दुई सयभन्दा बढीको मृत्यु

कोलम्बो । श्रीलंकाको राजधानी कोलोम्बोमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी दुई सयभन्दा बढीको मृत्यु भएको छ ।

घाइते हुनेको संख्या चार सय भन्दाबढी रहेको बताइएको छ । यसपछि सरकारले देशभर कफ्र्युको आदेश जारी गर्दै सामाजिक सञ्जालसमेत बन्द गरेको छ । शनिबार बेलुका भएको विस्फोटले बढी धनजनको क्षति गरेको बताइएको छ ।

आइतबार बिहानसम्ममा लगातार आठौं विस्फोट भएका विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । आइतबार बिहान राष्ट्रिय चिडियाघर नजिकै रहेको होटेलमा ठूलो बम विस्फोट भएको थियो । त्यहाँको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । यसको विस्तृत विरवण भने आइनसकेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानै कोलोम्बोका विभिन्न स्थानमा रहेका तीन गिर्जाघर र तीन होटलमा ६ बम विस्फोट गराइएको थियो । मृत्यु हुनेमा ३५ विदेशी नागरिकसमेत रहेको बताइएको छ । तर, उनीहरू कुन–कुन देशका नागरिक थिए भन्ने पहिचान भने हुन सकेको छैन् ।

श्रीलंका सरकारले विस्फोटका घटना भएसँगै तत्कालन लागू हुनेगरी देशभर कफ्र्यु घोषणा गरेको छ । प्रधानमन्त्री रनिल बिक्रमासिंगेले सुरक्षा परिषद्का उच्च सैन्य अधिकारीससित आकस्मिक बैठक गरेरका छन् । उद्धारका लागि दुई सयभन्दा बढी सेना परिचालन गरिएको छ । त्यस्तै, प्रधानमन्त्रीले सामेबार संसद् सम्मेलनसमेत बोलाएका छन् ।

सरकारले गलत सूचना प्रवाह हुनबाट रोक्न भन्दै फेसबुक, वाट्सएप लगायतका समाजिक सञ्जाल बन्द गरेको छ । शृंखलाबद्ध रूपमा भएका बम विस्फोटको घटनामा कसैको हात थियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् । घटनाको अहिलेसम्म कुनै पनि समहूले जिम्मा लिएको छैन् ।

तर, श्रीलंकाका रक्षामन्त्री रुवान बिजेबर्दनेले यस घटनालाई आतंककारी भन्दै दोषीको पहिचान भइसकेको बताएका छन् । उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन् ।

तर, १० दिनअघि नै आक्रमणको गोप्य सूचना आएको थाहा भएको छ । एनटिजे भनिने श्रीलंकाको एउटा मुस्लिम समूहले मुख्य गिर्जाघरहरूमा विस्फोटको योजना बनाएको सूचना एउटा विदेशी गुप्तचर निकायले उपलब्ध गराएको बताइएको छ ।

समाचार संस्था एएफपीका अनुसार श्रीलंका प्रहरी प्रमुखले आइतबार आक्रमण हुनुभन्दा १० दिनअघि नै आत्मघाती आक्रणकारीले मुख्य गिर्जाघरहरूमा आक्रमण गर्ने योजना बनाएको सूचना देशभर जारी गरेका थिए ।

प्रहरी प्रमुख पुजुथ जयसुन्दराले अप्रिल ११ मा उच्चस्तरका अधिकारीलाई आक्रमणको गोप्य सूचना दिएका थिए । ‘एनटिजेले मुख्य गिर्जाघर र कोलोम्बोस्थित भारतीय हाइ कमिसनमा आक्रमण गर्ने विवरण एउटा विदेशी गुप्तचर निकायले दिएको छ,’ उक्त चेतावनीपूर्ण सूचनामा भनिएको छ ।

गत वर्ष बुद्धका मूर्ति तोडफोड भएको घटनासँग एनटिजे जोडिएपछि चर्चामा आएको थियो ।

आक्रमणको सर्वत्र निन्दा
कोलम्बोमा भएको शृंखलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि संसारभरीबाट निन्दा भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो मानवताविरोधी काम भएको बताएका छन् । ‘नेपाल सरकार मानवताविरोधी यस्तो कामको निन्दा गर्दछ,’ श्रीलंकाका प्रधानमन्त्री बिक्रमासिंघेलाई ओलीले पठाइएको पत्रमा भनिएको छ, ‘यस्तो आपराधिक कर्म गर्ने दोषीलाई चाँडै न्यायको कठघरामा ल्याइनेछ भन्ने दृढ विश्वास व्यक्त गर्न चाहन्छु । नेपाल कुनै पनि स्वरूपको आतंकवादकाको निन्दा गर्दछ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमार्फत घटनाको निन्दा गर्दै ‘हाम्रो क्षेत्रमा यस्ताखाले आतंककारी क्रियाकलापलाई कुनै स्थान छैन’ भनेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खान, बेलायतकी प्रधानमन्त्री थेरेसा मे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाको निन्दा गर्दै यस विपद्को घडीमा आफूहरू श्रीलंकाली जनताको साथमा रहेको बताएका छन् ।

प्रतिक्रिया