उत्कृष्ट पालिकाः धनगढी उपमहानगरपालिका

मेयर नृपबहादुर बड र उपमेयर सुशीला मिश्र भट्टको आत्मीय आमन्त्रणमा धनगढी उपमहानगरपालिका पुगी सबै निर्वाचित जनप्रतिनिधिलाई ०७५ कात्तिकमा सूचनाको हक र स्थानीय सरकार सञ्चालनको विधिको बारेमा प्रशिक्षण दिएको थिएँ । जोसुकैलाई जेसुकै अप्ठ्यारो परे पनि तत्कालै सम्बन्धित निकायमा पुगी दिने सहयोगी भावनाका कारण मेयर बडलाई ‘मानव एम्बुलेन्स’ समेत भनेर चिनिने रहेछ । यस्तो जनप्रिय छबी बनाएका मेयर झैँ उपमेयर मिश्रले पनि भद्रता र सुझबुझपूर्ण नेताको छबी निर्माण गर्नु भएको पाएँ ।

प्रशिक्षणमा सहभागी भएका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरूको उत्साहपूर्ण सहभागिताले सो पालिकाले सम्पादन गरेका काम संकलन गर्न मन लाग्यो । ती संकलित तथ्यांकलाई आलेखको रूपमा तयार गर्न धनगढी उपमहानगरपालिकाबाट थप विवरण हासिल गर्दै थिएँ । सबैबीच नगर विकास कोषबाट सञ्चालित योजना सम्पादनमा धनगढी पालिका प्रथम भएको समाचारले तत्कालै लेख्न उत्प्रेरित ग¥यो । मुलुकमा २ सय १७ नगरपालिकामध्ये प्रथम भएको धनगढी पालिकाका मेयर बडलाई बधाई दिँदै हालका उपलिब्ध सोधनी गर्दा निकै उत्साहपूर्ण चित्र प्रस्तुत गरे, जो अन्य पालिकाका लागि सन्दर्भ सामग्री र अनुशरण योग्य असल अभ्यास हुने ठानी कलम चलाएको छु ।

प्रदेश–७ मा पर्ने धनगढी उपमहानगरपालिका सो प्रदेशमा रहेका सबै मध्येको सर्वाधिक महत्वपूर्ण र हरेक दृष्टिले ठूलो जिल्लाको सदरमुकाम पनि हो । जसको कारण पनि यस प्रदेशमै हालसम्म सर्वाधिक बढी कानुन निर्माण गर्ने रेकर्ड पनि यसै पालिकाले बनाएको छ । यस पालिकाले आम जनतालाई घर दैलोमै सिंहदरबारको अनुभूति दिन सबै १९ ओटा वडामा ‘वडा कार्यालय’ खडा गरेको छ । यसबाट सबै वडाका जनताले लामो समयपछि जनप्रतिनिधिको सहयोग र सेवा प्रवाहका लागि ती उपस्थित भएको अनुभूति गरेका छन् । यसबाट विकास–निर्माणको काममा जनप्रतिनिधिको प्रत्यक्ष निग्रानी बढेको छ ।

नागरिकको स्वास्थ्य सेवामा वडागत हिसाबमा पहुँच बढाउने गरी चारवटा वडामा स्वास्थ्य चौकी स्थापना गरिएको छ । वडा–७ मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा चिकित्सक सहितको सेवा आरम्भ गरिएको छ । फूलबारीमा वृद्धाश्रम निर्माणको काम आरम्भ भएको छ । बेली सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पनि चिकित्सक सहितको सेवा आरम्भ गरिएको छ । साथै, आफ्ना नगरका नागरिकका लागि धनगढी पालिकाले निःशुल्क रगत उपलब्ध गराउने अभियान आरम्भ गरेको छ । यसरी क्रमशः नागरिकको मनमा बस्न धनगढी उपमहानगरपालिका अग्रसर भइरहेको महसुस हुन्छ ।

वर्तमान संघीयता पछि सिंहदरबारको अधिकार मात्रै गाउँ र सहरमा पुगेन करको कहर पनि पुग्यो भनी आलोचना भइरहेको छ । यस अवस्थामा धनगढी उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर घटाएर करको डर जनतामा नपरोस् भन्ने शुभेच्छा राखेको पाइन्छ । तथापि, स्रोत बेगर केही गर्न सकिन्न । सधँै केन्द्रको मुख ताकेर स्वतन्त्र स्थानीय सरकार भन्न पनि मिल्दैन । नागरिकले कर तिर्ने भनेको समृद्धिको प्रतीक पनि हो । सबै कर तिर्न असक्षम जनताकै लागि उपमहानगरपालिका कायम हुन पनि सक्तैन । यसर्थ, करको दरभन्दा दायरा बढाउनुपर्छ । हुने र नहुने, तिर्न सक्ने र नसक्ने, अत्यावश्यक र विलासिताका वस्तुको पहिचान गरी करमा सहुलियत दिने र अतिरिक्त कर लगाउने तर्फ पालिकाहरू अग्रसर हुनुपर्छ ।

यस धनगढी उपमहानगरपालिकाले अनलाइन पद्धतिबाट एकीकृत सम्पत्ति करलगायत सबै करहरू वडा कार्यालयमै बुझाउन सकिने प्रबन्ध मिलाएको छ । सडक क्षेत्रमा पर्ने संरचना भत्काउने घर धनीलाई प्रोत्साहन गर्न यस पालिकाले नक्सा पास र अगाडिको भाग रंगरोगन गर्ने कामलाई निःशुल्क र जग्गाको कर छुट गर्ने अभियान पनि एकैसाथ थालनी गरेको छ ।

जनतालाई पालिका स्थापनाको अनुभूति दिन धनगढी पालिकाले हेलो मेयर कार्यक्रम आरम्भ गरेको छ । टोल फ्री नम्बरबाट नागरिकको पालिकासँग सम्पर्क गर्न सक्ने वातावरण निर्माण भएको छ । वेबसाइट र अनलाइन ई–प्रोफाइलबाट यस पालिकाले सूचना सम्प्रेषण र गुनासो व्यवस्थापन गरिरहेको छ । सूचनाको हकसम्बन्धी ऐनबमोजिम सूचना अधिकारी र सुशासन ऐनबमोजिम प्रवक्ता तोकिएका छन् । यस पालिकाले आफ्ना गतिविधि तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्ने गरेको छ । यस पालिकाले आइटी हब सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत जनताले पालिकाको सेवा खोजी गर्ने र पाउने प्रणाली विकास गरेको छ । साथै, एमआइएस सफ्टवेयर पनि सञ्चालनमा ल्याएको छ ।

यसका अतिरिक्त धनगढी पालिकाले २५ लाख रुपैयाँभन्दा माथिका योजनाहरूको ई–विडिङ प्रणालीबाट खरिद प्रक्रिया आरम्भ गरेको छ । यथार्थमा सबै पालिकाहरू खुला, पारदर्शी र जनताप्रति जवाफदेही भई सञ्चालन हुनुपर्छ । उनीहरूको ध्येय उच्च सदाचार कायम गरी भ्रष्टाचाररहित सुशासन सञ्चालन गर्ने हुनुपर्छ । आम जनप्रतिनिधिहरू यही ध्येयले जनताको सेवाका लागि निर्वाचित भएका हुन् । कहीँ कसैले अन्जानमा बाटो बिराउन पुगे पनि तत्काल सच्चिनु पर्छ । आम विश्लेषकले पनि स–साना कमी कमजोरीलाई तिलको पहाड बनाउनुको सट्टा भए गरेका कामका लागि प्रशंसा गरी थप काम गर्न उत्साहित गर्नुपर्ने ठान्दछु ।

चालु आव ०७५-७६ का लागि १ अर्ब ७९ करोड ३४ लाखको बजेट जारी गरी विकास निर्माणको काममा जुटेको धनगढी उपमहानगरपालिकाले बजेटमार्फत पूर्वाधार विकास, कृषि आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चारको विकास, उद्यम र सहकारीको विकास तथा पर्यटन प्रवद्र्धनमा आफ्नो प्राथमिकता केन्द्रित गरेको छ । यस पालिकाले भन्सार नाकामा क्वारेन्टाइन स्थापना गर्ने लक्ष्य लिएको छ । एक वडा एक कृषि उत्पादनका लागि वडामा जेटिए राख्ने योजना अघि बढाएको छ ।

साथै, सबै वडाको माटो परीक्षणको योजना छ । वडा–१२ मा द्वारिकादेवी कृषि अनुसन्धान केन्द्र स्थापना गरिनेछ । नदी किनारामा साइकल ट्रयाक बनाइनेछ । सपिङ कम्प्लेक्स सहितको भ्युटावर निर्माण गरिनेछ । घण्टाघर निर्माण हुनेछ । स्वीकृति लिएर मात्रै प्लटिङ गर्न दिइनेछ । एक घर एक कार्यक्रम सञ्चालन गरिनेछ । धनगढी एयरपोर्ट सडकमा स्वागत गेट निर्माण गरिनेछ । यी सबै लक्ष्य स्वयंमा यथार्थपरक भए पनि केही हदमा महत्वाकांक्षी पनि देखिन्छन् । धनगढी पालिकाका निर्वाचित सबै जनप्रतिनिधि, कर्मचारी र जनता एक साथ अगाडि बढेमा पालिकाले राखेका यी सबै लक्ष्य सहजरूपमा प्राप्ति हुने कुरामा ढुक्क हुन सकिन्छ ।

धनगढी उपमहानगरपालिकालाई सुन्दर, हराभरा र आकर्षक तुल्याउन पनि पालिका अघि सरेको छ । यसका लागि नगरका सबै घरमा दुईवटा फलफूलका बिरुवा लगाउनुपर्ने अभियान सुरु गरिएको छ । नगरलाई सफा र स्वच्छ राख्न युवाहरूसँग सहकार्य गरी सरप्राइज धनगढी अभियान आरम्भ गरिएको छ । विगत दुई दशकदेखि दुर्गन्धित अवस्थामा रहेका सहरमा नाली सफा गर्ने अभियान सुरु भएको छ । नगरभित्र रहेका खोलानालाको अवरोध खोल्ने, सफा गर्ने र रेखांकन गर्ने कार्य आरम्भ भएको छ । सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि गौशाला निर्माणको काम सुरु भएको छ । एक सय गाईलाई बझाङका दुईवटा पालिकामा पठाइएको छ । वडा–७ मा थारू होमस्टे भवन निर्माण सम्पन्न भएको छ । यसरी धनगढी पालिका आफूलाई ब्युटिफिकेसन’ गर्ने अभियानमा समेत जुटेको छ ।

पूर्वाधारको पनि पूर्वाधारको रूपमा परिचित सडक निर्माणमा पनि धनगढी पालिका अग्रसर छ । धनगढी–अत्तरिया ६ लेन सडकमा अदालतको फैसला अटेर गर्नेका टहरा हटाएर सडक निर्माणमा सहजता प्रदान गरेको छ । सधैँ सबैले भोटको राजनीति गर्ने कारण जनप्रतिनिधि नै विकासका बाधक हुन् भन्ने आलोचनाको विपरीत यो पालिका विकास निर्माणको काममा सहजकर्ताको पहिचान बनाउन सफल भएको छ । यस पालिकाले नगरभित्रका सडकको समुचित व्यवस्थापनको कार्यारम्भ गरेको छ । यस क्रममा सडक विस्तार र ग्राभेल तथा कालोपत्रे गर्ने कामलाई अभियानका रूपमा अघि बढाएको छ । साबिकको उर्मा गाविसमा रहेको वडा–१७ धुरझुन्ना, डमौलियालगायत क्षेत्रमा ग्राभेल बाटो निर्माण गरिएको छ ।

यसैगरी, खुटिया नदीमा पुल निर्माण भइरहेको, डमौलिया जोड्नका लागि शिवगंगा नदीमा पुल निर्माणका लागि सर्भे, बेहडाबाबा मन्दिर जोड्ने शिवगंगा नदीमा पक्की पुल निर्माण गर्नेजस्ता काममा पालिका दत्तचित्त छ । बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान मनन गरी यस पालिकाले आफूले सम्पादन गरेका कामको सार्वजनिकीकरण पनि गरेको छ । जसअनुसार वडा–३ मा नेतुवा तालको गुरुयोजना, वडा–११ फूलबारीमा बाल उद्यान गुरुयोजना, वडा–७ मा जाखोरताल क्षेत्र गुरुयोजना, वडा–२२ मा बेलादेवी धामताल गुरुयोजना र वडा–३ मा शवदाहस्थल गुरुयोजना निर्माणको काम सम्पन्न भएको पालिकाले जनाएको छ । अब यी योजनामा स्रोत जुटाइ जनताको मन जित्ने गरी गुरुयोजनालाई सार्थकता दिनुपर्ने चुनौती यस पालिकाको सामुन्ने आएको अनुभूति हुन्छ ।

धनगढी उपमहानगरपालिकाले आफूले सम्पादन गरेका प्रमुख कार्यको केही झलक सार्वजनिक गरेको छ । जसअनुसार बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । यसैगरी, शिवपुरी धाम क्षेत्रको गुरुयोजना, तौलाहा ताल क्षेत्रको गुरुयोजना, हाटबजार क्षेत्रको गुरुयोजना, उपमहानगर क्षेत्रको गुरुयोजना, सपिङ कम्प्लेक्स भवन निर्माणका लागि गुरुयोजनासहित विस्तृत इन्जिनियरिङ डिजाइनको काम आरम्भ भएको छ । यस पालिकाको पहलमा उर्मा र घोडसुवामा पशु सेवा केन्द्र स्थापना भएको छ । पटेलामा थारू संग्रहालय निर्माण भइरहेको छ । वडा–१५ मा जडीबुटी प्रशोधन केन्द्र र कनरीमा पार्क निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

धनगढीमा सुविधा सम्पन्न बजार सहितको भ्युटावर निर्माण कार्य सम्झौताको चरणमा र सिटी हल निर्माणका लागि टेन्डर भएको कुरा पालिकाले बताएको छ । यसैगरी, फूलबारीमा कोल्डस्टोर, बसपार्क, स्वास्थ्य चौकी निर्माण भइरहेको छ भने सबै वडामा खानेपानीका ठूला योजना सुरु भएको छन् । यस पालिकाले न्यायिक समितिमा आएका मुद्दाहरूलाई सम्पादन गर्ने कार्य प्रभावकारी बनाएको, नगरमा सामूहिक खेती प्रणालीलाई प्रोत्साहन गर्न बिउबिजन तथा उपकरणमा अनुदानको नीति अवलम्बन गरेको, वडा–१५ मा पार्क र जडीबुटी निर्माण सम्पन्न गरेको तथा सबै वडामा माटो परीक्षण प्रक्रियालाई अगाडि बढाएको जनाएको छ । यी काम गरेको र पालिकाले स्वतः स्फूर्तरूपमा सार्वजनिक गरेको छ । यसर्थ, यस्ता काम गर्न र भए गरेका काम सार्वजनिक गर्न मुलुकका अन्य पालिकाले पनि धनगढीबाट सिकून् भन्दै यस आलेखको बिट मार्ने अनुमति माग्दछु ।

प्रतिक्रिया