संविधानको मर्मअनुसार राउतसँग सम्झौता: मन्त्री पण्डित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा. सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन भन्दै जनअभिमतको आशय निर्वाचन भएको बताए ।

सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै मन्त्री पण्डितले संविधान विरोधी गतिविधि सह्य नहुने बताए । एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खोलेको बताए ।

उनले वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला छ भएको बताउँदै सरकारले सबैलाई मुलधारमा ल्याउन चाहेको बताए । मन्त्री पण्डितले १५ दिनभित्र समायोजनका सम्पूर्ण कार्य सम्पन्न हुने बताउँदै लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया