सम्बन्धलाई नयाँ उचाई दिइने

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालसँगको सम्वन्धलाई नयाँ उचाई दिन चिन तयार रहेको बताएका छन् । उनले नेपालको समृद्ध बन्ने अभियानमा थप सहयोग गर्न चिन तयार रहेको बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ समकक्षी सी चिनफिङले ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेपछि भएको भेटमा सो कुरा बताएका हुन् । उनले अन्तराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा राष्ट्रपति भण्डारीले राम्रो विचार व्यक्त गरेको भन्दै प्रशंसा समेत गरे । भेटमा भएको कुरा उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने,‘राष्ट्रपति सिले राष्ट्रपति ज्यूले राम्रो विचार व्यक्त गरेको भन्दै प्रशंसा गर्नुभयो ।’ उनले नेपाल–चीनबीचको सम्बन्धलाई नयाँ उचाई दिन आफु तयार रहेको समेत बताएका थिए । उनले त्यसका लागि नेपाललाई दिदै आएको विभिन्न सहयोगमा वृद्धि गर्ने संकेत समेत गरेका छन् ।

भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिइएकी छन् । चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने पटक पटक चर्चा चलेपनि अहिलेसम्म मिति तय हुन सकेको छैन । राष्ट्रपतिले दिएको निम्तोमा चिनिया पक्ष सकरात्मक बनेको छ । यद्यपी कहिले नेपाल भ्रमणमा आउने बारेमा कुनै पनि कुरा नभएको बताइएको छ । भेटमा राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभािवत भएको उल्लेख गरिन् । भ्रमणका क्रममा आफु र आफ्ना दलका सदस्यलाई दिएको आतिथ्यताका लागि धन्यवाद समेत प्रकट गरिन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई चिनियाँ विदेश मामिलामन्त्रीका साथै उच्चपदस्थ अधिकारीको परिचय दिइएको थियो भने चिनियाँ राष्ट्रपति सीलाई नेपाली भ्रमण दलका सदस्यको परिचय दिइएको थियो । त्यस्तै दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा तोपको सलामी पनि दिइएको थियो । राष्ट्रपति भण्डारीसमक्ष चिनियाँ सेनाले सम्मान गारद प्रस्तुत गरेको थियो । उनले सेनाको एक समूहको अवलोकन पनि गरिन् । सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।
यो उच्च भेटवार्तासँगै राष्ट्रपति भण्डारीको बेइजिङको कार्यक्रम सकिएको छ । राष्ट्रपति भण्डारीले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल मंगलबार एयर चाइनाको जहाजबाट तिब्बतको ल्हासा उड्ने कार्यक्रम छ ।

सात सहमतिमा हस्ताक्षर
द्विपक्षीय बैठकपछि दुवै राष्ट्रध्यक्षको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा हस्ताक्षर भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गरेका छन् ।

नेपालले चीनको चार वटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । यसपछि तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य हुनेछ । नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्तु निर्यात गर्न पारवहन मार्ग खुला हुने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

हाल नेपालले भारतको कोलकता र विशाखापटमको सामुन्द्रिक बन्दरगाह प्रयोग गरिरहेको छ । भारतले नयाँ दुई बन्दरगाह पनि प्रयोग गर्न दिने समझदारी गरेको छ । चीनसँगको यो सम्झौतापछि नेपालले चीनबाट पनि समुन्द्रमा पहुँच प्राप्त गरेको छ । प्रोटोकलअनुसार नेपालले चीनको सबै खुला समुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । प्रोटोकलमा नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ ।

पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्न सक्नेछन् । प्रोटोकलअनुसार वाणिज्य सचिव र चीनको यातायात मन्त्रालयका उपमन्त्री स्तरको संयुक्त परामर्श संयन्त्र पनि बन्नेछ । यो संयन्त्रले पारवहन यातायात सम्झौता र प्रोटोकल कार्यान्वयनको अवस्थाबारे पुनरावलोकन गर्नेछ । वाणिज्य सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशकस्तरमा प्राविधिक विषयमा वार्ता गर्न परामर्श उपसमिति बनाउने सहमति पनि छ ।

त्यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरे । आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशंकर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरेका छन् ।

भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरे । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरेका छन् । सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गरेका छन् ।

चीनले आफ्ना सीमा जोडिएका जिल्लाका जनताको जीवनस्तर उकास्ने विषयमा समेत चासो राखेर त्यसमा सहयोग गर्ने विषय उल्लेख रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । परियोजनाहरु सुधारका लागि आवश्यक पर्ने सहयोगको बारेमा समेत सहमति भएको दूतावास स्रोतको भनाइ छ । यसैविच, राष्ट्रपति भण्डारीले सोमबार बिहान बेइजिङको थ्येनआनमन चोकमा अवस्थित सहीद स्मारक स्तम्भमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेकी छन् । स्मारकस्थलमा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुवानयौले स्वागत गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, संघीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया