नेपाली कविले निकाले संयुक्तसंग्रह

काठमाडौं । अमेरिकाको न्युयोर्क बसोबास गरिरहेका नेपाली कविले संयुक्त कविता संग्रह प्रकाशित गरेका छन् । व्याकुल पाठक र किशनसिंह धामीले सम्पादन गरेको नेपाली साहित्यमा सक्रिय कविको ‘न्यूयोर्कका नेपाली कवि र कविता’ संयुक्तसंग्रह प्रकाशन भएको हो । उक्त कृतिको विमोचन न्युयोर्कको ज्याक्सन हाइट्समा गरियो ।

कार्यक्रममा पुनम काफ्ले, ज्योतिकुमार श्रेष्ठ, शकुन ज्ञवाली, पुष्कर बराल, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी, राजेन्द्र श्रेष्ठ, राजुविजया सिंखडा, पद्मा लिंखा मगर, कमला प्रसाईं, लक्ष्मी श्रेष्ठ, जानुका वस्त लगायतले कविता वाचन गरे ।

सो अवसरमा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले न्युयोर्कलाई कर्मथलो बनाएर बसिरहेका नेपाली कविको संयुक्त संग्रह नेपाली साहित्यमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘साहित्यका यस्ता गतिविधिले डायस्पोरामा नेपालीको बौद्धिक उपस्थिति उजागर भएको छ ।’

तारा–किशन फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा न्युयोर्क नियोगमा आफ्नो चार वर्षीया कार्यकाल सकेर स्वदेश फर्किन लागेका वाणिज्यदूत तथा कवि कृसु क्षेत्रीलाई न्युयोर्कका नेपाली कविका तर्फबाट अभिनन्दन समेत गरिएको थियो ।

कार्यक्रमका आयोजक तथा विमोचित पुस्तकका सम्पादक धामीले मुलुकबाहिर रहेर सिर्जना गरिरहेका कविको सिर्जना पनि स्तरीय रहेको तर त्यसलाई ‘डायस्पोरा’ अन्तर्गत राखेर किनारामा पार्न खोजिएको विचार व्यक्त गरे ।

प्रतिक्रिया