काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित नेपालकै प्रतिष्ठित बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।
प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीस्तरबाट निर्णय गरी अख्तियारमा पठाइएको हो ।
उपप्रधानमन्त्रीस्तरबाट मंगलबार गरिएको निर्णय अनुसार बुधबार कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको हो ।
अनियमितता तथा घोटालाका सम्बन्धमा प्रतिष्ठानका उपकुलपतिले सम्पादन गरेका अनियमित कार्यहरुको छानविन प्रतिवेदनसमेत पेश गरिएको छ ।
यसअघि सञ्चारमाध्यममा बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको विषयमा विभिन्न समाचारहरु प्रकाशित भएका थिए । बीपीमा उपकरण किन्ने तर जडान नगर्ने, करोडौंको भवन रहेको भन्दै भएको आफ्नो जग्गा प्रयोगविहीन रहेको साढे दुई करोडको उपकरण रहेको तर त्यसको प्रयोग नभएको अवस्था रहेको थियो ।
उपकरणहरु बिग्रेपछि थान्को लगाउने प्रवृत्ति रहेको र एमआरआईको एक तिहाई प्रयोग भएपनि दैनिक ३५ हजार घाटा अस्पताललाई भएको समाचारहरु प्रकाशित भएका थिए ।
प्रतिक्रिया