प्रदेश–३ यसकारण कुमारी प्रदेश

प्रदेशको नामाकरण तथा राजधानी तोक्ने निर्णय गर्न संविधान सभाले सकेन । संविधानद्वारा यो दायित्व प्रदेशसभाको काँधमा आयो । अधुरो रहेको संविधानलाई पूर्णता दिने दायित्व प्रदेशसभाका लागि अवसर पनि हो । यो अवशरको सदुपयोग अहिलेसम्म तीन वटा प्रदेशसभाले गरिसकेका छन् ।

तर ४ वटा प्रदेश सभाले यो दायित्व अझै पूरा गर्न सकेका छैनन् । देशको राजधानीसमेत रहेको, जनसंख्याको दृष्टिले सबैभन्दा ठूलो, अर्थिक रूपमा पनि सबैभन्दा सम्पन्न प्रदेश हो हाम्रो । सबैभन्दा पहिले नामाकरण गरेर प्रदेश–३ ले एउटा उदाहरण प्रस्तुत गर्नसक्नुपर्ने थियो । तर, सबैभन्दा पछि पर्ने जस्तो भयो । हामी पनि लज्जित छौँ । प्रदेशसभामा दुईतिहाइभन्दा बढी बहुमत सत्तारूढ नेकपाको छ । निर्णय गर्ने दुइ तिहाइले हो । हामी नेपाली कांग्रेसका सांसदहरूले त सुझाब दिने मात्रै हो ।

नामाकरणका लागि सुझाब मागिएको त धेरै भइसक्यो । सार्वजनिक रूपमा पनि र सांसदहरूसँग पनि सुझाब मागिएको छ । धेरैथरी सुझाब आएका कारण पनि अन्योलता बढेको हुनुपर्छ । कसैले नेवा–ताम्सालिङ भनेर सुझाब दिएका छन् । कसैले राजधानी प्रदेश हुनुपर्छ भनेका छन् । कसैले नेपाल मण्डल हुनुपर्छ भनेका छन् । कसैले बाग्मती, कसैले पशुपति प्रदेश हुनुपर्छ भनेर सुझाब दिएका छन् । तर, मैलेचाहिँ कुमारीस्थान अथवा कुमारी प्रदेश हुनुपर्छ भनेर सुझाब दिएकी छु ।

केका आधारमा तपार्इंले कुमारीस्थान वा कुमारी प्रदेश नामाकरणको सुझाब दिनुभयो ? भन्ने प्रश्न सुरुमा धेरै साथीहरूले गर्नुभयो । मिडियाकर्मी साथीहरूले पनि सोध्नुभयो । तत्कालीन माओवादीका साथीहरूले नेवा–ताम्सालिङ नामाकरणको सुझाब दिनुभएको छ । तर, यो नाममा यस प्रदेशमा बस्ने अन्य जाति तथा समुदायले अपनत्व जनाउने अवस्था रहेन । यसै पनि राजधानी हुँदै हो, त्यसैले राजधानी प्रदेश रहनु जरुरी छैन । नेपाल मण्डल नाम राख्ने सुझाब पनि मलाई ठिकै लागेको हो । तर, देशको नाम नेपाल छँदैछ । थप पहिचान र प्रचार आवश्यक छ जस्तो मलाई लाग्दैन ।

वाग्मती प्रदेशको पनि सुझाब आएको छ । तर, नदीको नामबाट कर्णाली र गण्डकी रहिसकेको छ । त्यसमा पनि प्रदेश–३ को थोरै भाग मात्रै बाग्मती प्रश्रवण क्षेत्र हो । बाग्मतीले काठमाडौं, ललितपुर र मकवानपुर जिल्लालाई मात्रै छुन्छ । काठमाडौं उपत्यकाभन्दा पूर्वको भूभाग कोसी प्रसवण क्षेत्र हो, पश्चिमको भूभाग गण्डकी प्रसवण क्षेत्र हो । जसरी मूल कर्णालीमा मिसिने सबै साखा नदीलाई कर्णाली भनिन्छ, मूल गण्डकीमा मिसिने सबै शाखा नदीहरूलाई गण्डकी भनिन्छ, त्यसैगरी, मूल कोसी नदीमा मिसिने सबै नदीलाई कोसी भनिन्छ, तर बाग्मतीमा मिसिने कुनै पनि शाखा नदीलाई बाग्मती भनिन्न । पशुपति प्रदेश नामाकरण गर्नुपर्ने सुझाब पनि ठिकै हो । हिन्दूहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल हो पशुपतिनाथ । तर, अन्य धर्मावलम्बीहरूको बसोवास पनि प्रदेश–३ मा उल्लेख्य छ । कुमारीस्थान वा कुमारी प्रदेश नामाकरण गर्दा सबैभन्दा उपयुक्त हुन्छ कि ? भनेर सुझाब दिएकी हुँ ।

कुमारीस्थान नामाकरण गर्नुपर्ने मेरो सुझाब सुरुमा त साथीहरूलाई अनौठो जस्तो लागेको थियो । धेरै साथीहरूले यसबारे सोच्नुभएको रहेनछ । तर, मैले सुझाब दिएपछि धेरै साथीहरूले तारिफ गर्नुभयो । विश्वकै एक मात्रै जीवितदेवी कुमारीका नाममा प्रदेशको नामाकरण गर्दा नेपालको मौलिकता विश्वभर थप प्रचार हुने, हिन्द र बौद्ध दुवै धर्मावलम्बीहरूको आस्था तथा संस्कृतिको प्रतिनिधित्व पनि हुने भन्दै धेरै साथीहरू सकारात्मक हुनुहुन्छ । तर, कुरा बुझाउन धेरै बाँकी छ । काठमाडौंमा हनुमानढोका दरबार क्षेत्र छ, त्यहाँ जीवित देवी कुमारी छिन् ।

राजधानी काठमाडौंका जात्रा तथा पर्वहरू कुमारीकै अगुवाइमा गरिन्छ । बौद्ध धर्मावलम्बी शाक्य परिवारकी कन्यामध्येबाट छानेर रजस्वला हुने उमेर नहुँदासम्म कुमारी मन्दिरमा ल्याएर राखिन्छ । कुमारी तथा कुमारीसँग सम्बन्धित पर्वहरू राष्ट्रप्रमुखकै अगुवाइका रूपमा मनाइन्छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले उत्तिकै आस्थाका साथ पूजा गर्छन् भन्ने कुरा धेरैलाई थाहा छ । तर, कुमारी संस्कृति यतिमा मात्रै सीमित छैन । मुलुकको सांस्कृतिक शासन सत्तासमेत कुमारीकै नामबाट सञ्चालन भइरहेको छ ।

कुमारी संस्कृतिले संघीयताको मर्म पनि झल्काउँछ । उदाहरणका लागि हनुमानढोकाकी केन्द्रीय कुमारी हुन् । नेपालमा क्षेत्रीय कुमारी र टोलकुमारीहरू पनि छन् भन्ने कुरा धेरैलाई थाहा छैन । काठमाडौं वसन्तपुरमा राजकीय (केन्द्रीय) कुमारी छन् भने पाटन, भक्तपुर, नुवाकोट, काभ्रे, मकवानपुर दोलखामा क्षेत्रीय कुमारी छन् । मखन, किलागल, टोखा, क्वावहाल, साँखु, वटु, चाबहिललगायत काठमाडौं उपत्यकाका पुराना बस्ती बस्ती र टोलटोलमा कुमारी छन् ।

यतिवेलाको संविधानमा केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार भने जस्तै त्यतिवेला पनि नेपालमा केन्द्रीय कुमारी, नगर कुमारी र टोल कुमारीको प्रावधान राखेर शासन सत्ता सञ्चालन गरिएको पाइन्छ । कुमारीलाई आठवटा शक्तिकी स्वरूप, प्रतीक मानिन्छ । ब्रह्मायणी, इन्द्रायणी, वैष्णवी, वाराही, कौमारी, चामुण्डा, महालक्ष्मी र महेश्वरी ।

कुमारी संस्कृति धार्मिक एकताको प्रतीक पनि हो । कुमारीको नित्य पूजा हिन्दू र बौद्ध परम्पराअनुसार हुन्छ । हिन्दू परम्पराअनुसार कर्माचार्यद्वारा र बौद्ध परम्पराअनुसार गुभाज्यूबाट हुन्छ । जहाँ जहाँ नेवार समुदायको बसोवास छ, त्यहाँ त्यहाँ जीवित कुमारी संस्कृति देखिएकाले झट्ट हेर्दा कुमारी परम्परा तथा संस्कृति नेवार समुदायसँग मात्रै जोडिएको जस्तो देखिन्छ । तर, शाहवंशीय राजाहरू नेवार हुन् र ? जयप्रकाश मल्ललाई पराजित गर्नासाथ पृथ्वीनारायण शाहले कुमारीसँग आशीर्वाद लिएर मात्रै राजगद्दीमा बसेको इतिहास हामीले पढेका छौँ ।

हनुमानढोकामा कुमारीको परम्परा मल्ल राजाहरूले सुरु गरेको इतिहास छ । मल्ल राजाहरू नेवार थिए कि ? ठकुरी ? लिच्छिवीकालदेखि नै जीवित कुमारीको प्रतिनिधिका रूपमा राजाले शासन चलाउने गरेको परम्परा देखिन्छ । यसैगरी, तत्कालीन नेपाल अर्थात् काठमाडौं उपत्यकाका मूल वासिन्दालाई नेवार भन्न थालिएको एकीकरणपछि मात्रै हो भन्ने तर्क पनि छन् । एकीकरण हुनुभन्दा अघि त काठमाडौं उपत्यकाका मूलवासीलाई मात्रै नेपाली भनिन्थ्यो । यसको अर्थ नेपाली भनेका नेवार मात्रै हुन् भन्ने होइन, एकीकरणपछि त मेचीदेखि महाकालीसम्मका सबैको पहिचान नेपालीका रूपमा भइसकेको छ ।

वैदिक सनातन धर्मको प्रारम्भदेखि नै नेपालका सबै समुदायमा कुमारी संस्कृति थियो, तर राजकीय मान्यता पाएका कारण वा राज्य सञ्चालनसँग जोडिएका कारण काठमाडौं उपत्यका तथा नेवार समुदायमा अहिलेसम्म जोगियो । तर, जहाँ राजकीय मान्यता दिइएन वा राज्य सञ्चालनसँग जोडिएन त्यहाँ बिर्सँदै गए । तर, लोप भएको छैन । जीवित कुमारीको परम्परा मात्रै लोप भएको हो । मूर्तिका रूपमा अहिले पनि वैदिक सनातन धर्मसंस्कृति अंगाल्ने सबै समुदायमा कुमारीको उत्तिकै महत्व छ ।

हामी नेपालीका हरेक घरमा कन्या या कुमारीको पूजा गरिन्छ । कन्यालाई अघि नलगाई शुभकर्म गरिन्न । देवी भनेको पनि कुमारी नै हो । जस्तै, साँखुकी बज्रयोगिनी, काठमाडौंकी विजेश्वरी, इन्द्रायणी, ताप्लेजुङकी पाथीभरा, इलामकी कन्काइमाई, पाँचथरकी गढीमाई, संखुवासभाकी सिंहदकाली, सल्यानकोटकी देवी, गोरखकाली, मनकामना, बारा जिल्लाकी गढीमाई, बागलुङकी काली, दैलेखकी काली, डोल्पाकी काली, सिलगढीकी शैलेश्वरी आदि कुमारी हुन् ।

कुमारी पूजा मातृसत्तात्मक समाजको अन्त्य, पितृसत्तात्मक समाजको ऐतिहासिक उदयको झलक हो । सिन्धुघाँटीको सभ्यता नेपालको पनि सभ्यता हो । वैदिककालमा आर्यहरूले प्रत्येक दिन प्रभातकालीन समयलाई कन्याको स्वरूपमा, मध्याह्नकाललाई युवती कुमारीको र साम्यकालमा वृद्धा कुमारीको रूपमा स्परण गर्दै न्यास ध्यान जप गर्दै आफ्नो जीवन व्यतित गर्ने गरेको पाइन्छ । ऋग्वेदमा पूर्ण घट लिएकी कन्यालाई मांगलिक मानिन्थ्यो । केनोपनिषद्मा पनि कुमारीले, इन्द्रलाई ब्रह्मज्ञान प्रदान गरी वायु, जल, अग्निको घमण्डलाई तेजोवत गरेको उल्लेख छ । पौराणिककालमा कुमारीबाटै धेरै शक्तिशाली, परिश्रमी एवं प्रयत्नशील दैत्यहरूको वध भएको वर्णन छ । अमरावतीका राजा इन्द्रहरूको शासनकालमा दैत्यहरूले पटक–पटक आक्रमण गरी परास्त गर्दा राजा राजसिंहासन छाडी भागेर यत्रतत्र लुक्दै छिप्दै रहेको अवस्थामा कुमारीबाटै इन्द्रलाई राजसिंहासनमा पुनस्र्थापन गराएकी वर्णन छ ।

यसैगरी, नेपालको अधिकांश क्षेत्रहरूको नामाकरण इकारबाटै भएको छ । जस्तै, गौरी शंकर हिमाल, धवलागिरि, नीलगिरि । तान्त्रिकहरूले हिमको अर्थ पग्लने काल र कालरूपी रुद्रलाई पगाल्ने रुद्रायणीलाई काली र कुमारी मानेका छन् । यसैप्रकार नदीहरूमा पनि कोसी, कर्णाली, गण्डकी, महाकाली, सेती, राप्ती, भेरी, बागमती, विष्णुमती आदिलाई कुमारी मान्न सकिन्छ ।

नेपाल उपत्यका पहिले जलमग्न थियो । वरिपरिका पहाडी इलाकामा मातृसत्तात्मक समाज थियो । महिलाहरू त्यहाँको शासिका थिए । उनीहरूले घुमन्ते जीवनवाट पुरुषहरूलाई गृहस्थी जीवनमा संलग्न गराउन प्रेरणा दिए । पुरुषहरूले महिलालाई घरकी लक्ष्मी र आफूहरू तिनका हकदार तथा आदिमकालीन समाजको अगुवाइ गरेका थिए । महिलावाटै कृषि कार्यमा सर्वप्रथम भूमिका खेलेको हुँदा महर्जन तथा डंगोल ज्यापू समुदायका कन्याहरू पूजायोग्य भए ।

हजुर बजै, आमा र छोरीहरूको समाज भएकाले पहिलेदेखि आपसमा राज्यशासनको कार्यमा सहयोग पुर्याउँदै आएका अवस्थामा छोरीबाट सशक्त रूपमा भूमिका निर्वाह रहन गयो । नेपालको सार्वभौम सत्तालाई छोरीबाटै संरक्षित गर्न सफल भएको कथा पनि जनजीवनमा ताजै छ । युद्धको मैदानमा कालीका स्वरूप लिने कहिले मातृका हुने, कहिल्य नवदुर्गा उपस्थित गराउने फेरि विजयी भएपछि आफ्नो क्रोध शान्त पार्न एव सबैलाई मोहित पार्न कन्या तथा कुमारीको नै रूपधारण गर्ने गरेको वर्णन छ ।

कुमारीस्थान वा कुमारी प्रदेश नामाकरण गर्दा मुलुकको सर्वांगीणता झल्कन्छ । पहिलो कुरा, आधा आकाश ओगटेको महिलाको सम्मान गर्ने परम्परा नेपालमा आदिकालदेखि नै थियो भन्ने यथार्थता विश्वले नै जानकारी पाउँछ । दोस्रो, नेपाल धार्मिक सद्भावको उद्गम थलो रहेछ भन्ने जानकारी पनि विश्वले पाउँछ । तेस्रो, सबै जाति, लिंग, धर्म तथा समुदायको अपनत्व हुन्छ । चौथो, अरू ६ वटा प्रदेशको तुलनामा मौलिक नाम हुन्छ । पाँचांै, नेपालको आदिकालदेखिको सकरात्मक संस्कृतिको संरक्षण हुन्छ । साथै, मुलुकको वैदिक सनातन संस्कृतिको संरक्षण हुन्छ ।

वैदिक सानातन धर्म संस्कृतिले लक्ष्मीलाई अर्थिक मामिला प्रमुख, सरस्वतीलाई शैक्षिक मामिला प्रमुख, दुर्गालाई सैनिक मामिला प्रमुख मानेको छ । राज्य सञ्चालनका जति पनि मामिला तथा विभागहरू हुन्छन्, ती सबै मामिला र विभागको प्रमुखका रूपमा वैदिक सनातन धर्म संस्कृतिले देवीलाई नै मान्यता दिएको देखिन्छ । कुमारी भनेको सबैदेवीहरूको शान्त तथा केन्द्रीय रूप हो । सबै देवीहरूको अंश कुमारीमा रहेको मान्यता छ ।

त्यसकारण कुमारीको नेतृत्वमा राज्यका सबै नीतिहरू चल्थे । राष्ट्रप्रमुखलाई कुमारीको वारेस मान्ने परम्परा त नेपालमा अहिलेसम्म पनि जीवित छ । कुमारी संस्कृतिलाई नेपालको पहिचानका लागि पनि निरन्तरता दिनु जरुरी छ । यो संस्कृतिलाई निरन्तरता दिनु मुलुकका लागि सबै दृष्टिकोणले फाइदाजनक छ ।
( नेपाली कांग्रेसकी युवा नेतृ डंगोल प्रदेश–३ की सांसद हुन्)

प्रतिक्रिया