गुठीको जग्गामा व्यक्तिको हालिमुहाली

काठमाडौं । गुठी संस्थान र सरकारी जग्गा अत्यधिक रूपमा अतिक्रमण भएको एक सरकारी प्रतिवेदनले देखाएको छ । गुठी संस्थानका जग्गाको लेखाजोखा ०७१ सालदेखि तथ्यांकमा नै छैन भने सरकारी जग्गा भने ६६ हजार वर्गमिटर अतिक्रमण भएको पाइएको छ ।

सरकारी निकायकै वेवास्ताका कारण ती जग्गाहरू अतिक्रमणमा परेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । गुठी संस्थानको जग्गा अतिक्रमण गर्नेमा सरकारी कार्यालय देखि विभिन्न संघ-संस्थासमेत रहेका छन् । प्रतिवेदनमा विभिन्न ७० जिल्लामध्ये अधिकांश जिल्लामा गुठीका नाममा रहेका जग्गा अतिक्रमण भएको पाइएको हो । गुठी संस्थानले ०७१ मा तयार गरेको अभिलेखअनुसार पहाडमा ५ लाख ६१ हजार ९ सय ९० रोपनी र तराईमा ६६ हजार ३ सय ३० बिघा गुठी जग्गा रहेको देखिएतापनि तत्पश्चात् जग्गाको अभिलेख अद्यावधिक गरेको छैन ।

साथै, संस्थानले ती जग्गाको अभिलेखसमेत राम्ररी राख्न नसकेको हो । परम्परागत तथा अत्यन्त पुरानो प्रणालीबाट अभिलेख राखिएका कारण जग्गाको अभिलेख व्यवस्थापनमा समस्या देखिएको छ । गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय, भद्रकाली काठमाडौंमा पुराना लालमोहर, सनद, सवाल, ताम्रपत्र, लगत, मोठ, स्रेस्तालगायतका अभिलेख रहेका छन् । उक्त कार्यालयको भवन जीर्ण अवस्थामा रहेकोले ताम्रपत्र, स्वर्णपत्र आदिसमेत रहेका यस्ता महत्वपूर्ण अभिलेखलाई प्रकाश, आर्द्रता, तापक्रम मिलाइ व्यवस्थित गर्न नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गुठीको जग्गा अन्य निकाय वा व्यक्तिले उपयोग गर्दा संस्थानको स्वीकृति लिनुपर्ने भएता पनि सरकारी कार्यालय, व्यक्ति, संघ-संस्थालगायत विभिन्न निकायले संस्थानको स्वीकृति बिना गुठीको जग्गा उपयोग गर्दै आइरहेको छ । संस्थानका अनुसार धनुषामा २९ वटा सरकारी कार्यालयले संस्थानको स्वामित्वमा रहेको ६४ रोपनी ७ आना जग्गा स्वीकृतिविना उपयोग गरिरहेको छ । संस्थानको नाममा रहेको जग्गा अतिक्रमण हुनुका साथै अनुमति बिना अन्य निकायले उपयोग गरिहेको जग्गाको अर्बौं रूपैयाँ भाडासमेत गुठी संस्थानले पाएको छैन ।

संस्थानको प्रमुख आयस्रोतको रूपमा रहेको यस्ता जग्गाको मुआब्जा, क्षतिपूर्ति, बहाल बापतको शुल्क नपाउँदा संस्थानको आम्दानीसमेत घटेको छ । गुठी संस्थानको नाममा रहेको जग्गा दिनप्रतिदिन अतिक्रमण हुँदै जाँदासमेत संस्थानले अतिक्रमित जग्गाको अद्यावधिक लागतसमेत तयार नगरेको पाइएको छ । जनकपुरको विभिन्न गुठीहरूको १ हजार १ सय ८८ कित्ता, दाङको नारायणपुरस्थित १ सय ५७ रोपानी, काठमाडौं महानगरपालिकाअन्तर्गत गुहेश्वरी सिन्दुर चन्दन तैनाथी गुठी, भण्डारेश्वर गुठी, एवं टेकु जगन्नाथ मन्दिरको तैनाथी गुठीको जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

ललितपुरको लगनखेलस्थित बटुक भैरव, भक्तपुरको दत्तात्रय, हनुमानढोका क्षेत्र र जनकपुरधाम क्षेत्रको विभिन्न गुठीको १ हजार १ सय ८८ किक्ता जग्गा अतिक्रमण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यस्तै, पशुपति संरक्षित स्मारक क्षेत्रमा स्वीकृति बिना सडक र भवन निर्माण गरी विभिन्न संघ÷संस्था तथा व्यक्तिबाट अतित्रमण भएको पाइएको छ । तीन बुद्ध पार्क, गीता माता मन्दिर विस्तार कार्यमा समेत संरक्षित स्मारक क्षेत्रको अतिक्रमण भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

संस्थानको जग्गा अतिक्रमण गर्ने व्यक्ति र संस्थालाई आवश्यक कारबाही गरी अतिक्रमित जग्गा संम्पदाको संरक्षण तथा सुरक्षामा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । जनकपुरमा रहेको बाराही गुठीको जग्गामध्ये १० कित्तामा ६ बिघा ३ कठ्ठा ५ धूर जग्गा संस्थान सञ्चालक समितिको ०५० जेठ ३ गते र सरकारको ०७५ जेठ १३ गतेको निर्णयअनुसार जनकहजारी विद्यापीठलाई अध्ययन कार्य सञ्चालन हुँदा सम्मका लागि भोगचलन गर्न उपलब्ध गराएको थियो ।

यसरी भोगचलन भइरहेको जग्गामध्ये सिट नम्बर १३५४÷१४ को कित्ता नम्बर १, २, २८, ४९ को २ बिघा १४ धुर जग्गा रत्ननगर मठको महन्थले कीर्ते गरी मठको नाममा पुजारीको नाममा मोही कायम गरी नामसारी गरेको उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । जग्गाधनी महलमा रत्नसागर गुठीको नाम र सोही महलमा आफ्नै मठका पुजारीको नाम उल्लेख गरी लालपुर्जा बनाएको संस्थानको अभिलेखबाट देखिन्छ । यसरी अतिक्रमित संस्थानको जग्गाको विषयमा आवश्यक छानबिन गरी गुठीको जग्गा फिर्ता गर्न तथा दोषीलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।

अतिक्रमित जग्गाको एकीकृत लगत तयार गरी सम्बन्धित मन्त्रालय प्रहरी प्रशासनसँगको सहकार्य र समन्वयमा अतिक्रमण हटाउन प्रतिवेदन मार्फत मातहतका निकायलाई आग्रह गरेको छ । यसैगरी, महालेखाले गुठी जग्गा उपयोगको स्पष्ट नीति नहुनु, पुराना लगतहरूको संरक्षणमा पर्याप्त ध्यान नदिनु, जग्गाको एकीकृत लगत तयार नगर्नु, जग्गाको अतिक्रमण तीव्र रूपमा बढ्नु, संस्थानको स्वीकृति बेगर जग्गाको उपयोग गर्नु, सरकारी निकायहरूले समेत जग्गाको मुआवजा नतिर्नु, राजस्व÷देवस्व बक्यौता रकम वर्षेनी बढ्दै जानु आदि गुठी जग्गासँग सम्बन्धित संस्थानका समस्याहरू रहेका छन् । उपर्युक्त समस्याहरू समाधानका लागि संस्थानले नीतिगत, व्यवस्थापकीय र संगठनात्मक सुधार गर्नु जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया