राई यायोक्खा नामक एनजिओको सेफल्यान्डिङ !

राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरूलाई थामी नसक्नुको पीडा छ, पश्चाताप छ । अब राई होइन, खम्बु वा किराँत नै हौँ भनेर स्वीकार गरेर आए पनि जस जत्ति कुलुङे ढाक्रेहरूलाई नै जान्छ । तापनि हामी राई सर राईनी म्याडमहरूसँग उनीहरूका लागि सेफ ल्यान्डिङको आधार के हुन सक्छ ? बहस र छलफल गर्न तयार छौँ

०७५, फागुन २७ गते सौर्य दैनिकमा भीम राई सरको ‘यायोक्खाको नेतृत्वलाई बहसको विषय’ शीर्षकको लेख छापियो , तर, भीम राई सरको लेखको आशय राई जातै हो, आजसम्म राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद् दर्ता नम्बर–२६५६) को दलमा परेका कुलुङ, बाहिङ, चाम्लिङ, याम्फु, लोहोरुङलगायत किराँतीहरूचाहिँ कथित राई भन्नेहरूको थर मात्रै हो भन्ने देखिन्छ । तर, राई जात र कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु आदिचाहिँ राईको थर मात्रै हो भने, कसरी कुलुङ–कुलुङबीचमै, बाहिङ–बाहिङबीचमै, चाम्लिङ–चाम्लिङबीचमै, बान्तावा–बान्तावाबीचमै, याम्फु–याम्फुबीचमै, लोहोरुङ–लोहोरुङबीच मात्रै विवाह हुन्छ ? त्यो पनि प्रष्ट्याउनुपथ्र्यो ।

हामी कुलुङ समुदायमा भने २सय ४० भन्दा बढी थर र उपथरहरू हुन्छ, र नै कुलुङ–कुलङबीचमा विवाह हुन्छ । फेरि अर्को भनेको राई भनिनेहरू बीचमा केही फरक नदेख्ने भीम राई सरले राई भन्नेहरूले नाच्ने गरेको चण्डी नाच याम्पूm, लोहोरुङलगायत किराँतीहरूचाहिँ किन नाच्दैनन् ? स्मरण रहोस्, राई भन्नेहरूले चण्डी नाच भन्ने गरेको चाड वा पर्वलाई बान्तावा र चाम्लिङ जातिले साकेवा, साकेला, साकेन्वा भन्छन् । असलियतमा मेरो आशय के हो भने, राई जात वा जाति नभएकोले कुलुङलगायत किराँतीहरू (हाल १६ वटा किराँती जातिहरू किराँत महासंंघमा आवद्य छन्) राईभित्र अटाउने वा नअटाउने भन्ने प्रश्न नै गलत हो ।

तर, भीम राई सरले गरेको तर्कको पेट बोली भने कुलुङ लगायत किराँतीहरूले राई यायोक्खा नामक एनजिओमा पद नपाएको वा यायोक्खाको दानापानी खान नपाएर भन्ने देखिन्छ । त्यस्तो होइन । किनभने कुलुङलगायत अन्य किराँतीहरू राई जात वा जाति नभएर पदवी वा पगरी मात्रै भएकोले राई पदवी वा पगरीले एकीकरण वा सम्मिलीकरण मात्रै गर्छ, जातीय, भाषिक, संस्कारगत, भेषभूषा आदि विविधीकरणलाई अस्वीकार गर्छ । जुन विगतमा देखिएकै भएर कुलुङलगायत अन्य किराँतीहरूले अलग्गै बाटो समातेका हुन् । किनभने, कुनै पनि किराँतीहरू राई एकै हो , भन्दै बान्तावाकरणमा सम्मिलीकृत हुन चाहँदैन ।

एउटा मात्रै उदाहरण भनेको विगतमा राईको भाषा भनेर बान्तावा भाषाको पाठ्यक्रम बाँकी सबै किराँती भाषीहरूलाई लादियो । त्यस क्रममा सम्भवतः एकजना पनि बान्तावा भाषा वक्ता नभएको ओखलढुंगा, सोलुखुम्बु आदि जिल्लामा पनि बान्तवा भाषाको पाठ्यक्रम पठाइयो । फलतः जिल्ला शिक्षा कार्यालयमा वर्षौंसम्म कुहिएर बस्यो, नासियो । संस्कार, संस्कृति र भेषभूषा पनि राईको भन्दै बान्तावाकै लादियो । जसको प्रभाव बान्तावाबाहेक अरू किराँतीहरूमा अझै देखिन्छ । जुन हामी कुलुङलगायत किराँतीहरू चाहँदैनौँ ।

त्यसैले भीम राई सरले सक्नुहुन्छ भने, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरूलाई ‘हाम्रा किराँती पिता पूर्खालाई नेपालको भगौलिक एकीकरणपछि दिएको राई, सुब्बा, मुखिया, देवान, चौधराई, कारबारी, बैदार, थरी, माथा, गौरुङ, करता आदि पदवी छोडौँ । जस्तो लिम्बु, लाप्चा र थकालीले सुब्बा पदवी–पगरी आप्mनो नामको पछाडि लेख्न छाडिसके । त्यस्तै, सुनुवार, क्षेत्री, बाहुनलगायत मुखिया पद पाएका अन्य जातजातिले पनि आप्mनो नामको पछाडि मुखिया लेख्न छाडिसके । याक्खाले देवान लेख्न छाडिसके ।, थारुले चौधराई÷चौधरी लेख्न कम गर्दै लगेर थारू लेख्दै छन् ।

कारबारी, बैदार, थरी, माथा, गौरुङ, करता आदि त ऊवेलैमा लेख्न छाडे । किनकि, ती पदहरू प्रभावशाली र ठूलो नभएर राई, सुब्बा, मुखिया, देवान आदिकै अन्डरमा रहेर गर्ने ससाना पदहरू थिए । फेरि यो राई पद वा पगरीले सम्पूर्ण किराँतीहरूलाई नसमेट्ने भएकोले बरु खम्बु वा किराँतमा जाऊँ–आऊँ भनी मनाउन सक्नु भो भने यो तपाईँको जीवनको महान काम हुनेछ । राईको आप्mनै मौलिक केही नभएकैले गर्दा वर्षमा दुईचोटि काठमाडांैको टुँडीखेल, हात्तीवन, तिखेदेवल, नखिपोटलगायत देशका अन्य सहरबजारका सार्वजनिक ठाउँहरूमा राईको चण्डी नाच भन्दै राई भनिनेहरूले आजसम्म पनि गुन्यु, चोली, दौरा, सुरुवाल, ढाकाटोपी इस्टकोट लगाएर (केहीले बाहेक) उफ्रीपाफ्री गर्थे–गर्छन् ।

हुन त २०४७ देखि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत खुलेको हो, ‘राई यायोक्खा नामक एनजिओ ।’ जे भए तापनि सो एनजिओको १०औँ महाधिवेशनले सर्वप्रथम किराँती समुदायभित्रका कुलुङलगायत २८ (राई यायोक्खाका हर्ताकर्ताहरूका भनाइअनसुार भाषिक संस्था) भन्दा बढी किराँती जातिहरूलाई विगत २८÷२९ वर्षदेखि कथित् राई जातिको नाममा भाषिक, सांस्कृतिक, मानवअधिकार, मौलिक हक, भेषभूषा, सहभागिता, सूचना र सञ्चार, शिक्षा आदि क्षेत्रमा सहभागी हुनबाट वञ्चित र दलनमलन गर्दै आएकोमा सबैभन्दा पहिले क्षमायाचना गर्नुपर्ने थियो । तर, सम्मेलनपछि राई यायोक्खाले जारी गरेको १६ बुँदे घोषणापत्रमा सो कुरो कतै पनि उल्लेख भएको देखिएन ।

भन्ने नै हो भने, राईको अस्तित्व रहेन भने, राई यायोक्खा नामक एनजिओको राईको नाममा आउने दानापानी नै रोकिन्छ । त्यसैले २०६८ को राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागले नेपालबाट प्रकाशित हुने सबै दैनिक पत्रपत्रिकाका पत्रकारहरू राख्न खर्चका कारण नसक्ने भएपछि देशमा धेरै बिक्री हुने र लोकप्रिय भनी चिनिएको कान्तिपुर दैनिकसँग एकजना पत्रकार माग ग¥यो । सो कुरो थाहा पाएर राई यायोक्खाले कूटनीतिक चाल चालेर कान्तिपुर दैनिकबाट गणेश राईलाई पठाउन सफल भयो ।

जबकि गणेश राई त्यो वेला शुद्घ पत्रकार मात्र नभएर राई यायोक्खाका एक खम्बा अर्थात् केन्द्रीय सचिव पनि थिए, उनै पत्रकार केन्द्रीय तथ्यांक विभागमा रिपोर्टरका रूपमा छिर्न सफल भए । गणेश राई केतविमा समाचारदाताको रूपमा छिर्नेबित्तिकै आप्mनो बुताले भ्याएसम्म कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्पूmलगायत किराँतीहरूलाई अलग्गै जातिको रूपमा आऊन नदिन कन्धनी कसेरै लागे ।

०६८ को राष्ट्रिय जनगणनामा कुलुङलगायत १२ वटा किराँती जातिलाई राईमै गाभ्न सकियोस् भनी आपूmले सकेको प्रयास गरेका पनि हुन् । कस्तोसम्म देखिन्थ्यो भने, जनगणनासम्बन्धी समाचार लेख्दा÷बनाउँदा शुद्घ पत्रकार वा समाचारदाताको रूपमा नभएर लेखक वा विश्लेषकले जस्तो आप्mनो भनाइ वा विचार पनि समाचारसँगै राख्थे । जनगणनासम्बन्धी समाचार लेख्दा केन्द्रीय तथ्यांक विभागले ५९ जातिको तथ्यांक मात्रै बाहिर ल्याउनुपर्ने आशयको समाचार पनि लेख्थे।

भीम राई सरको सो लेख सौर्य दैनिकले विशेष महत्व दिएर छापेकोमा आभारी छु । किनभने ,यसले राई यायोक्खा नामक एनजिओले हामी कुलुङहरूले ०५८-५९ देखि सुरु गरेको जातीय स्वपहिचानको आन्दोलनलाई भुसुना भन्केको जत्ति पनि नठानेर बुरुक–बुरुक उर्फिदै जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ भन्दै हिँड्थे । कसैले चासो लिएर कुलुङ समुदायले गरेको आन्दोलनबारे सोधेमा ‘कुलुङे ढाक्रेहरूले प्रतिष्ठानबाट आउने ५० हजारको लागि मात्रै राई होइन भनेका हुन्, उनीहरू राई नै हुन्, नपत्याए उनीहरूको नागरिकतामा के छ ? भनी सोध्नु नि ’ भन्थे रे ।

तर, कुनै पनि जातजाति वा भाषाभाषीको ऊ आफू को हुँ भन्ने आधार नागरिकता नभएर उसको ऐतिहासिक भूमि, इतिहास, वंश वा पिता पूर्खा, मातृभाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, भेषभूषा चालचलन आदि हो । आज आएर उनीहरूले सार्वजनिक रूपमा स्वीकार नगरे तापनि सेफल्यान्डिङ चाहेका छन् । किनकि, कुलुङहरूले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलनले यो रूप लेला भन्ने उनीहरूले सयमा एक पनि सोचेका थिएनन् । त्यसैले ऊ वेला बुरुक–बुरुक उफ्रिदै जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ ! भन्दै हिँडेकाहरू अहिले थकथक मानिरहेका छन् ।

हुन पनि ०६८ को जनगणनामै १२ वटा किराँतीहरू जो त्यसअघि राईमै गाभिएका थिए, उनीहरू कुलुङ आदि भनी अलग्गै जातिका रूपमा आएका छन् । ०७८ मा १२ बाट कति जाति बढ्ने हो ? ०६८ मा राईको जनसंख्या बढेर ६ लाख ९०–९५ हजारदेखि ७ लाख १०–१२ हजारसम्म पुग्नुपर्नेमा ६ लाख २० हजार चानचुन मात्रै भयो । आगामी ०७८ मा राईको जनसंख्या घटेरकतिमा झर्ने हो ? राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरूलाई थामी नसक्नुको पीडा छ, पश्चाताप छ । अब राई होइन, खम्बु वा किराँत नै हौँ भनेर स्वीकार गरेर आए पनि जस जत्ति कुलुङे ढाक्रेहरूलाई नै जान्छ । तापनि हामी राई सर राईनी म्याडमहरसँग उनीहरूका लागि सेफ ल्यान्डिङको आधार के हुन सक्छ ? बहस र छलफल गर्न तयार छौँ ।

प्रतिक्रिया