इलामको माईपोखरीमा आगलागी, चार घर जलेर ध्वस्त

इलाम । इलामको धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी भएको छ । सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी बजारमा दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । धार्मिक तथा पर्यटकिय स्थल माइपोखरी प्रवेशद्वार अगाडिका चारवटा घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् ।

स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पार्दासम्म कमल मुखिया, नीमदोर्जे शेर्पा र लाक्पा शेर्पाको घर जलेर ध्वस्त भएको हो । साथै आधा दर्जन बढी घुम्टीहरू समेत जलेको स्थानीय दिनेश सुवेदीले जानकारी दिए ।

आगलागीबाट माईपोखरी धार्मिक वनमा समेत क्षति पुगेको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा जुटेका छन् । स्थानीयले सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि केही रुखहरु समेत ढालेका छन् ।

इलाम नगरपालिकाबाट गएको दमकल करिब १ घण्टापछि घटनास्थल पुगेको थियो । दमकल पुगेपछि करिब आगो नियन्त्रणमा आएको स्थानीय सुवेदीले बताए। आगलागीबाट कुनै मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया