०-३० प्रतिशत हामी वार्षिक घाटा जान्छौँ, कुल आम्दानी ८० करोड देखिन्छ तर खर्च त्योभन्दा बढी हुन्छ । ९०-९५ करोड वार्षिक खर्च हुन्छ’, उनले अगाडी भने, ‘पहिला भन्दा धेरै कर्मचारीहरू अस्पतालमा रहेका छन् र अन्य सेवाका कारण पनि खर्च धेरै छ ।’ अस्पतालमा हाल ५ सय बढी कर्मचारी रहेका छन् भने अस्पताल मातहतकै डाक्टर ३९ जना छन् ।

प्रतिक्रिया