नेपाली सेनाले हालसम्म २६ सडक आयोजनाको निर्माण (ट्याक खोल्ने कार्य) कार्य सम्पन्न गरिसकेको छ भने ती आयोजना सम्पन्नतासँगै राष्ट्रिय सडक सञ्जालमा १ हजार ४८ किमी थप सडक निर्माण सम्पन्न भएको छ । देशका अतिविकट भौगोलिक क्षेत्रमा पर्ने सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँसीसहर–चामे, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान–मुसिकोट, अबुवा–भच्चेक सडक निर्माण सम्पन्न हुनुको श्रेय सेनाका कार्यलाई जान्छ
राष्ट्रको वैभव, गौरव र साहस नेपाली सेनाको मौलिक पहिचान हो । नेपाल राष्ट्रको अखण्डता, स्वाधिनता र सार्भभौम नेपाली जनताको आस्थाको पहिचान र धरोहरका रूपमा नेपाली सेनाले आफ्नो भूमिकालाई कायम राख्ने दिशामा अघि बढ्न सक्नुपर्दछ । मुलुक र नेपाली जनताको स्वाधिनता र स्वतन्त्रतालाई अक्षुण राख्ने अभियानमा नेपाली सेनाको भूमिका सधँै गौरवपूर्ण र चीरस्थायी रहेको छ ।
राणा शासन र पञ्चायती शासनलाई अपवाद मान्दा नेपाली सेनाले आफ्नो पहिचान विशुद्ध व्यावसायिक र गैरराजनीतिक संस्थाका रूपमा कायम गर्न सक्नु आफैँमा महत्वको छ । नेपालको इतिहासका विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र आन्दोलन भए । यस्ता महत्वपूर्ण समयक्रममा नेपाली सेनाले आफ्नो मौलिक व्यावसायिकता र जनभावनाको मूल्यलाई आत्मसात् गरेर अघि बढ्न सक्नु यस संस्थाको सबैभन्दा उत्कृष्ट पहिचान हो ।
नेपाली सेनाको भूमिकालाई बहुआयामिक कोणबाट हेर्न सकिन्छ । नेपाली सेनाको भूमिकालाई खोज्ने सवालमा राष्ट्र«संघीय शान्ति स्थापना कार्य, प्राकृतिक स्रोतको संरक्षण विशेषतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन, भौतिक पूर्वाधार विकासअन्तर्गत राजमार्ग तथा सडक निर्माणका कार्य, प्राकृतिक प्रकोप व्यवस्थापन र प्रकोपका समयमा तत्काल उद्धार तथा राहतका कार्य, विभिन्न मानवीय तथा सामाजिक सेवाका कार्यलाई उदाहरणीय कार्यका रूपमा लिन सकिन्छ । विपद् तथा आपतकालीन कार्यमा सेनाले आफ्नो भूमिकालाई अझ गहन र प्रभावकारी गराउनु अवश्यक छ । विश्व शान्तिका लागि संयुक्त राष्ट्र« संघले अघि सारेको राष्ट्र«संघीय शान्ति अभियानको महत्वपूर्ण सहयोगी राष्ट्र«का रूपमा नेपालले उल्लेख्य कार्य गरी आएको छ ।
नेपाली सेनाका विगत ६ दशकको इतिहासलाई हेरेको खण्डमा विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रहरूमा शान्ति स्थापना कार्यका क्षेत्रमा नेपाली सेनाका निकै महत्वपूर्ण भूमिका र योगदान रहिआएको छ । विश्व शान्ति तथा स्थायित्वका लागि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत अफ्रिकी द्वन्द्वग्रस्त राष्ट्र दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई शान्ति स्थापनाको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरे वापत् संयुक्त राष्ट्रसंघीय शान्ति अभियानअन्तर्गत राष्ट्र संघीय पदक प्राप्त हुनु नेपाली सेनाको मात्र नभई नेपालको उच्च मूल्यांकन भएको हामी सबैले अनुभूति गर्न सकेका छौँ । यो आफैँमा एक महत्वपूर्ण आयाम पनि हो । सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको कार्यमा नेपाली सेनाले निरन्तर सहभागिता र योगदान पुर्याउँदै आएको छ । हालसम्म विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा युद्ध भएका ४२ वटा शान्ति स्थापना मिसनमा नेपाली सेना सहभागी भई सकेको छ भने हालमा समयमा १४ वटा द्वन्द्वग्रस्त स्थानमा राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत सेवा प्रदान गरी आएको छ ।
राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा संलग्न रही आएका विश्वका विभिन्न मुलुकका सेनामा नेपाली सेनाको योगदानका हिसाबले छैठौँ स्थानमा रहेको छ । तर, नेपालले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघले अघि बढाएको शान्ति मिसनमा जति र जुन रूपमा गुणात्मक योगदान पु¥याएको छ त्यसको बाबजुत नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा नेतृत्वदायी भूमिकालाई अझ गहनताका साथ निर्वाह गर्छ भन्ने कुराको उद्घोष राष्ट्र संघमा हुन नसक्नु केही निराशाको विषय होला तर यसमा नेपाल सरकारको दरिलो कूटनीतिक पहल आवश्यक छ ।
प्राकृतिक प्रकोप व्यवस्थापन तथा प्रकोप पश्चात् तत्काल उद्धार तथा राहतका कार्यलगायत मानवीयता तथा सामाजिक सेवाका कार्यलाई उदाहरणीय कार्यका रूपमा लिन सकिन्छ । पछिल्लो समयमा ०७२ सालको विनासकारी भूकम्पमा उद्धार तथा राहतका तत्कालीन कार्यमा नेपाली सेनाको उल्लेख्य कार्यलाई सबै क्षेत्रबाट प्रशंसित गरिएको नै हो । यस्ता विपत् तथा आपतकालीन अवस्थामा उद्धार, राहत वितरण तथा तत्कालीन अवस्थामा अस्थायी शिविरमा पीडितको आपतकालीन बसोबासका लागि सेनाले देशमा घटेका विभिन्न समयका भूकम्प, बाढी पहिरो, हिमपात, हवाई दुर्घटना लगायतका बग्रेल्ती प्राकृतिक प्रकोपमा उदाहरणीय कार्य गरिआएको सन्दर्भमा यस्ता प्राकृतिक प्रकोपको सामना गर्न अझ व्यावसायिक तथा कार्यकुशलता आवश्यक छ । प्रकोप न्यूनीकरण र सचेतनाका पाटाहरूलाई अन्य सरोकारवाला निकायको सहकार्यमा समन्वात्मक ढंगबाट अघि बढाउन सकिएको खण्डमा जोखिम न्यूनीकरण र मानवीय क्षतिलाई निकै हदसम्म कम गर्न सकिन्थ्यो ।
नेपाली सेनाको भूमिकालाई विकास र निमार्णसँग पनि जोडेर हेर्न सकिन्छ नै । नेपाली सेनाले देशको भौतिक पूर्वाधार विकास र निर्माणका क्षेत्रमा राजमार्ग, सडक तथा पुलहरूको निर्माणका कार्यमा विगतको लामो समयदेखि उल्लेख्य योगदान पुु¥याउन सकेको छ । प्रारम्भिक समयमा त्रिशुली सोमदाङ सडक निमार्णका अभियानसँगै अघि बढेको सेनाको सडक निमार्णको अभियान अझ व्यापक र परिमार्जित भएको छ । पछिल्लो समयमा काठमाडौं तराई मधेस द्रुतमार्गको निमार्णको कार्यसम्म आइपुग्दा यस क्षेत्रमा सेनाको कार्य निपूर्ण व्यावसायिक तथा गुणस्तरीय पनि हुन सकेको छ । देशका अतिविकट तथा कठिन भौगोलिक अवस्था र भौगर्भिक क्षेत्रमा सडक निर्माणको चुुनौतीपूर्ण कार्यमा नेपाली सेनाले काम गरेको छ । विकासको महान् अभियानमा सेनाको सक्रिय सहभागिता सराहनीय छ । जसको ज्वलन्त उदाहरणका रूपमा कर्णाली राजमार्गको निर्माणलाई लिन सकिन्छ ।
नेपाली सेनाले हालसम्म २६ सडक आयोजनाको निर्माण (ट्याक खोल्ने कार्य) कार्य सम्पन्न गरिसकेको छ भने ती आयोजना सम्पन्नतासँगै राष्ट्रिय सडक सञ्जालमा १ हजार ४८ किमी थप सडक निर्माण सम्पन्न भएको छ । देशका अतिविकट भौगोलिक क्षेत्रमा पर्ने सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँसीसहर–चामे, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान–मुसिकोट, अबुवा–भच्चेक सडक निर्माण सम्पन्न हुनुको श्रेय सेनाका कार्यलाई जान्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा नेपाली सेनाको निकै महत्वपूर्ण भूमिका रही आएकोमा कसैको दुईमत नै छैन । नेपालका सबै राष्टिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रहरूको संरक्षणको गहन जिम्मेवारी विगतको लामो समयदेखि नेपाली सेनाले गरी आएको छ । पर्यापर्यटन र महत्वपूर्ण तथा लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण र व्यवस्थापन गरी देशको आर्थिक विकास र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण साझेदारी भूमिका नेपाली सेनाले गर्दै आएको सन्दर्भमा यस क्षेत्रको विकास र संरक्षण अभियानमा अझ प्रभावकारी रूपमा सेनाले आफ्नो उपस्थिति देखाउन सक्नुपर्दछ ।
दिगो विकास र वातावरण संरक्षणका दिशामा अवश्य पनि नवीनतम् आयामहरूको उद्घोष भई सन्तुलित र वातावरणमैत्री मानवीय विकासमा आयामलाई अझ मुखरित गर्नुपर्ने आवश्यकता छ । यसै सन्दर्भमा नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रूपमा विकास भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पर्यापर्यटनको सबैभन्दा उत्कृष्ट गन्तव्यस्थलका रूपमा विकास भई आएको छ । साथै, बर्दिया राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यापर्यटन र पदयात्रा पर्यटनको उत्कृष्टताको श्रेयको महत्वपूर्ण पाटोका रूपमा नेपाली सेनाको व्यवस्थापकीय र संरक्षणको भूमिका हुन सक्नु नेपाली पर्यटन क्षेत्रको विकासको गहन पाटो हो ।
पछिल्लो समयमा नेपाली सेनाले संस्थागत व्यावसायिकताभन्दा केही बाहिरका आर्थिक तथा व्यापारिक कारोबार र आर्थिक उपार्जनका कार्यमा लगाव देखाएको जनगुनासो पनि आएका छन् । विशेषतः सैनिक कल्याणकारी कोषको रकमको उपयोगलाई आर्थिक उपार्जन र लाभमा प्रयोग भई आएको, घडेरी तथा जग्गा प्लटिङ र तत्जनीत आर्थिक क्रियाकलाप तथा व्यापारिक क्षेत्रमा लगानीजस्ता कुराहरू आएका छन् । सेनाका विशुद्ध सैनिक व्यावसायिक चरित्र र यस संस्थाको गरिमालाई कायम गर्दै नेपाली सेनाका मूल्य मान्यता र ऐतिहासिक धरोहरलाई उच्चता दिने सवालमाा सम्बन्धित निकायको व्यवस्थापकीय ध्यान र जिम्मेवारी आवश्यकताको जनताले अपेक्षा गरेका छन् ।
नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको केन्द्रमा रहेर यसले देश र जनताका लागि अझ धेरै उदाहरणीय कार्य गर्नेछ । साथै, विश्व शान्ति र स्थायित्व र मानवतावादी विश्व समाजको दिशामा संयुक्त राष्ट्र संघको अभियानको एक महत्वपूर्ण हिस्साका रूपमा नेपाली सेनाको शान्ति स्थापना कार्यमा थप योगदानलाई परिपोषण गर्ने दिशामा संकल्पित रहन सक्नेमा सबै विश्वस्त छौँ । राष्ट्रिय अखण्डता र स्वाधिनताका लागि नेपाली सेनाको गौरवशाली परम्परा भोलिका दिनमा अझ प्रभावकारी र गुणात्मक हुनु आजको आवश्यकता पनि हो ।
प्रतिक्रिया