सञ्जय मित्र
अवसर पाएमा महिलाले पुरुषसरह काम गरेर देखाउन सक्छन् भन्ने दृष्टिकोणमा महिलालाई पुरुषसरह उभ्याउन खोजिएको मात्र देखिन्छ । महिलाहरू सक्षम छन्, महिलाले पनि हरेक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्न सक्छन्, अन्यका लागि उदाहरणीय बन्न सक्छन् भन्नेजस्ता दार्शनिक भनाइहरू रौतहटको एउटा नगरपालिकामा व्यावहारिक आदर्शको रूप लिँदैछन् । मधेस मानिएको प्रदेश नम्बर दुईमा एक मात्र पालिका महिलाको नेतृत्वमा रहेको छ ।
रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा रिनाकुमारी साह कविताको चयन भएपछि नगरपालिकाको कार्य सञ्चालनप्रति सन्देह उत्पन्न गरिएको थियो भने अर्कोतिर सम्पूर्ण महिलाहरूमा आशाको दीप प्रज्ज्वलित पनि भएको थियो । एउटी मधेसी महिलाले कसरी नगरपालिका चलाउने हुन् भनेर आफैँसित प्रश्न गर्ने राजनीतिकर्ताहरू पनि देखिएका थिए । तर, करिब डेढ वर्षको अन्तरालले अविश्वासका बादलहरू फाटेका मात्र नभई कैयौँ कार्यहरू अरूका लागि अनुकरणीय पनि बनेका छन् ।
सबैभन्दा पहिलो कार्य त तोकिएको समयमा नगरसभाहरू सम्पन्न भइरहेका छन् । नगरले नीति, नियम तथा ऐनहरू निर्माण गरेर लागू गरेको छ । नगरपालिकाले आफ्नो तहमा गर्न सक्ने सम्पूर्ण कार्यमा महिला तथा बालबालिकालाई प्राथमिकतामा राखेर अधिकतम सुविधा प्रदान गरिरहेको छ । मौलापुर नगरपालिकामा सडक, बजार, विदालय तथा अन्य कार्यालयहरूको निर्माण, सुधार तथा प्रवद्र्धन देखेर अन्य पालिकासित सबैले तुलना गर्न थालेका छन् ।
नगरपालिकाले छुट्याएको बजेटको करिब पूर्ण कार्यान्वयन तथा तिनीहरूको उपलब्धिले सबैलाई अचम्मित तुल्याएको छ । नगरको सीमाभित्र जतासुकैबाट प्रवेश गर्दा सजिलै चिन्न सकिने विकासका संकेतहरू देखिन्छन् । यहाँ भइरहेका विकासहरूले आगामी केही वर्षमा मौलापुर नगरपालिकामार्फत महिलाको नेतृत्वले देशमै एउटा नमूना प्रस्तुत गर्ने निश्चित देखिन्छ ।
देशमै शिक्षा र साक्षरताको क्षेत्रमा रौतहटको अवस्था दयनीय छ । मौलापुरले महिला शिक्षामा ठोस योगदान दिन मौलापुर नगरपालिकाले माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई निशुल्क साइकल उपहार–छात्रवृत्ति प्रदान ग¥यो । छात्रालाई समयमा विद्यालय पुग्न, टिउसन पढ्न तथा घरमा पनि काम गर्न समयको बचत हुने विश्वास नगरपालिकाले लिएको थियो । प्राथमिक तहसम्म गाउँकै विद्यालय पढेर माध्यमिक तहको अध्ययनमा पहुँच नपुग्दै छात्राले पढाइ छाड्ने चलन कम भएको छ । मौलापुरले छात्रालाई साइकल वितरण गर्ने अभियान जिल्लाको सबै स्थानीय तहमा विस्तार भएको छ । हजारौँ छात्राले साइकल पाएका छन् ।
मौलापुरले तेह्र वर्षदेखि ४४ वर्षसम्मका सम्पूर्ण महिलालाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिसकेको छ । यसको सही उपयोग र फाइदाबारे राम्ररी जानकारी गराएको छ जसलाई अन्य नगरपालिकाले पनि अनुकरण गरेको छ ।
कक्षा ११ अध्ययनरत छात्रालाई निःशुल्क ल्यापटप प्रदान गरिएको छ । ती छात्रा जो नियमित रूपमा अध्ययन गर्दछन्, तिनीहरूले उपहार स्वरूप ल्यापटप पाएका छन् । डिजिटल साक्षरतामार्फत पहिलोचोटि छात्राहरूले आफू र आफ्नो परिवारलाई अनलाइन संसारमा प्रवेश गराउन सफल भएका छन् । साइकल चढेर ढाडमा ल्यापटप बोकेर आत्मसम्मान र गर्वका साथ विद्यालय पढ्न जाने बालिकाको उत्साह बढेको छ र अन्यमा पनि ल्यापटप अभियानमा सहभागी हुने आकांक्षा वृद्धि गरेको छ ।
