विश्वभरि छरिएर रहेको किराँत राई समुदायको साझा र सबैको छाता संगठनको रूपमा रहेको किराँत राई यायोक्खाको दशौँ महाधिवेशन प्रदेश–१ सुनसरी धरानमा सकियो । सम्पन्न यायोक्खाको महाधिवेशनमा देखिएको नेतृत्वको कार्यशैलीका कारण यायोक्खा भित्र अब नयाँ बहसको आवश्यकता देखापरेको छ । किराँत राई समुदायको प्रतिनिधि संस्थाको रूपमा रहेको संस्थाले खेल्नुपर्ने भूमिका सोचे अनुसार रहेनन् । आम प्रतिनिधीहरूले चाहेजस्तो नेतृत्व आयो तर नीति आएन । नेतृत्वले ल्याउने नीतिका बारेमा खुलेर बहस तथा छलफल भएनन् । जसले अबको किराँत राई यायोक्खाको बाटो के हो भन्ने विषयमा थप अन्योलता सिर्जना भएको छ ।
यायोक्खा नेपालको ऐन नियममा आधारित रहेर लोकतान्त्रिक विधि र प्रक्रिया अंगिकार गरेको विशुद्व गैरसरकारी, गैरराजनीतिक एक सामाजिक संस्थाको रूपमा स्थापना भएको हो । यसको सञ्चालन पनि सोहीअनुरूप हुनुपर्दछ । संस्था दर्ता ऐन ०३४ अन्तर्गत राज्यको सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आएको यस संस्थाले स्वभाविक रूपमा समुदायको हितमा काम गर्नुपर्दछ । संस्था दर्तागर्दाको बखतमा राखि आएको प्रस्तावना तथा उदेश्यमा अविचलित हुनै पर्छ । विधान त आफूलाई जति परिमार्जित लैजाँदा पनि स्थापनाको मूल मर्म र भावनाविपरीत जान पाइँदैन । तर, पछिल्लो कालमा यायोक्खा कुनै पनि राजनीतिक पार्टीझैँ लाग्नेगरी मोडीफाई हुँदैछ ।
किराँत राई यायोक्खाले संस्था दर्ताको समयमा निर्माण गरेको र सम्बन्धित निकायले स्वीकृत गरेको विधानमा उल्लेख भएका उद्देश्यहरूको पक्षमा यायोक्खाले कसरी कदम अगाडि बढाइरहेको छ भन्ने विषय नै आज बहसको विषय हो । संस्था दर्ता गर्दाको बखत उल्लेख गरिएको र हालसम्म अविछिन्न रहेको संस्थाको उद्देश्यहरू भनेको सम्पूर्ण किराँत राई समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, संवद्र्धन, उत्थान तथा प्रवद्र्धन हो ।
यसका पक्षमा वकालत गर्ने अभिमुखीकरण गर्ने यायोक्खाको मुख्य जिम्मेवारी हो । भाषा, धर्म, संस्कार संस्कृतिको प्रवद्र्वन गर्नमा राज्यले विभेद गरेको छ । भन्ने ठम्याइको आधारमा हाल यायोक्खाले केही राजनीतिक मुद्दाहरूमा समेत आफ्नो स्पष्ट विचार अगाडि सारेको छ । यो समयको माग हो । यसका लागि विभिन्न भाषिक समुदायको नेतृत्व यायोक्खाले गर्दै आएको छ । अहिलेसम्म यायोक्खाले खेल्दै आएको यो भूमिकामा केही सुधार र प्रयासहरू अपुग छन् । र, नेतृत्वले गम्भीरतापूर्वक नसोचेका विषयहरू पनि प्रशस्तै छन् ।
