अकुत सम्पत्ति कमाएको आरोप

काठमाडौं । सरकारले तोकेको शुल्कभन्दा बढी असुलेको भन्दै आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीले सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कलेज सञ्चालक लगायतका अन्य व्यक्तिविरुद्ध ठगी मुद्दा दर्ता गरिएको चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ता प्रितम सुवेदीले जानकारी दिए । विद्यार्थीहरूले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरूको सहयोगमा उजुरी दर्ता गराएका हुन् ।

उजुरी दिने उजुरीकर्तामा चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ता प्रितम सुवेदी, विजयवावु शिवाकोटी, एवम् गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हा रहेका छन् । कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रूपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् ।

सुवेदीले आइतबार दिने भनिएको उजुरी साँझ परिसकेको भन्दै मंगलबार बिहानै दर्ता गरिदिने भनि बिद्यार्थीलाई फिर्ता पठाएको बताए । ‘जिल्ला प्रहरी कार्यालय, पोखराले मंगलबार पनि दिनभरी आलटाल गरी भोलि दर्ता गर्दिन्छौ भनिरहेको थियो । दिनभर कलेज प्रशासनका व्यक्ति आएर जाहेरी दरखास्त नहाल्न विद्यार्थीलाई धम्की दिइरहेको अवस्था थियो । यता प्रहरी प्रशासनले जाहेरी दरखास्त दर्ता गर्न आलटाल गर्नुले उनीहरूलाई पनि कलेज प्रशासनले दबाब दिइएको शंका उत्पन भएको थियो तर मंगलबार दिउँसो सुद्दीकरण विभाग पुगी सुद्दीकरणसम्बन्धी अनुसन्धान गर्न उजुरी गरेरै छोड्यौँ’ उनले भने ।

उनीहरूले अवैध रूपमा उठाएको शुल्कको छानबिन गर्नुपर्ने लगायतका माग राख्दै अभियान्ताको सहयोगमा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको विद्यार्थी प्रितम सुवेदीले बताए । कलेजले विद्यार्थीहरूबाट सरकारले तोकेको रकमभन्दा १० देखि १५ लाखसम्म बढी रकम उठाएको विद्यार्र्थीहरूको आरोप छ । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने उनीहरूको माग रहेको छ ।

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीहरूले रु ४२ लाख रकम तिर्नुपर्ने सरकारी नियम रहेपनि ५५ लाखभन्दा बढी शुल्क तिर्नुपरेको विद्यार्थीको गुनासो छ । सन् २०१५ देखियताको विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया