शिक्षक व्यवस्थापनको नयाँ खाका कारिँदै

काठमाडौं । सरकारले प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षक व्यवस्थापनको नयाँ ढाँचा निर्माण गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै सबै तहमा कार्यरत शिक्षकको व्यवस्थापन गर्ने ढाँचा अगाडि सारेको हो ।

मन्त्रालयले हाल प्राथमिक तह १–५ कक्षा र निम्न माध्यमिक तह ६–८ कक्षा शिक्षक रहेकोमा त्यसलाई परिवर्तन गरी १–५ कक्षाका शिक्षकलाई आधारभूत पहिलो र ६–८ का शिक्षकलाई आधारभूत दोस्रो शिक्षक बनाउने तयारी गरेको छ ।

शिक्षा नियमावलीको प्रस्तावित संशोधन मस्यौदामा साविकको उच्च माध्यमिक तहको शिक्षक दरबन्दीमा नियुक्ति पाई कार्य गरेको शिक्षक यस नियम प्रारम्भ भएपछिको पहिलो विज्ञापनबाट सिफारिस भई माध्यमिक तृतीय श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्ति भएमा तृतीय श्रेणीको तोकिएको तलब रकममा निजलाई तीन तलब वृद्धि (ग्रेड) बराबरको रकमसमेत थप गरी प्रदान गरिने उल्लेख छ ।

त्यस्तै, शिक्षकको श्रेणी विभाजन भन्ने शीर्षकमा शिक्षकहरूको वृत्ति विकासको लागि आधारभूत तहभित्र पहिलो र दोस्रो तह गरी प्रत्येकमा प्रथम, द्वितीय र तृतीय गरी तीन श्रेणीमा र माध्यमिक तहमा प्रथम, द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

मस्यौदा नियमावलीमा दफा ८९ को शिक्षकको पदसंख्या र श्रेणी शीर्षकको उपदफा १ र २ मा माध्यमिक र आधारभूत पहिलो र दोस्रो तहका शिक्षकहरूको संख्या ५० भएमा ४० जना तृतीय श्रेणी, ९ जना द्वितीय श्रेणी र १ जना मात्रै प्रथम श्रेणीमा हुने उल्लेख छ ।

जम्मा ४५ संख्या भएमा तृतीय ३६ र द्वितीय श्रेणीका ९ जना हुनेछन् । त्यस्तै, ४० दरबन्दीमा तृतीय ३२ र द्वितीय श्रेणीका ८ जना शिक्षक हुने उल्लेख छ । ३५ दरबन्दी भएमा तृतीय २८ र द्वितीय श्रेणीमा मा सातजना हुने प्रावधान प्रस्ताव गरिएको छ ।

यसैगरी, ३० दरबन्दी भएमा तृतीय २४ र द्वितीय श्रेणीमा ६ शिक्षक कार्यरत रहनेछन् । २५ दरबन्दीमा तृतीय २० र द्वितीय श्रेणीमा पाँचजना शिक्षक हुनेछन् भने २० भएमा तृतीयमा १६ र द्वितीयमा चारजना रहनेछन् ।

१५ दरबन्दी भएमा तृतीयमा १२ र द्वितीयमा तीन, १० दरबन्दीमा तृतीय ८ तथा द्वितीय श्रेणीमा दुई जना शिक्षक हुनेछन् । यसरी, कुल शिक्षक संख्या पाँच भएमा चारजना तृतीय र एकजना द्वितीय श्रेणीका कार्यरत हुने व्यवस्था छ ।

यसरी हेर्दा हालका उमावि शिक्षकहरूले भने जसरी उमाविका कुल शिक्षक दरबन्दी ६ हजारलाई द्वितीय श्रेणीमा लगियो भने प्रथम र तृतीय श्रेणी व्यवस्थापन गर्न गाह्रो हुनेछ । र, तृतीय श्रेणीमा रहने बाँकी शिक्षक जीवनभर बढुवा हुन नसक्ने देखिन्छ ।

मस्यौदा नियमावलीमा जिल्लामा रिक्त रहेको दरबन्दीको २५ प्रतिशतभन्दा बढी शिक्षकको जिल्लान्तर सरुवा गर्न नपाइने व्यवस्था गरिएको छ । मस्यौदा नियमावलीको दफा ९९ को उपदफा १, २, ३, ४ र ५ मा शिक्षकसम्बन्धी नयाँ मापदण्डको व्यवस्था गरिएको छ ।

नियमावलीको मस्यौदामा गरिएको यही प्रस्ताव पारित भएमा तोकिएको समयभित्र तोकिएको जिम्मेवारी पूरा नगरेको शिक्षकको सरुवासमेत हुने छैनन् । शिक्षकले जिम्मेवारी पूरा गरेको सम्बन्धमा विद्यालय व्यवस्थापन समितिले गर्ने निर्णयका आधारमा विद्यालय निरीक्षकले सिफारिस गरे पछि मात्रै सरुवा हुने व्यवस्था गरिएको छ ।

यसरी सरुवा हुनुभन्दा अघि विद्यालयमा एकै विषयका शिक्षक आवश्यकताभन्दा बढी भएको हुनुपर्नेछ । शिक्षक सरुवा गर्दा विषय मिल्नुपर्ने तथा लामो अवधि एकै विद्यालयमा बसेकालाई पहिलो प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया