‘एकै रातमा तीनपटकसम्म कुटिएँ’

सल्यान । सल्यानको शारदा नगरपालिका–१४ की २७ वर्षीया सुनिता नेपाली केही समय पहिलेसम्म पेसाले शिक्षिका थिइन् । ०६६ साल वैशाखदेखि निजी शिक्षकको रूपमा कालिका प्रावि ढारखानीमा अध्यापन गराउन सुरु गरेकी उनले ०७४ सम्म शिक्षिकाको भूमिका निभाएको बताउँछिन् ।

पछि पति किशन घर्तीले ढोरचौर बजारमा बोर्डिङ सञ्चालन गरेपछि आफ्नै  बोर्डिङंमा पढाउनु भन्दै जागिर छोड्न लगाए । पतिको कुरा मान्दै उनले ७४ सालमा निजी शिक्षकबाट बिदा लिँदै ढोरचौर बजारमा कोठा लिएर पतिसँगै बस्न थालिन् । सो अवधिमा कहिले काँही सानो तिनो त कुनैदिन शरीरमा निलडाम हुने गरी कुटाइ खाएको उनी बताउँछिन् ।

एक छोरी र एक छोरासहित उनले कतिदिन भोकभोकै सुत्नुपर्यो । उनी भन्छिन् ‘पतिले राति मरणाशन्न हुने गरी कुटपिट गर्नुहुन्थ्यो । बिहान आफैँ औषधि ल्याएर उपचार गर्नुहुन्थ्यो । मैले समाजको डरले घरभित्रै बस्नुपर्थ्याे । कतै समाजले थाहा पाए के भन्ला भनेर । हामी दुवैजना शिक्षित त्यसमा शिक्षक पनि ।’ समाजमा इज्जत गुम्ने डरले सबै घाउ लुकाउँदै पीडा सहनुपरेको उनले सुनाइन् ।

यो बीचमा धेरै तिता मीठा घटना भए उनले भनिन् ‘मैले पढाउँदै गरेको जागिर छोड्न लगाएर आफूलाई बोडिङमा जागिर लाइदिन्छु भन्नेले पछि घरमै बस्ने बनाए ।’ जागिर छोडेर वैदेशिक रोजगारीमा गएको र तीन वर्षमा खाली हात फर्केपछि फेरि कुटपिट सुरु गरेको उनले बताइन् । पछिल्लो पटक कुटिनुको कारण थियो सम्बन्ध विच्छेद । ०७६ जेठ ४ गते राति पति मदिरा सेवन गरी आएर मलाई सम्बन्ध विच्छेद चाहियो । म तँसँग बस्न सक्दिन । अदालतमा गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्, भन्दा आफूले नमान्दा कुटाइ खाएको उनी बताउँछिन् ।

त्यतिवेला करिब ११ बजेको थियो होला । भागेर घर बाहिर बसेको अवस्थामा गाउँकै अर्का एकजनाले रातको समयमा बच्चालाई छोडेर बाहिर बस्न उचित हुँदैन भनी घरभित्र छोडेपछि आपूm रातभर छुट्टै कोठामा बसेर रात बिताएको उनको भनाइ छ ।

स्थानीयले आपूmलाई सबैले शिक्षित भएर पनि यस्तो अन्याय सहेर बस्ने ? कानुनी प्रक्रियामा जानुस्, भनेपछि आपूm सदरमुकाम खलंगा आएको उनी बताउँछिन् । जेठ ५ गते बिहान जिल्ला प्रहरी कार्यालय सल्यानमा आएर घाउजाँच केस गरेपछि इन्सेकको पहलमा उनी अदालती प्रक्रियामा अगाडि बढेकी छन् ।

प्रतिक्रिया