दक्षिण अफ्रिकालाई ३ सय ३१ रनको लक्ष्य

एजेन्सी, लण्डन । एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा बंगालदेशले दक्षिण अफ्रिकालाई ३ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगालदेशले निर्धा्रित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनायो । बंगालदेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले सर्वा्धिक ७८ रनको महत्वपूर्ण योगदान दिए । ४३ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा रहिम रस्सी भान डर दुसेनबाट क्याच हुनुअघि ८० बलमा ८ चौका प्रहार गरे ।

त्यस्तै ३६ ओभरको पहिलो बलमा इमरान ताहिरले बोल्ड आउट गर्नु अघि सकिब अल हसनले ८४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७५ रन बटुले । सकिब र मुश्फिकुरले तेस्रो विकेटका लागि १ सय ४२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै बंगलादेश बलियो योगफल सम्म पुर्याए ।

त्यसअघि ओपनर सौम्य सरकार र तामिम इकवालले पहिलो विकेटका लागि ८.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एन्डिले फेहलुकवेओले तामिमलाई १६ रनमा विकेटकीपर क्विन्टन डीककबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । १२ ओभरको चौथो बलमा क्रिस मोरिसले डी ककबाट उत्कृष्ट क्याच आउट गराउँदै पेभिलिएन फर्काउनु अघि ३० बलमा ९ चौका प्रहार गर्दै ४२ रन जोड्दै आक्रमक सुरुवात दिलाए ।

तल्लोक्रममा महमुदउल्हा र मोसाद्दिक हसनले पनि उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिदै आक्रमक रुपमा रन जोडेपछि बंगालदेशले विशाल योगफल तयार पारेको हो । महमुदउल्हाले ३३ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा अविजित रहे । त्यस्तै मोसाद्दीकले २० बलमा ४ चौका सहित २६ रनमा क्याच आउट भए । अफ्रिकाका लागि एन्डिले फेहलुकवेले,इमरान ताहिर र क्रिस मोरिसको नाममा समान २ विकेट रह्यो ।

प्रतिक्रिया