मापदण्डमा व्यापक फेरबदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टीभित्रको विवाद साम्य बनाउन जिल्लाको नेतृत्वमा मध्यमार्गी बाटो अपनाएको छ । चारवटा मापदण्ड तय गरेर सचिवालय बैठकले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएपछि पुरानो मापदण्ड परिवर्तन गरेर नयाँ मापदण्ड बनाएको छ । यसअघि एक व्यक्ति एक पद भन्ने मापदण्ड तय गरे पनि त्यसलाई विस्थापित गर्दै एक व्यक्ति धेरै पदमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ । नयाँ मापदण्डअनुसार पूर्वनेकपा एमालेले ४४ र पूर्वमाओवादी केन्द्रले ३३ जिल्लामा नेतृत्व पाएका छन् ।

एक दलले नेतृत्व पाएको ठाउँमा अर्को दलले सचिव पाएका छन् । नेकपाको सचिवालय बैठकले जनप्रतिनिधि बनेका पनि अध्यक्ष तथा सचिव बन्न पाउने, साविकका एमाले र माओवादी केन्द्रका जिल्ला कमिटीका प्रमुखहरू सम्बन्धित जिल्ला कमिटीका अध्यक्ष वा सचिवको जिम्मेवारी रहने मापदण्ड बनाएको थियो ।

जिल्लासम्म टुंगियो एकता, दुई जिल्लामा मात्र महिला नेतृत्व, सदस्य थपघट गर्ने जिम्मा प्रदेश कमिटीलाई प्रदान

जिल्ला कमिटीको सदस्यमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिमको सदस्य संख्या राख्ने र साविक जिल्ला कमिटीका सदस्यहरू रहने उल्लेख गरेको छ । यसैगरी, सचिवालयले सदस्य संख्या थप गर्न मिल्नेसमेत मापदण्डमा समावेश गरिएको छ । ‘कमिटीमा सदस्य संख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम कमरेडहरू मध्येबाट थप्ने’, नेकपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साविक जिल्ला कमिटीको सदस्य संख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका वरिष्ठ र सक्षम कमरेडहरूलाई जिल्ला कमिटीमा संगठित गर्ने ।’

नेकपाले सचिवालय र कार्यालय गठन गर्ने जिम्मेवारी सम्बन्धित जिल्ला कमिटीलाई नै दिएको छ । कमिटीले वरिष्ठता र क्षमताका आधारमा आफ्नो तहको सचिवालय र कार्यालय गठन गर्ने निर्णय गरेको हो । नेकपाले देशव्यापी रूपमा विशेष अभियानसमेत सञ्चालन गर्ने भएको छ । पार्टी र सरकारविरुद्ध विभिन्न शक्तिले भ्रम फैलाएको भन्दै त्यसलाई चिर्नका लागि देशव्यापी विशेष अभियान सञ्चालन गर्ने भएका हुन् । ‘सिंगो पार्टीपंक्ति र आमजनसमुदायलाई राष्ट्रव्यापीरूपमा परिचालित गर्न विशेष अभियान सञ्चालन गरिनेछ’ अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नियमित कामलाई प्रभावकारीरूपमा सम्पादन गर्दै विशेष अभियानका लागि तयारी हालतमा रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्य कमरेडहरूलाई आह्वान गरिन्छ ।’

नेकपाले जिल्ला तहको जटिल एकता केही असन्तुष्टिका बीच टुंगो लगाए पनि महिलालाई नेतृत्वमा निकै कम अवसर दिएको आरोप लगाइएको छ । ७७ जिल्लामध्ये काभ्रे, लमजुङ र मकवानपुरमा मात्र महिलाले नेतृत्व पाएका छन् । त्यस्तै महिला सचिव पाउने एकमात्र जिल्ला इलाम भएको छ । लमजुङमा मधु अधिकारी, मकवानपुरमा मुनु सिग्देल र काभ्रेपलाञ्चोकमा रूकु चौलागाईंले अध्यक्ष बन्न पाएका छन् । इलामकी सचिव सोममाया राई बनेकी छन् । जिल्ला कमिटीजस्तै अन्य केन्द्रीय निकायहरूको एकता भने नेकपाले अझै टुंग्याउन सकेको छैन । तिनमा विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग र आयोगहरू छन् ।

नेकपाका पूर्वघटकहरू एमाले र माओवादी केन्द्रका विद्यार्थी, युवा, मजदुर, महिला, कर्मचारीलगायत दर्जनभन्दा बढी जनवर्गीय संगठनहरू छन् । ती संगठनको नेतृत्व कसले पाउने भन्नेमा अझै सहमति जुटेको छैन । यसैगरी, अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगजस्ता शक्तिशाली आयोग दुवै पार्टीमा छन् । नेतृत्व टुंग्याएर तिनको एकताको सफलता पनि नेतृत्वले पाउन सकेको छैन । नेकपाले अहिलेसम्म टुंग्याएको भनेको केन्द्रीय कमिटी, स्थायी कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी (नेतृत्व) को एकता मात्र हो । यसैगरी, दुवै पार्टीको अध्यक्ष तहमा पनि एकता भएको छ । जसअनुसार, ‘सहअध्यक्षता’ व्यवस्थाको प्रावधानअनुसार पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेकपाको अध्यक्ष बनेका छन् ।

‘एकताको मुख्य अभियान सकियो’
नेकपाका अध्यक्षद्धयले पार्टीको एकता टुंगोमा पुर्याउन नदिन ठुलै चलखेल भएको बताएका छन् । यद्यपि, त्यसलाई चिरेर पार्टीको महत्वपूर्ण काम सकिएको उनीहरूले बताएका छन् ।

महिनौँसम्मको रस्साकस्सी र अन्योलको अन्त्य गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्ताधारी नेकपाको एकता प्रक्रियामा महत्वपूर्ण फड्को मारिएको दुवैजना अध्यक्ष प्रधानमन्त्री केपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन् । प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई नेताले पार्टीको जिल्ला नेतृत्वसम्बन्धी विषय टुंगो लगाइएको बताए । प्रधानमन्त्री ओलीले विगत एक वर्षको बीचमा पार्टी एकताका केही विषय बाँकी रहे पनि आइतबार आफूहरूले मूलभूतरूपमा एकता प्रक्रिया टुंगो लगाएको र बाँकी कामसमेत एकाध दिनभित्रै सकिने जानकारी दिए ।

एकतालाई टुंगोमा पु¥याउन खासगरी प्रचण्डले खेलेको भुमिकाको उनले निकै प्रशंसा गरेका छन् । ‘विशेषगरी कमरेड प्रचण्डलाई धन्यवाद भन्न चाहन्छु । यस एकताको प्रयासलाई त्यही गम्भीरताका साथ नलिएको भए वा फराकिलोपन र लचिलोपनका साथ ठूलो छलाङको आँट नगर्नुभएको भए यो एकता हुँदैनथ्यो ।’, प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा उनले नेपाली कांग्रेस राजतन्त्र फर्काउने खेलमा लागेको आरोपसमेत लगाए । ‘कांग्रेस लोकतन्त्रवादी हो भने प्रगतिशील शक्तिसँग सहकार्य गर्नुपर्छ, प्रतिक्रियावादीसँग होइन’, उनले भने, ‘कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकर हिँडेको देख्दा अचम्म लाग्छ ।’ उनले जन्मकै आधारमा कोही श्रेष्ठ र तुच्छ नहुने भन्दै लोकतन्त्रवादीवादीले जन्मसिद्ध श्रेष्ठताका आधारमा मेरो शासक बन्देउ भनेर निवेदन नहाल्ने उनको भनाइ थियो ।

अर्का अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वलाई एकतामा जानबाट रोक्न आन्तरिक र बाह्य कसरतहरू भएको दाबी गरे । ‘हामीले नेपाली जनतासँग गरेको बाचाअनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौँ र पार्टी एकता गरेरै छाड्यौँ’, उनले भने । पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरू जिम्मेवार भएको उनको भनाइ थियो । ‘जिल्ला नेतृत्वसम्बन्धी मुख्य गाँठो फुकेको छ’, प्रचण्डले भने, ‘हाम्रो मिसन कम्प्लिट भएको छ (मुख्य अभियान सम्पन्न भएको छ) ।’

कार्यक्रममा शुभशंकर कडेलद्धारा लिखित पुस्तक ‘एमाले–माओवादी एकताका आधार’ अध्यक्षद्धयले विमोचन गरेका थिए । पुस्तकमा एकताका बखतमा भएका घटनाक्रमलाई समेटिएको छ । उनले दुवै पार्टीका अध्यक्ष बेग्ला बेग्लै ध्रुवमा रहेका बेला मिलाउन गरिएको प्रयास र तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कसैले भेटाउन नसक्दा तत्कालिन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको पहलमा भेटिएको विषय बस्तु उल्लेख गरिएको छ । पुस्तकमा उनले कम्युनिष्टहरुको टुटफुटका घटनाहरुको पनि फेरिस्तह उल्लेख गरेका छन् ।

प्रतिक्रिया