माला र विमला फाइनलमा

दाङ । बृहत् आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत २८औँ पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेटअन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपिएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ की रोशिना लावतीलाई रेफ्री स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । यस्तैगरी अर्मीकी विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् ।

यसैगरी, वेल्टर वेटअन्तर्गत महिला ६४ केजी तौल समूहको खेलमा आर्मीकी पुनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बूलाई आरएससीको आधारमा हराउँदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपिएफकी बिनिता थापा मगरले पनि प्रदेश ५ की माया चौधरीलाई एबीडी कन्टेस्टको आधारमा हराउँदै फाइनलमा पुनमसँग भेट पक्का गरिन् ।

त्यसअघि आइतबारै भएको क्वाटरफाइनल खेलहरुमा जित हासिल गर्दे प्रदेश ३ की शिवानी श्रेष्ठ र नेपाल पुलिसकी निशा तामाङले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । बेन्टम वेट क्याटोगोरीअन्तर्गत महिला ५४ केजी तौल समूहको खेलमा शिवानीले प्रदेश ५ की सुष्मा पुनलाई अंकको आधारमा ४–१ ले हराइन् । त्यसैगरी, निशाले पनि प्रदेश ७ की हरिना अएरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिन् ।

सोही तौलको अर्को क्वाटरफाइनलमा एपिएफकी सन्जुमाया थिङले प्रदेश ४ की जोशिका श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् । महिला फेदरवेट अन्तर्गत ५७ केजी तौल समूहको क्वाटरफाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बुले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

प्रतिक्रिया