वास्तुकला – मानसिक शान्तिसँग जोडिएको वास्तुशास्त्र

प्रथम वास्तुविद्का सम्बन्धमा दक्षिण भारतको लोक प्रचलित समरांगण सूत्रधारमा एउटा कथा लेखिएको छ । जुन कथा पढेपछि प्रथम वास्तुविद्को पत्ता लाग्दछ । कथा यस्तो छ : ब्रह्माले सृष्टि गरिसकेपछि संसार बनाउने सम्पूर्ण जिम्मा महाराज पृथुलाई दिनुभयो । तर, राजा भएकै कारणले पृथुलाई यो काम गा¥हो भयो । उसले आफ्नो समस्या पितामहसँग राखे । उता वसुन्धरा (पृथ्वी) पनि ब्रह्मा कहाँ पुगिन् । दुवैको कुरा सुनेपछि ब्रम्हाले विश्वकर्मालाई बोलाएर संसार बनाउने जिम्मा दिनुभयो । यसभन्दा अगाडि नै विश्वकर्माले देवपुरीको निर्माण गरिसकेका थिए । संसार निर्माण गर्नका लागि उनले वास्तुशास्त्रको सिद्घान्त बनाए । जसअन्तर्गत वास्तुविद्लाई सामुन्द्रिक, गणित, ज्योतिष र छन्दको ज्ञान अनिवार्य हुनुपर्दछ भने विश्वकर्माले । विश्वकर्माले बनाएकै वास्तुशास्त्रअनुसार संसारको सृष्टि भयो । यही कारणले गर्दा विश्वकर्मा प्रथम वास्तुविद् भएका हुन् ।

(वास्तुकला र भवन निर्माण)
त्यसो त मय पनि वास्तुविद् हुन् । उनकै सिद्घान्तअनुसार भारतका कतिपय प्रान्तमा भवन निर्माण भएका छन् ।
मय र विश्वकर्मा दुवै वास्तुविद् हुन् । विश्वकर्मालाई देव–वास्तु प्रवर्तक भनेर मानिन्छ । त्यसैगरी मय असुर–वास्तु प्रवर्तकका रूपमा जगत प्रसिद्घ छन् ।

तर, समय परिवर्तन हुँदै जाँदा देव र असुर अर्थात् दुवै वास्तु सिद्घान्तलाई समिश्रण गरेर भवनहरू बन्ने गरेका पनि छन् । वास्तुशास्त्र अपरम्पार छ । वास्तुशास्त्र ग्रन्थ लगायत वैदिक साहित्य, रामायण, महाभारत, अष्टाध्यायी, अर्थशास्त्र, जैन तथा बौद्घ ग्रन्थ, आगंम, तन्त्र, पुराण एवं बृह संहिता आदि ग्रन्थमा वास्तु विषयक सामग्रीहरू लेखिएका छन् ।

वास्तुशास्त्रमा दुई परम्परा धेरै लोकप्रिय छन् :

क) उत्तरी वास्तु परम्परा– यस परम्पराको मुख्य वास्तुशास्त्रीय ग्रन्थ सूत्रधार मण्डन, विश्वकर्मा प्रकाश, समरांगण सुत्रधार, वास्तु रत्नावली आदि हुन् ।

ख) दक्षिणी वास्तु परम्परा– यस परम्पराको मुख्य वास्तु शास्त्रीय ग्रन्थ विश्वकर्मीय शिल्प, मय मत, मानसार, काश्यप शिल्प, अत्रस्त्य, सकलाधिकार, शिल्प संग्रह, शिल्परत्न, चित्र लक्षण आदि हुन् । अन्य परिवर्तित समय र आवश्यकता अनुसार वास्तुशास्त्र, माथि धेरै ग्रन्थहरू लेखिएका छन् । वास्तु विषयक यस विशाल साहित्य भण्डार धेरै समृद्घ छ ।  इन्जिनियर शंकरनाथ रिमालका अनुसार वास्तुशास्त्रको व्यापकता एवं महत्व गहन छ । धर्म, अर्थ, काम र मोक्ष नै मानिसका चार लक्ष्य प्राप्ति हुन् । हाम्रो शास्त्रले यी लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा बताएको छ । यी चार लक्ष्य प्राप्त गर्न शरीर, मन र बुद्घिअनुकूल हुनुपर्दछ । अर्थात्, शरीर स्वस्थ भएमा मन स्थिर हुन्छ र बुद्घि निर्मल हुन्छ र यिनीहरू प्राप्त गर्न सकिन्छ । वास्तु सिद्घान्तलाई स्विकारेर निर्माण गरिएका भवनहरू वास्तु दोषबाट मुक्त हुन्छन् । वास्तुदोषबाट मुक्त भवनभित्र बस्दाखेरी सुख–शान्ति र समृद्घि प्राप्त हुन्छ । अतः हामीले वास्तु सिद्घान्तको महत्वलाई ध्यान दिन सक्यौँ भने धेरै फलिफाप हुन्छ ।

 

वास्तु शास्त्र के हो त ? तर, वास्तुकलाको छुट्टै महत्व हुन्छ । त्यसको व्यापकता अपार छ । अहिलेलाई वास्तुशास्त्रबारे केही जानकारी राखौँ ।

वास्तु शब्द ‘वस्तु’ शब्दबाट बनेको हो । वस्तुको उत्पतिको अर्थ हुन्छ ‘जे छ या जसको सत्ता हो,’ त्यही वस्तु हो । वस्तुसँग सम्बन्धित शास्त्र नै वास्तु शास्त्र हो । वस्तु शब्दले पृथ्वी, भवन, वाहन र पलग यी चार वस्तुको बोध हुन्छ । वास्तुशास्त्र अन्तर्गत सम्पूर्ण देश र नगर निर्माण योजनादेखि लिएर स–साना भवन र त्यसभित्र राखिने फर्निचर र वाहन निर्माणसम्म पर्दछन् । सामान्यतः यसको मुख्य सम्बन्ध भवन निर्माण कलासँग हुन्छ । (स्रोतः वास्तुकला र भवन निर्माण पुस्तक)

तर, कैयौं मानिसलाई वास्तुशास्त्र सम्बन्धी ज्ञान नै छैन । वास्तु शास्त्रलाई आधार मानेर घर बनाउनु पर्छ भनेर स्वीकृत दिने संस्थाले पनि बताउँदैनन् । आफ्नै सुर र धुनबाट सहर र गाउँमा छयाप्छयाप्ती घरहरू बनाइरहेको पाइन्छ । कतिले त वास्तु शास्त्रको नाम पनि सुनेका छैनन् । वास्तु शास्त्रबाट घर निर्माण गर्दा हुने फाइदाका बारेमा समेत उनीहरूलाई ज्ञान छैन । अतः यस सम्बन्धमा आममानिसका लागि सम्बन्धित निकायबाट वास्तु शास्त्र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यक देखिएको छ ।

महानगर, नगरपालिका, गाउँपालिकाका वडा कार्यालयले यस सम्बन्धमा महत्वपूर्ण भूमिका निभाउन सक्छन् । हामी मानसिक शान्ति चाहन्छौँ । स्वस्थ रहन खोज्दछौँ । समृद्घि प्राप्ति हाम्रो चाहना हो । के थाहा भवन निर्माण क्रममा वास्तु शास्त्रको सिद्घान्तविपरीत गएर वास्तु दोषको सिकार भएर मनमा अशान्ति छाउने गरेको हो कि ? वास्तु दोषकै कारण हामी प्रायः अस्वस्थ र समृद्घि नभएकै हो कि ? अतः यस सम्बन्धमा कसरी वास्तुदोषबाट मुक्त हुन सकिन्छ वास्तुविदहरूसँग परामर्श लिनुपर्दछ ।

वास्तु संरचना निर्माणमा विशेष ध्यान दिन सकेमा मानिसले आफूलाई शान्तिपूर्ण जीवनयापन गर्न सक्दछ । वास्तु आफैँमा वैज्ञानिक अवधारणा हो । यसमा दिशाअनुसार तथा सूर्यको प्रकाशको अवस्थालाई ध्यान दिई संरचना निर्माण गरिने भएकाले मानिसले एकबारको जुनीमा निर्माण गर्ने आवास अर्थात् वास्तुकलालाई लालित्यपूर्ण बनाउन यसका नियमलाई अनुसरण गर्नुपर्दछ । यसले मानसिक शान्ति र सकारात्मक सोच निर्माणमा समेत महत्वूपूर्ण भूमिका खेल्न सक्दछ ।

प्रतिक्रिया