महिलाको हातमा नगरपालिकाको नेतृत्व पुगेपछि महिलालाई भान्छासम्म पनि सहयोग पुग्ने अपेक्षा गरिएको थियो । गाउँको सबैभन्दा पहिले भान्छालाई महिलामैत्री बनाउन धुवाँमुक्त बनाउने अभियानस्वरूप हरेक परिवारलाई एउटा ग्यास सिलिन्डर, एउटा चुल्हो, पाइप, रेगुलेटर तथा अन्य सामग्रीहरू प्रदान गर्ने काम सुरु भएको थियो । नगरपालिकाको तर्फबाट प्रदान गरिएको यो उपहार लिन चाहने जति झन्डै सम्पूर्ण परिवारमा यो अभियानको प्रतिफल पुगिसकेको छ । महिलाको स्वास्थ्यमा सुधार हुने र समयको बचत हुने तथा महिलाले भान्छामा दुःख भोग्न कम हुने विश्वास नगर प्रमुख साहको रहेको छ । मौलापुरबाट आरम्भ भएको निशुल्क ग्यास सिलिन्डर अभियान संघीय निर्वाचन क्षेत्रभरि सासद प्रभु साहले विस्तार गरिरहेका छन् । हजारौँ परिवार यसबाट लाभान्वित भइसकेका छन् ।
विपन्न परिवारमा छोरीको बिहे हुँदा नगरपालिकाले सोझै रकम दिन थालेको छ । वडा कार्यालयको सिफारिसमा नगरपालिकाले विपन्न र दलित परिवारमा छोरीको बिहे हुँदा पच्चीस हजार रूपैयाँ दिइरहेको छ । यसले नगरपालिकाले गरिब तथा दलितको लागि केही काम गर्दछ भन्ने कुरो व्यवहारमै प्रष्ट भएको छ । नगरपालिकाले विपन्न परिवारको छोरीको बिहेमा खेलिरहेको यो भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ ।
साक्षर नगरपालिका घोषणाको लागि नगरपालिकाले व्यावहारिक कदम चालेको छ । मुख्यतः एसइइको परीक्षार्थीले आफ्नो घरपरिवारको कम्तीमा एकजनालाई अनिवार्य साक्षर बनाउनुपर्ने नियम बनाइएको छ । परिवारप्रतिको दायित्वमा वृद्धि हुने र साक्षरतामा पनि वृद्धि हुने गरी मुख्यतः महिला साक्षरतामा नगरपालिकामा जोड दिइएको छ । गत वर्षदेखि सुरु गरिएको साक्षर नगरपालिका अभियानले धेरै महिलालाई साक्षर बनाइसकेको छ र लक्ष्यानुसार प्रगति भइरहेको छ । स्थानीय सरकारको गठन भएपछि साक्षरताको क्षेत्रमा सबैभन्दा महत्वपूर्ण कार्य नगरपालिकाले गर्न सकेको छ ।
नगरपालिकाले राजपत्र प्रकाशित गरेर र ऐन संग्रह सार्वजनिक गरेर नयाँ काम गरेको छ । पालिकाले नगरसभाबाट पारित गरेका सबै नियमहरूलाई एक ठाउँमा प्रकाशित गरेर एकातिर ऐन तथा नियमहरू जान्न पाउन र त्यसलाई लागू गर्न पाउने सूचनाको अधिकार पाएका छन् भने अर्कोतिर अन्य पालिकाहरूलाई पनि ऐन र नियमहरूलाई पारदर्शी गर्नुपर्ने नैतिक भार थपेको छ ।
पहिले दुर्गम मान्ने गरिएको मौलापुरका महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिमहरू सञ्चालन गरिएका छन् । महिलालाई उद्यमी बनाउने अभियान सुरु गरिएको छ । व्यवसायमा महिलालाई प्राथमिकता दिइएको छ । संस्कृति संरक्षणमा महिलाको भूमिकाको प्रशंसा र सम्मान गरिएको छ । यसरी महिलालाई शिक्षित, सुसंस्कृत, सभ्य, आधुनिक तथा प्रतिस्पर्धी बनाउन छोटो समयमा महिलाको नेतृत्वमा नगरपालिकाले अनेक अनुकरणीय कार्यहरू गर्न सफल भएको छ । महिला र पुरुषको सक्षमता, नेतृत्व र कार्यशैलीप्रति विश्वास नहुनेजति सबैले मौलापुर नगरपालिकाले छोटो समयमा गरेको प्रगतिलाई हेर्नु आवश्यक छ ।
प्रतिक्रिया