जनतामा भरोसा जगाउँदै भरतपुर महानगरपालिका

चितवन जिल्लाको आधाभन्दा बढी भूभाग ओगटेको भरतपुर महानगरपालिका नेपालकै पोल्ट्री राजधानी पनि हो । यस पालिकाभित्र कृषिअन्तर्गत खाद्यान्न र तरकारी उत्पादन एवं माछा उत्पादनको पनि राम्रो सम्भावना छ । यसका लागि पनि ‘जोन’ छुट्याउन जरुरी छ । भरतपुर महानगरपालिका नेपालभित्र ‘मेडिकल सिटी’ का रूपमा पनि परिचित छ

नारायणी नदीको किनारामा पवित्र देवघाटको काखमा रहेको भरतपुर महानगरपालिका आफ्ना रचनात्मक कामका माध्यमद्वारा जनतामा विश्वास र भरोसा जागृत गराउन सफल भएको छ । मेयर रेणु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नेत्र सुबेदी प्रयासको आमन्त्रणमा यस पंक्तिकार ०७५ असार र मंसिरमा भरतपुर महानगरपालिका पुगी सो पालिकाका सबै जनप्रतिनिधिसँग सूचनाको हक, सुशासन, सदाचार, सकरात्मक सोच र पालिकाले गर्नुपर्ने कामका विषयमा अन्तरक्रिया गरेको थियो । सो बखत उपमेयर पार्वती शाह ठकुरीलगायतका सबै जनप्रतिनिधिले प्रदर्शन गर्नु भएको केही गरौँ भन्ने भावनाको कदर गर्दै तत् पालिकाले गरेका असल अभ्यासको संकलन गरी यो आलेख तयार गरेको छु ।

०३५ सालमा भरतपुर र नारायणगढ गाउँपञ्चायत संयुक्त भई नगर पालिकामा रूपान्तरित भएको हो । ०७१ सालमा मंगलपुर, फूलबारी, गीतानगर, शिवनगर र पटिहानीसमेत मिसिएर भरतपुर उपमहानगरपालिका बनेको थियो । त्यसको २ बर्ष पछि अर्थात् २०७३ सालमा नारायणी र चित्रवन नगरपालिका तथा कविलास गाउपालिकासमेत एकीकृत भएर भरतपुर महानगरपालिका बनेकोे हो । मुलुकमा काठमाडौं, ललितपुर, विराटनगर, पोखरा, वीरगञ्ज र भरतपुर गरी ६ ओटा महानगरपालिका रहेका छन् ।

‘हाम्रो प्रतिबद्धता हाम्रो रहर, सुन्दर र समृद्ध भरतपुर’ नाराका साथ यो पालिका विभिन्न रचनात्मक काममा जुटेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा यस पालिकाले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्दैछ । यी कलाकारले विभिन्न स्थानको सम्भाव्यता अध्ययन गरेकोमा भरतपुरलाई छनोट गरेबाट पनि यो स्थान थप चर्चामा आएको छ । ‘मोडल स्मार्ट मेट्रो सिटी’ निर्माणको सपना बोकेर महानगरीय रिंगरोड निर्माणको कार्यलाई अघि बढाएको छ । यस रिंगरोड निर्माणमा १३ ओटा लिंक रोडको काम पनि अघि बढेको छ । वेलाबखतमा नेपालकै राजधानी काठमाडौंबाट चितवन सार्नु पर्ने चर्चा उठ्ने गरेको यस पालिका अन्तर्राष्ट्रियस्तरको महानगरीय सिटी हल निर्माणमा पनि जुटेको छ । यस पालिकाको एउटा महत्वपूर्ण विशेषतामा यो मुलुकको भूगोलको लगभग बीचमा पर्दछ ।

महानगरपालिकाले नगरभित्रका सबै सडकलाई कालोपत्रे गर्ने अभियान सुरु गरेको छ । हाल भरतपुर भित्र भ्रमण गर्दा लगभग साना ठूला सबै सडक कालोपत्रे भएको पाइन्छ । यस अभियानअन्तर्गत उपभोक्ताको लागत सहभागितामा हालै करिब १५० किमी सडक कालोपत्रे भएको छ । यस्तो सहभागितामा उपभोक्ताले ५० देखि ७० प्रतिशतसम्म लागत व्यहोरेका छन्, जुन अन्य पालिकाका लागि अनुकरणीय छ । यस्तो लागत उपभोक्ताको सहभागिता अभियान सडकमा मात्रै सीमित नभएर पार्क, तटबन्ध, स्कूल भवन, मन्दिर, ढल निकास, मनमोहक टायल बिच्छ्याउने, सरसफाइको लागि डस्टविन राख्ने, वृक्षारोपण गर्ने लगायतका कामसम्म विस्तार भएको छ ।

पालिकाले निजी कम्पनीहरूसँग सम्झौता गरी फोहोर संकलन र विसर्जनको काम गरिरहेको छ । साथै कोरियनसँग यस क्षेत्रमा विशेष सहयोगको लागि एमओयूसमेत भएको छ । यस अतिरिक्त महानगरपालिकाको सहयोग र सहजीकरण तथा निजी क्षेत्रको अगुवाईमा फलफूल तथा तरकारीको थोक र खुद्रा बिक्री केन्द्र निर्माण भै सञ्चालनमा आएको छ । यी भरतपुर महानगरपालिकाद्वारा सम्पादित अनुकरणीय कार्य हुन् । हुनत यति काममै चित्त बुझाउन सकिने स्थिति छैन, तर पालिकाहरूले केही गर्न नसकेर अलमलिएका छन् भन्ने भनाइमा भने भरतपुर हेरेपछि पूर्ण सत्य साबित हुँदैन ।

हाल नारायणी नदीको किनारामा नेपालको झन्डा फहराउँदै डुङ्गामा आन्तरिक पर्यटकहरू रमाई रहेको दृष्य देख्न सकिन्छ । स्वंय नारायणी नदीमाथि बनेको पूल मनमोहक छ । यस्का लागि भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघसँगको सहकार्यमा नारायणी किनारमा सामुन्द्रिक किनारको बीच मोडल पार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ । यसबाट केही हदमा भए पनि मानिसमा समुन्द्रको किनारामा टहलिएको अनुभूति हुने गरेको छ ।

यस पालिकाले खेलकुदको विकास र पर्यटन प्रबद्र्धनमा पनि विविध काम गरिरहेको छ । साथै टोल विकास संस्था, क्लब र अभियन्ताहरूको सहयोगमा सर सफाई अभियान सञ्चालन गरिरहेको छ । यसैगरी, पालिकाले बेसहारा र अपहेलनमा परेका बालबालिकाका लागि करिब एक दर्जन आश्रय घरहरू सञ्चालनमा ल्याएको छ । सबै वडालाई वातावरण मैत्री तुल्याउने, बालश्रम मुक्त बनाउने र पूर्ण खोपयुक्त वडा तुल्याउने अभियान पनि आरम्भ गरेको छ । यी सबै कामका लागि स्रोत स्वरूप स्वफूर्तरूपमा कर असुली भइरहेको पालिकाको अनुभव छ । कैयौं पालिकाको करमाथि बिरोध भैरहेको स्थितिमा यस पालिकाको कर नीतिमा भने स्वंय उद्योग वाणिज्य संघले समर्थन गरेको समाचार पनि सार्वजनिक भएको छ ।

भरतपुर महानगरपालिकाले नारायणगढको पुरानो सब्जीमण्डीमा बहुतल्ले सपिङ कम्प्लेक्स निर्माणको कामलाई अघि बढाएको छ । पालिकाले चालू आ. ब. ०७५।७६ मा करिब डेढ सय किमी सडक कालोपत्र गर्ने लक्ष्यअनुसार काम गरिरहेको छ । कृषि क्षेत्रको विकासका लागि मल, बिउ, सिँचाइको अलावा थोक र खुद्रा बजारको विकासमा पनि पालिका अघि सरेको छ । कूल २९ वडा रहेको यस पालिकाको १८ ओटा वडामा अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न भएको छ । यसैगरी ४ ओटा वडा कार्यालय भवन निर्माण भइरहेको छ । यस पालिकाले जनप्रतिनिधिका लागि छुट्टै आचार संहिता पारित गरी लागू गरेको छ । विपद् व्यवस्थापन सम्बन्धी ऐनको अलावा दर्जनौँ ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड तयार गरेको छ ।

भरतपुर महानगरपालिकाले स्मार्ट सिटी निर्माणको गुरुयोजनालाई अगाडि बढाएको छ । यस पालिकाले शहिद चोकमा ट्राफिक लाइट जडान गरेको छ । साथै भरतपुर अस्पतालको स्तरोन्नति गर्नुका साथै विशेषज्ञ सेवा विस्तार गरेको छ । यस पालिकाबाट देवघाटमा विद्युतीय शवदाह गृह, भरतपुर अस्पतालमा विरामी कुरुवा घर र वडा नं. १९ मा रमणीय रानी पोखरीको निर्माण भएको छ । यसैगरी, भरतपुर बसपार्क लगायतका ठूला परियोजना सञ्चालनबाट पनि यस पालिकाले जनतामा अतिरिक्त आशा र भरोसा जागृत गरेको छ । यस अतिरिक्त यस पालिका उद्योग ग्राम निर्माणमा जुटेको छ । अत्याधुनिक सुविधा सम्पन्न सभाहल निर्माणमा स्रोतको खोजी गर्दैछ । एक वडामा कम्तीमा एउटा खेल मैदान निर्माण गर्ने यस पालिकाको लक्ष्य छ । यी लक्ष्य भेटृाउदा भरतपुर महानगरपालिकाको उचाई अझै चुलिनेछ ।

भरतपुर पालिकाले एक वडा एक उत्पादनको नीति अख्तियार गरेको छ । घर भित्रको फोहोर घर भित्रै व्यवस्थापन गर्न पालिकाले आम नगरबासीलाई आह्वान गरेको छ । क्लिन भरतपुर, ग्रीन भरतपुरको नारासहित यो पालिका अघि बढेको छ । यस क्रममा एक वडा एक उद्यान, एक वडा एक पोखरी यस पालिकाको सपना बनेको छ । मेरो फोहोर मेरो जिम्मेवारी भन्ने नाराका साथ अघि बढिरहेको भरतपुर महानगरपालिकाले जनताको गुनासो सुन्न मेयरसँग नगरवासी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

यसैगरी कागज विहीन पालिका बनाउने अभियानमा जुटेको भरतपुर महानगरपालिकाले ४२ बुँदे नागरिक बडापत्र सार्वजनिक गरेको छ । चालू आ. ब. ०७५÷७६ का लागि रु. ३ अर्ब ३४ करोड ५ लाख ८६ हजारको बजेटसहित अघि बढेको यस पालिकाले जनताको आवाज सुन्न सार्वज्निक सुनुवाइ कार्यक्रम सञ्चालन गरिआएको छ । चालू आ. ब. मा रु. ५५ करोड ४५ लाख राजस्व असुली गर्ने लक्ष्य लिएको यस पालिकाले अर्ध वार्षिक अवधिमा रु. ३१ करोड ३० लाख उठाई आफूलाई विकास निर्माणको काम गर्ने पालिकाको साथै लक्ष्यअनुसार राजस्व असुली गर्न सफल पालिकाको रूपमा पनि दर्ज गरेको छ ।

चितवन जिल्लाको आधाभन्दा बढी भूभाग ओगटेको भरतपुर महानगरपालिका नेपालकै पोल्ट्री राजधानी पनि हो । यस पालिकाभित्र कृषिअन्तर्गत खाद्यान्न र तरकारी उत्पादन एवं माछा उत्पादनको पनि राम्रो सम्भावना छ । यसका लागि पनि ‘जोन’ छुट्याउन जरुरी छ । भरतपुर महानगर पालिका नेपालभित्र ‘मेडिकल सिटी’ का रूपमा पनि परिचित छ । यसर्थ ‘मेडिकल बेस्ट’ व्यवस्थापनमा पनि यस पालिकाले समयमै ध्यान दिनु पर्नेछ । शहरको वातावरण संरक्षण गर्न राष्ट्रिय नीति अनुरूप प्लास्टिकको झोला, गिलास, प्लेट लगायतका वस्तुको उत्पादन, भण्डारण, बिक्री वितरण र प्रयोगमा समयमै रोक लगाउनु पर्छ । यस अतिरिक्त पालिकाले कैयौँ विषयमा ‘अनलाइन’ सेवा आरम्भ गर्न सक्ने देखिन्छ । यस अतिरिक्त बालकुमारी उच्च माविसँग समन्वय गरी क्याम्पाचौरमा रंगशाला निर्माण गर्न सकिने हुन्छ । हाल सबै २९ ओटै वडामा खडा भएका टोल विकास संस्थाको क्षमता अभिबृद्धि गरी थुप्रै रचनात्मक कामद्वारा आम नगरवासीले लाभ पाउन सक्ने देखिन्छ ।

भैरहवा–बुटवल खण्डमा निर्माणाधीन अवस्थामा रहेको फराकिलो सडक र हरियालीझैँ भरतपुर पालिकाको वडा नं. ९ गोन्द्राङदेखि नारायणगढको पुल्चोकसम्म सडक चौडा पारी हरियाली प्रवद्र्धन गर्नुपर्छ । यस पालिकाले सहरी सुरक्षा व्यवस्थालाई अतिरिक्त मजबुत तुल्याउनुपर्छ । राष्ट्रिय निकुञ्जसँग जोडिएका बरण्डाबार वार्ड नं. ११, १२, ९, १३ लगायतलाई जंगली जनावरबाट जोगाउन वातवरणमैत्री नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । हाल नेपाल ट्रष्टको सम्पत्तिका रूपमा रहेको दियालो बंगलालाई पालिकाले विशेष पहल गरी म्युजियममा रूपान्तरित गर्नुपर्छ । यसैगरी, नारायणी सिँचाइको कुलोमा नौका विहार, सिँचाई र बजार क्षेत्र विकास गरी अतिक्रमण रोक्नुपर्छ ।

यस्को साथै जोर कुसुम पार्क, रामनगर सहिद लखन पार्क, ढिकुरा नारायणी नदीको किनाराको सार्वजनिक जमिनमा र देवघाट जंगल छेउमा पार्क निर्माण गर्नुपर्छ । साथै रामनगर ओह्रालो हाइटमा भ्यूटावर निर्माण गर्न सकिन्छ । यसैगरी, आँपटारीमा बोटानिकल गार्डेन म्यूजिकल फाउण्टेन पार्क बनाउने पहल गर्नुपर्छ । २० हजार ताललाई संरक्षण गरी ‘इको टुरिज्म’ प्रवद्र्धन गर्न जरुरी छ । पालिकाको गेस्ट हाउस, गणेशस्थानमा धार्मिक पर्यटक, रिंगरोड निर्माण, केरुंगा ड्रेनको व्यवस्थापन र धनगढा मन्दिर क्षेत्रको विस्तारले पालिकाको रौनक बढाउने देखिन्छ । कृषि योग्य जमिनको संरक्षण, तटबन्ध निर्माण र मेघौली एयरपोर्टलाई नियमित सञ्चालन गर्न सके भरतपुर महानगरपालिकाको महत्व अझ बढ्ने देखिन्छ । साथै कुमालवस्तीको विकास, होमस्टे प्रवद्र्धन, बाख्रा पालन, आधुनिक तरकारी खेती र फलफूल खेतीले यो पालिका स्वयंको उत्पादनमा आत्मनिर्भर हुनेछ ।

अन्त्यमा, मुलुकमा स्थापना भएका ७५३ ओटा पालिकाहरूले अनेकौँ रचनात्मक काम गरी सबै उत्कृष्टताको श्रेणीमा पुग्ने प्रयास गरिरहेका छन् । प्रस्तुत सन्दर्भमा मुलुकमा कायम भएका ६ ओटा महानगरपालिका मध्ये भरतपुर महानगरपालिकाले पनि आफूलाई जनता वीच लोकप्रिय तुल्याउने अनवरत प्रयास गरिरहेको छ । यस सन्दर्भमा क्रमागत योजना सम्पन्न गर्ने र कनिका छरेझँै बजेट नछरी नगर गौरवका योजनामा लगानी बढाउनु पर्छ । सुशासन, पारदर्शिता र विधिको शासनमा जोड दिदा आपसी वैमनस्यतामा पनि कमी आउने हुन्छ । आमनिर्वाचित जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले उच्च मनोबल र सदाचारितामा रही मन, वचन र कर्मले जनताको सेवा गर्नुपर्छ । हाल मुलुकको समस्या भनेको युवा बेरोजगार हो । यसर्थ भरतपुर महानगरपालिकाले डकर्मी, सिकर्मी, प्लम्बिंग, इलेक्ट्रिसियन, मोबाइल, रेडियो, टिभी मर्मतलगायतको तालिम र बिउ पुँजी दिएर स्वरोजगार योजनालाई बढावा दिनुपर्छ ।

भरतपुर महानगरभित्र उत्पादन हुने वस्तुको बिक्री प्रवद्र्धन गर्न कोसेली घर स्थापना गर्नुपर्छ । कम्तिमा खाद्यान्न, हरियो तरकारी, फलपूmल, माछामासु र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुनुपर्छ । अत्यावश्यक वस्तुको पहिचान गरी तिनको माग र आपूर्तिमा ध्यान दिनुपर्छ । सुपथ मूल्यका सहकारी पसल सञ्चालनमा ल्याउनुपर्छ । आमउपभोक्ताको पक्षमा नियमित बजार अनुगमन गर्नुपर्छ । कुहिने, नकुहिने र अस्पताल एवं उद्योगको फोहोरलाई संकलन गरी उचित व्यवस्थापन गर्नुपर्छ ।

प्रतिक्रिया