चार सय मिटर दौडमा नीर र तुलसी पहिलो

दाङ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको ४ सय मिटर दौडको पुरुषमा एपिएफका नीरप्रताप महतो र महिलामा आर्मीकी तुलसी खत्री आइतबार पहिलो भएका छन् । निर्धारित दूरी तय गर्न नीरले ४९.४ सेकेन्ड तथा तुलसीले १ मिनेट समय लगाए । पुरुषमा एपीएफका शिवराज पार्की दोस्रो तथा प्रदेश १ का प्रकाश दनुबार तेश्रो भए । महिलामा आर्मीकी संगीता मेचे दोस्रो तथा प्रदेश ५ की अरुणा रिजाल तेश्रो बने । पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र पार्की पहिलो भए ।

उनले १४ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरे । प्रदेश ६ का दुर्गा बुढा दोस्रो तथा प्रदेश ४ का अनिश थापा तेश्रो भए । सो स्पर्धाको महिलामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ निर्धारित दूरी १६ मिनेट ३८.६ सेकेन्डमा तय गर्दै पहिलो बनिन् । आर्मीकी विश्वरुपा बुढा दोस्रो तथा एपीएफकी विन्द्रा धान्के श्रेष्ठ तेश्रो भए ।

पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका नीरकुमार चौधरी पहिलो भए । उनले १५.६ सेकेन्ड समय लगाए । प्रहरीका चन्द्रदेव जोशी दोस्रो तथा आर्मीका अशोक कुँवर तेश्रो भए । महिला १ सय मिटर हर्डल्समा प्रदेश–५ की प्रमिला थारूले स्वर्ण जितिन् । प्रमिलो १६.३ सेकेन्डमा निर्धारित दूरी सिध्याइन् । प्रदेश ५ की जयरानी चौधरीले रजत तथा आर्मीकी तुलसा श्रेष्ठले कांस्य जिते ।

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा एपीएफ पहिलो, आर्मी दोस्रो र प्रदेश ५ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, एपीएफ दोस्रो र प्रदेश ५ तेश्रो भए । पुरुष ट्रिपल जम्पमा प्रदेश ५ का भुवन महतो पहिलो भए । उनले १४.०६ मिटर हाम्फाले । आर्मीका डिल्ली खत्री दोस्रो र आर्मीका आशिष चौधरी तेश्रो भए ।  सो स्पर्धाको महिलामा ११.४ मिटर हाम्फालेकी एपीएफकी शिला चौधरी पहिलो भइन् । प्रदेश ५ का पूजा चौधरी र सीमा चौधरी क्रमशः दोस्रो र तेश्रो भए ।

प्रतिक्रिया