संस्थाको उद्देश्यअनुरूप खोजिएको किराँत राईहरूको बृहत एकता हो । जसलाई एक सूत्रमा बाँध्ने किराँत राईहरूको संस्कार, संस्कृति, परम्परा, रहनसहन, धार्मिक आस्थाले मात्रै सम्भव छ । छुट्टाछट्टै भाषाहरू बोलिने भए पनि मिथकीय हिसाबमा होस या सांस्कृति हिसाब सबै किराँत राईहरू एक ठाउँमा रहेका छन् । यसमा कुनै द्विविधा छैन । तर, यता केही किराँत भाषी समुदाय यायोक्खाभन्दा १२ हात परै बसेर आफूलाई रमिते बनाइरहेको छ । त्यो समुदायलाई यायोक्खा सम्म ल्याउन यो महाधिवेशनले केही ठोस कार्यक्रमहरू ल्याउन सकेन । कुरा गर्दा त सजिलो छ यायोक्खा किराँती समुदायको भूमे देउताजस्तै हो ।
यसले कसैको केही बिगार्दैन । तर, व्यवहार त टाढा झन् टाढा बनाउने कामहरू भइरहेका छन्. । एकताको सूत्रमा बाँधेर ल्याउन एक आपसमा छलफल तथा बहसमा ल्याउन यायोक्खाले ध्यान दिनै पर्छ । महाधिवेशनले यसबारेमा केही नीतिहरू अख्तियार गर्नुपथ्र्यो त्यसमा अभाव रहेकै हो । छुटेर रहेका जातिगत समुदायका संस्थाहरूसँग मिल्न सकिने बुँदाहरूमा सहकार्य नमिलेका विषयमा छलफल गरेर जाने वातावरण सिर्जना गर्नुपथ्र्यो त्यो अभाव रहेको छ । यस्तो बेला किराँत राई समुदायमा फेरी यो बहसको किन भन्ने लाग्न सक्छ ।
तर, समय क्रमसँगै विकास भएका अनेकन सामाजिक समस्याका कारण आज समुदायका अगुवा वा नेतृत्वले खेल्ने भूमिकाबारे भ्रम र वास्तविकताहरू सार्वजनिक गर्नकै लागि पनि बहस जरुरी छ । समेट्नुपर्ने विषयहरू अरू पनि धेरै छन् । किराँत राई यायोक्खासँग असहमत किराँत राई भाषिक समुदाय पनि अस्थित्वमा रहेका छन् । कुलुङ, बाहिङ, नाछिरिङजस्ता भाषिक समुदायले पनि समान उद्देश्य भावना बोकेर आफ्नो संस्कार, संस्कृति, भाषा, धर्मबारे अहोरात्र काम गरिहेका छन् । उनीहरूलाई यायोक्खामा किन समावेश नगर्ने ? समावेश हुन नसक्ने विषय के–के हुन् भन्ने कुरालाई बहसमा किन नलैजाने ?
किराँत राई समुदायमा भाषा फरक भए पनि संस्कृतिमा कुनै फरक छैन । यसमा कुनै भाषिक समुदाय विशेष भनेर द्विविधा सिर्जना गराउने प्रयत्न हुनु हुँदैन । जस्तो जन्मदेखि मृत्युसम्मको संस्कारलाई हेर्ने हो भने किराँत राईहरू सबैको मान्यता एकै प्रकारको रहेको छ । सबैले मान्दै आएको ‘थुतुरीवेद’ सबै किराँत राईहरूले उपयोग गर्दै आइरहेको अवस्था हो । हाल यो समुदायमा प्रत्यक्ष रूपमा सांस्कृतिक हस्तक्षेप बढेको छ ।
आफ्नो सांस्कृति परम्परा तथा संस्कारलाई प्रवद्र्वन गर्न नसक्दा विस्तारै संस्कृतिको लोप हुने अवस्थामा पुगेको वेला बाह्य हस्तक्षेप तीव्र बनेको छ । किराँत राई हुनुको अर्थ औचित्यतालाई विस्तारै बिर्साउनका लागि कथित धर्म तथा संस्कारको रूपमा यो समुदाय प्रहारको केन्द्रविन्दु बनेको छ । अधिकांश किराँत समुदायमा क्रिस्चियन र आत्मानन्द, ओमनन्द, साधु, जोसमनीजस्ता धार्मिक हस्तक्षेप बढिरहेको छ । यसलाई रोक्न यायोक्खाको पहिलो कदम आवश्यक छैन र ? यो बहसको पहिलो विषय हो ।
घटना ताजै छ, किराँत राई समुदायमा भ्रमको खेती भएकैले धेरै जसो किराँत राई समुदायमा धर्म परिर्वतनजस्तो कार्यहरू तीव्ररूपमा बढेका छन् । यो सामाजिक भ्रमलाई एकजना राई पत्रकारले उजागर गर्ने प्रयत्न गर्दा प्रहरीको हिरासतमा लामो समय गुजार्नुप¥यो, कानुनी रूपमा मुद्दा लड्नुप¥यो । त्यो मोडिएको विषयमा यसबारे यायोक्खाले कडा प्रतिवाद गर्न आवश्यक थियो । यसमा झारा टार्ने काम मात्र भयो ।
यसले आमकिराँत राई यायोक्खामा आबद्ध आफ्नो भाषा, संस्कार, धर्म, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धनमा लाग्ने कार्यकर्ताहरूलाई के लाग्छ ? किराँत राई यायोक्खामा आबद्ध भाषिक समुदायहरू आठभन्दा बढी छन् । ती भाषिक समुदायको संस्थाहरूले आफ्नो भाषाको अध्ययन, संस्कृतिको अध्ययन परम्परा, रीति, संस्कार खोज गर्दै त्यसलाई स्थापित गर्ने प्रयासमा लागिरहेको वेला अब यायोक्खालाई छाता संगठन मानेर जाने अवस्था होला कि नहोला अहिलेको बहसको यो मुख्य पाटो बनेको छ ।
एउटा मान्छेलाई मार्नका लागि पहिले उसको भाषालाई मार्ने, विस्तारै संस्कार र संस्कृतिलाई मार्दै लगेपछि त्यो आफैँ मरिसकेको हुन्छ भन्ने तर्कसम्मत हिसाबले लागेका अन्य हस्तक्षेपकारी सम्प्रदायको कार्यक्रममा छाता संस्थाको प्रतिनिधिले गएर शुभकामना दिँदै उसको प्रोत्साहन गर्नाले यायोक्खाको उद्देश्य प्राप्तिका लागि रातोदिन लागेकाहरूले कसरी बुझ्लान् । यो प्रश्नको जवाफ अब खोज्नुपर्ने भएको छ । वर्तमान नेतृत्वले यसको जवाफ दिनुपर्दछ ।
यायोक्खा आफैँ सबैको किराँत राई समुदायको प्रतिनिधि संस्था हो । नाममा किराँत राई लेखिएकाहरू सबैको प्रतिनिधित्व गर्ने कुरा एउटा भ्रम मात्र हो । किराँत राई हुनुलाई के–के आवश्यक छ भन्ने विषयमा यायोक्खाले अध्ययन गर्ने कि नगर्ने ? जो आफ्नो कुलपितृदेखि आफूले मान्दै आएको सम्पूर्ण संस्कार संस्कृति सबै तिलाञ्जली दिएर अरू नै कुरापछि राख्छ । जसले हामीले मन्दै आएका हाम्रो पुर्खा तथा पितृलाई शैतानी आँखाले हेर्छ । उसको प्रतिनिधित्व यायोक्खाले गर्न मिल्छ र ?
हामीले मानिएको आगो, पानी, जल, जंगल, र जमिनको पूजालाई आँगनमा पोलेर खरानी बनाउने कुरामा कसरी सहमत हुन सकिन्छ । हामीले गाउँदै आएको रिसिया, मुन्धुमी मन्त्र तथा कर्मकाण्डमा बोलिने रीति–संस्कारको कुरालाई पुस्तकमा वर्जित गरेर नबुझिने मन्त्रमा कसरी किराँती समुदायको हित हुन सक्छ । यो यायोक्खाका लागि आएको चुनौती हो कि होइन ?
अब राजनीतिको कुरामा पनि बहस जरुरी छ । अहिले मुलुक संघीयतामा गइसकेको छ । हामीले मागेजस्तो प्रदेश प्राप्त भएन । नामांकन विनाको प्रदेश संविधानले दिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै सामुदायिक हितका पक्षमा वकालत गर्नेक्रममा केही राजनीतिक नाराहरूसमेत संस्थाले बोकेर अगाडि बढ्नुपर्ने बाध्यता आएको छ । नेपालको संविधान प्रद्धत अधिकारलाई उपयोग गर्दै आफ्नो पहिचानलाई स्थापित गर्न यायोक्खाले राजनीतिक विषयमा वकालत गर्न बाध्यता हो ।
तर, किराँत प्रदेशको स्थापनार्थ गरिएको कार्यक्रमहरू अभियान मान्ने की आन्दोलन ? भन्ने यायोक्खाले स्पष्ट पार्नुपर्दछ । सामाजिक तथा सामुदायिक संस्थाको निम्ति यो अभियान हो । अभियान हुँदाहुँदै पनि यायोक्खाको दशौँ महाधिवेशनले किराँत प्रदेश प्राप्त नभएमा पहिचान पक्षधरहरूसँग मिलेर विशिष्ट किसिमको आन्दोलनको गर्ने घोषणा गरेको छ । विशिष्ट किसिमको आन्दोलन भनेको के हो ? यसको बारेमा अन्योलता छ । समग्रमा किराँत प्रदेश नामांकनका लागि गरिएका यी सबै प्रयास होलान् । तर, किराँत प्रदेश प्राप्ति नभए पनि अरू कुनै न कुनै नामांकन त हुन्छ नै । यसपछि यायोक्खाले गर्ने अरू मूल काम के–के हुने ?
त्यसपश्चात् संविधान संशोधनका पक्षमा बोल्ने की नबोल्ने ? आफूले पूर्वको १६ जिल्लालाई किराँत प्रदेश भनिरहेको वेला नौवटा जिल्लाको छुट्टै लिम्बुवान राज्यको मागका बारेमा बहस गर्ने कि नगर्ने ? अहिले खड्किरहेको विषय हो । यसबारेमा वर्तमान यायोक्खाको नेतृत्वको अवधारणा आउनुपर्छ । यसका लागि छलफल र बहसहरू हुन आवश्यक छ ।
प्राज्ञिक क्षेत्रमा समेत यस्ता बहसहरू उब्जेका छन् । किराँत इतिहासको सवालमा खोजकर्ताले के–के पत्ता लगाए । अर्थात् के भन्ने विषयमा छलफल खोई ? अहिले चलाउँदै आएको ऐले संवत्बारेसमेत विवाद देखिएका छन् । यसका बारेमा खोज तथा अनुसन्धानकर्ताहरूसँग बहस र छलफल गरेर किन निक्र्याेल नगर्ने प्रश्न छ ।
महाधिवेशनले किराँत लिपिको प्रयोगलाई प्राथमिकतामा राखेर प्रचलनमा ल्याउन कार्यदल बनाउने घोषणा पत्रमा लेख्छ । तर, किराँत लिपि कुन हो ? लिम्बू समुदायले आफ्नो मात्र भनेर दावा गरिरहेको सिरिजंगा लिपि नै किराँत लिपि हो कि ? अरू कुनै लिपि छन् ? वर्तमान यायोक्खाले अबको दिनमा यतातर्फ नयाँ किसिमको बहस सुरु गर्नुपर्दछ । अन्यथा यायोक्खा सीमित व्यक्तिको सानो सिन्डिकेटमा मात्र रहनेछ । किराँत राई यायोक्खा इतिहासमै मात्र सीमित बन्ने निश्चित छ । सबै किराँत राई समुदायले यसतर्फ आजै सोचौँ ।
प्रतिक्रिया