हिमपातले भाइरल ज्वरोको संक्रमण

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकामा पछिल्लो समय भाइरल ज्वरोका विरामी बढेका छन । भाइरल ज्वरोले हाल बुढीनन्दा नगरपालिका–३ को नुरीमा मात्र दुई सय बढी बिरामी परेका हुन् ।

फागुन मध्यसम्म पनि हिमपात भइरहेपछि चिसो नघट्दा भाइरल ज्वरोकोे संक्रमण बढेको स्थानीयले बताएका छन । भाइरल संक्रमण भएका स्थानीयमा टाउको दुख्ने ज्वरो आउने, खोकीलाग्ने जस्ता लक्षण देखिएको वडा–३ का वडाध्यक्ष रामबहादुर बोहोराले बताए ।

भाइरल ज्वरोले गाउँमा दैनिक बिरामी थपिन थालेपछि कतिपय घरमा दैनिक कामकाजमा समेत समस्या भइरहेको बताइएको छ । ‘घरमा भएका सबै ज्वरोले थला परेका छन्, घरमा गाईबाख्रा हेरिदिने मान्छेसम्म छैन,’ वडा–३ का स्थानिय धनबहादुर बोहोराले बताए ।

कोल्टी प्राथमिक केन्द्रदेखि करिब ६ घण्टा पैदल दुरीमा पर्ने सो गाउँबाट आवतजावतका लागि समेत असहज हुँदा कोही पनि बिरामी प्राथमिक स्वास्थ्य केन्द्रमा आउन सकिरहेका छैनन् । पूरै गाउँले बिरामी हुँदासमेत स्वास्थ्य संस्थामा पु¥याउन नसकेको वडाध्यक्ष बोहोराले बताए ।

यता प्राथमिक स्वास्थ केन्द्र कोल्टीका प्रमुख डाक्टर गणेश चौधरीले भने नुरीका स्थानीयलाई भाइरल ज्वरोको नै प्रकोप भएको पुष्टि गरेका छन् । डा. चौधरीले त्यहाँका केही स्थानीय सोमबार मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा आएका बिरामीको परीक्षण गर्दा भाइरल भएको पुष्टि भएको बताएका हुन् । गाउँमा भाइरल फैलिएको बारे आफूलाई थाहा भएको बताउँदै डा.चौधरीले तत्काल उपचारका लागि औषधिको व्यवस्था र जनशक्ति परिचालनका लागि नगरपालिकालाई जानकारी गराउने बताए ।

डा. चौधरीले भाइरल प्रभावित स्थलमा तत्काल स्वास्थ्यकर्मीको टोली पठाउने व्यवस्था गर्ने बताएका छन् । हिमपातले पछिल्लो समय चाँडोे बढुनुका साथै स्थानीयमा खानपानमा सन्तुलन नहुँदा त्यस्तो देखिएको डा. चौधरीले बताए । जिल्लामा हाल भाइरलका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मात्र दैनिक २० देखि २५ जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया