नेकपाका धेरैजसो नेताहरू वर्ग पक्षधरताका मुखौटाजस्ता लाग्छन् । चारमुखे यिनीहरू चारतिर फर्किएर चौबिस थरि बोल्छन् । तर, प्रतिक्रियावादीहरू यो सरकारविरुद्ध एक मुख र एक जुट देखिन्छन् । यिनले चियाको कपमा तुफान होइन, सुनामी सिर्जना गरेर यो अभूतपूर्व मौका दुरूपयोग गर्न सक्छन् । त्यसमा झाँक्रीहरू अघिअघि सर्नु प्रायोजित नै हुनुपर्छ ।
रामकुमारी झाँक्री नेकपाकी नेतृ हुन् । अनेरास्ववियु केन्द्रीय अध्यक्ष हुँदाका बखत ज्ञानेन्द्र शाहको शासन कालमा रत्नपार्कमा आन्दोलत रहँदा प्रतिगामी सत्ता र सरकारले टाउको फुटाएर रगताम्य बनाएपछि मात्र झाँक्री भाइरल बनेकी हुन् । यसपछि उनका विषयमा केही तत्कालीन एमाले र अहिले नेकपाका पार्टीविरोधी र अहिलेको सरकारविरुद्ध सक्रियहरू तत्वहरू झाँक्री र उनको व्यक्तित्वलाई उपयोग गरी अनापसनाप अफबाह फैलाइरहेको देखिन्छ ।
‘नेपाल आज’ भन्ने अनलाइन मिडियामा अन्तर्वार्ताका क्रममा रामकुमारी झाँक्री निकै बेर सुँकसुकाइन्, रोइन् । यस लेखकलाई पनि ‘उनी साँच्चै पार्टी र सरकारप्रतिको चिन्ताले व्यग्र भएर रोइन् कि क्याहो’ भनेर लागेर अनलाइन अन्तर्वार्ता पूरै हेरियो । तर, आखिरमा झाँक्रीले पार्टीले र अझ अध्यक्ष तथा प्रधानमन्त्रीले आफूलाई यहाँभन्दा कर्नरमा पार्ने ठाउँ नभएको बताउँदा यो लेखक छाँगाबाट खसेझैँ भयो । यस्तो अत्यन्त आग्रही र सतही खालको उनको भँडासो सुने÷देखेपछि यो व्यर्थको रोइलो र अरण्य रोदन लाग्यो । एउटा युवा उमेरको नेताले समानुपातिक सभासद् भएर आर्थिक समिति समेतमा सदस्यमा रहेर काम गर्न पाउनु कुनै महत्वको काम होइन ?
उनी पार्टी एकीकरण विरोधी मानसिकता उहिल्यै रहेको र यसको पुष्टि भएको बताउँदै थिइन् । उनी त पार्टी कुनै नीति, विधि, पद्धति र प्रणालीका आधारमा एकीकृत भएकै थिएन र होइन भन्दै थिइन्. । तर, जबजका आधारमा नेपालको कम्युनिस्ट आन्दोलनले यतिका सारा उपलब्धि प्राप्ति गरेको र नेपालको समाजवाद प्राप्तिको सैद्धान्तिक सही मार्ग प्रशस्त गर्ने जबजको च्याप्टर क्लोजको उपद्रो उपाख्यान गर्दा एक शब्द नबोल्ने झाँक्रीले अहिले सिद्धान्तको चिन्ता गरेको देख्दा अचम्मै लाग्यो । प्रतिक्रियावादी पक्षले आफूलाई अनेक प्रकारले फुक्र्याएका र सक्र्याएका भरमा हौसिएर पार्टी र सरकारका सारा सकारलाई तिरस्कार गर्ने उपल्लै तहका नेताको रबैया रहेको दुर्भाग्यपूर्ण अवस्था देख्दा झाँक्रीजस्ता युवा नेताले बालरोदन गर्नु कुनै अचम्म नै होइन । जस्ता नेता त्यस्तै कार्यकर्ता ।
नेकपाका उपल्ला र वरिष्ठ भनाउँदा नेताहरू हतारमा बोल्ने, फुर्सदमा पछुताउने, एउटा नेताको बोली भुइँमा खस्न नपाउँदै अर्कोले ओठे जवाफ फकाइहाल्ने, सरकार र पार्टीविरुद्ध प्रत्यक्ष वा परोक्ष बाह्य जेहाद छोडिरहेको संगीन घडीमा र मौकामा आफैँ–आफैँ लडी मर्न उद्यत हुने र जग हँसाउने खालका खेल खेलेको देख्दा सरमलाग्दो स्थिति सिर्जना भएको छ । त्यसमा नेता अनुसारका तिनका कतिपय लिलिपुट चेलाहरू सडक सडकमा रोइले तमासा गर्नु कुनै भारी बात होइन ।
नेकपाका धेरै जसो नेताहरू वर्ग पक्षधरताका मुखौटाजस्ता लाग्छन् । चारमुखे यिनीहरू चारतिर फर्किएर चौबिस थरि बोल्छन् तर प्रतिक्रियावादीहरू यो सरकार विरुद्ध एक मुख र एक जुट देखिन्छन् । यिनले चियाको कपमा तुफान होइन, सुनामी सिर्जना गरेर यो अभूतपूर्व मौका दुरूपयोग गर्न सक्छन् । त्यसमा झाँक्रीहरू अघिअघि सर्नु प्रायोजित नै हुनुपर्छ । संसदीय समितिमा नेता योगेश भट्टराईको भूमिका विशिष्ट देखियो । तर, फेरि पनि पहिलेझैँ उनी बहकिन थाले भने नेतृत्वको औकात बढ्दैन ।
ओली सरकारले एक वर्ष पूरा भएकै दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएर अर्को युगान्तकारी कार्यक्रमको उद्घोष गरेको छ । तुलनात्मक रूपमा हेर्दा फेरिएको परिस्थितिमा नयाँ नीति, नियम, विधि, पद्धति, प्रणालीको थिति बसाल्दै सन्तुलित छिमेक नीति तयार गर्दै सरकार अघि बढिरहेको घाम जत्तिकै छर्लंग छ । योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेर सरकारले पहिल्यै नयाँ युगको प्रारम्भ गरिसकेको छ । तर, सिस्नु पानी नेपालले भनेझैँ नेपालका मिडिया विदेशीका गुडिया पर्याप्त रहेका अवस्थामा पार्टी र सरकारविरोधी गोयबल्स शैलीको प्रचारबाजीबाट झाँक्रीसमेत परोक्ष प्रभावित भएको हुन सक्ने देखियो ।
माक्र्स र माओले नै भनेझैँ पुरातनपन्थी सोच, शिक्षा र संस्कारबाट माओ नै पनि लामो समय केही नकेही रूपमा प्रभावित भइरहे । त्यसमा पनि बोनापार्टले चारवटा विरोधी पत्रिका चार हजार सेनाभन्दा डरलाग्दा हुन्छन् भनेको कुरा झाँक्रीलाई थाहा हुनुपर्ने हो । त्यस्तै, अर्का वरिष्ठ पत्रकार ओस्कार वाइल्डले पनि अमेरिकामा राष्ट्रपतिले चारवर्ष शासन गर्छन् तर पत्रकारिताले सधैँसधैँ शासन गरिरहेको हुन्छ भनेका छन् । यही गुढ कुरा र महत्व बुझेका बाह्य शक्तिहरूले उहिल्यैदेखि नेपालको प्रमुख मिडियाहरूमा बलियो पकड र प्रभाव पारेको हो । यसलाई कम्युनिस्टहरूले अहिलेसम्म पनि बुझेको देखिन्न । अहिले पार्टी र सरकारका सकार पक्षहरू प्रकाशन गर्ने विद्युतीय र छापा पत्रिकाको पर्याप्त अभाव अभाव देखिन्छ ।
सरकारविरुद्ध भाँडभैलो मच्चाउने च्याउसरि मिडिया छन् । यस्तो कुरा लेखकलाई थाहा हुने कुरा हो । स्वस्थानी व्रत कथाका नाममा व्यथा भट्याइन्छ । तर, झाँक्रीहरू एउटा पनि चेतनामूलक लेख लेख्तैनन् । पढ्नु लेख्नु सिर्जना गर्नु र प्रकाशन गर्नुजस्ता अति महत्वपूर्ण कुरालाई कामै होइन भनेझैँ गर्ने नेता नाम मात्रका कम्युनिस्ट हुन् । कम्युनिस्टको आवरणमा कम्युनिस्टविरुद्ध क्रियाशील उपल्ला तहका नेताको नालीबेली थाहा पाउन चिनियाँ कम्युनिस्ट पार्टीकै इतिहास अध्ययन गर्दा थाहा हुन्छ । सुरुमा पश्चिमा प्रजातन्त्रका परोक्ष पक्षपाती पछि खुलस्त पक्षधर चिनियाँ वरिष्ठ नेता झाओ, वैज्ञानिक फाङ लिझी, वाङ रुओवाङ, फाङलिभीजस्ता नेताहरू पार्टीको उपल्लो तहको नेता भइकन कम्युनिस्ट पार्टीलाई समाप्त पार्ने गुरुयोजनामा रहेकाले तङसियाओ पेङको नेतृत्वले पार्टीबाट निष्काशन गरेको थियो ।
झाँक्री आफूले महानतम काम गरेको, तर अपमान पनि भोगेको भन्ने कुरा निरपेक्ष रूपमा सही होला, तर मन्त्री नै नपाउँदा आफ्नो मूल्यांकन भएन भन्नु अतिशयोक्ति हुन्छ । पार्टीमा नेता र कार्यकर्ता धेरैले दुःख पाएका छन् । कमरेड ओलीलाई अनेक प्रकारले बदनाम गर्न गराउन पार्टीभित्रका केही माथिल्ला तहका सुलसुले नेताको नामनामेसी यस लेखकलाई थाहा छ । नवौँ महाधिवेशनका वेला इटहरी, सुनसरी, सिन्धुपाल्चोक लगायतका स्थानमा ओली आज हो कि भोलि भनेर निकृष्ट अभिव्यक्ति गरेको यस लेखकलाई जानकारी छ । नेता अमृत बोहराले नै राष्ट्रपतिले डेढ करोडको हेलिकोप्टर चढेको विषय पार्टी बैठकमा चर्को विरोध गरेको आम सञ्चारमा आएको हो ।
तर, त्यो हेलिकेप्टर नेपालमा आएका राष्ट्रपति लगायतलाई पनि नेपाल भ्रमणका वेला उपयोग गरिने र गर्भवती महिलालाई समेत उद्धार गरिने विषय ओझेल पारेर आफैँ नेता उचालिएर दुष्प्रचार गर्न थालेपछि अरूले कुरा काट्ने नै भए । अहिले सरकारमा भएका मन्त्री सबैको अनुहार काम हेर्दा विचार समूहको समावेशिता नै देखिन्छ । तर, आफूले अवसर पाए, न्याय पाए सबैले न्याय पाएको देख्ने रोगबाट मुक्त हुनुपर्छ । पार्टी एकीकरण के तलतल टोल समितिमा छलफल गरेर गर्नुपथ्र्यो भन्न खोजेको हो ? नेकपाअहिले संक्रमणकालमा छ । माथिमाथि पार्टी एकीकृत भयो तलतल हुन सकेको छैन ।
अवश्य पार्टी नीति, विधि र विधान अनुसार नै चल्नुपर्छ । तर, अहिलेको यो अवस्थामा केही समय पार्टीले सुस्पष्ट आकार ग्रहण नगर्दा सम्मका लागि व्यावहारिक सुझबुझ पनि राख्नुपर्छ । नेता शंकर पोखरेल नेकपाका एक सैद्धान्तिक वैचारिक दूरदर्शी नेता हुन् । उनी र रामबहादुर थापालाई कामको जिम्मेवारी दिने सन्दर्भमा समस्या परेको यस लेखकको जानकारीमा रहेको छ । त्यसवेला थापालाई संघीय तहमा र पोखरेललाई प्रदेश तहमा जिम्मेवारी दिएर मिलाइयो । तर, शंकर पोखरेललाई सिद्धान्त र राजनीतिको एउटा महत्वपूर्ण स्थानमा राखेर काम गर्नुपर्ने कुरामा कसैले आग्रह र दुराग्रह नराख्नु पार्टी हितमा हुनेछ ।
अहिले त अध्यक्ष द्वय र मन्त्रीहरूलाई निकटताका आधारमा प्रभावमा पारेर आजै र अहिल्यै सबै भए भरका सेवा सुविधा हत्याइहाल्नुपर्छ, खाइहाल्नुपर्छ भोलि के हो केहो भन्नेहरू ओली सरकारलाई बदनाम गराउने खतरा देखिन्छ । सद्दे काम हतार हतारमा गरिँदैन । तर, हतार हतारमा गर्दा के हुँदो रहेछ भन्ने कुरा संस्कृति मन्त्रीले प्रज्ञामा मुद्दा परेपछि थाहा पाए होलान् । नत्र एउटा प्राज्ञ वा विषय विद्वान् दिव्य वाह्र वर्ष प्रज्ञा प्रतिष्ठानको कुर्सीका लिसोझैँ टाँसिएर बस्दैन, बस्न मान्दैन । पठन लेखनप्रति अटुट, अनवरत लगाव र गहन मैत्री भाव भएको व्यक्ति तदनुसारको काममा निलिप्त हुन्छ ।
त्यसैले सरकारका कोटका डुगुरे मुसाहरूले नै सरकारको गोजीमा प्वाल पारिरहेको वेलैमा देखिएन भने परैबाट भ्वाङ ह्वाङ्ङ हुने निश्चित छ । त्यसबेला डुगुरो मुसाहरू टाप कसिसकेका हुनेछन् । त्यसैले एउटा सिद्धान्तमा प्रतिबद्ध भएका नाताले यस लेखकले नेकपा, यसका नेता र यसको सरकारका कुनै नकारात्मक काम र गतिविधिहरूलाई सुरुमा सुधारात्मक नत्र अन्त्यमा उधारात्मक रूपमा रन्थनाउने गरी लेख्ने छ । सबैलाई यसको वेलैमा जानकारी होस् झाँक्रीजी ।
प्रतिक्रिया