एक्सरे मेसिन बिग्रँदा सुरक्षा जाँच प्रभावित

बाँके । नेपालगञ्ज विमानस्थलमा रहेको एक्सरे मेसिन समयसमयमा बिग्रिने गरेका कारण त्यहाँ तैनाथ रहने शुरक्षा कर्मचारीहरूले हैरानी खेप्नु परिरहेको सम्बद्धहरूको गुनासो रहेको छ । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो ।

नेपालगञ्ज विमानस्थलको सुरक्षा जाँच गर्न करोडौं मूल्यका दुई एक्सरे मेसिन राखिएको भएपनि त्यही मेसीन बिग्रिएर भनेको समयमा मरम्मत हुन नसक्दा बिमान स्थलमा शुरक्षा चुनौती समेत थपिने गरेको पाईएको छ । अति महगो मेसीन भए पनि पटक पटक बिग्रिनेगरेका कारण मेसिन नियमित रूपमा ै प्रयोगमा भने आउँन सकिरहेका छैनन । एकपछि अर्को एक्सरे मेशिन बिग्रिँदा सुरक्षा जाँच प्रभावित भएपछि चुनौती बढेको नेपालगञ्ज बिमानस्थलले जनाएको छ ।

मेसीनहरू समयसमयमा बिग्रिने गरेको कारण र भनेको समयमा मरम्मत नहुदा विभिन्न घटनाक्रम र सुरक्षा दृष्टिकोणले विमानस्थल जोखिममा रहेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए । ‘नेपालगञ्ज विमानस्थलमा भीआईपीको बढी आवतजावत हुन्छ, सुरक्षा जाँचमा प्रयोग गरिने मेशिन पटक पटक बिग्रिन्छ, विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार समेत नहुँदा अनपेक्षित जोखिम छ ।

अस्थायी तारबार हुँदा चरनका लागि जीवजन्तु र घाँस काट्न मानिस प्रवेश गर्ने गरेका छन’ उनले भने । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थल सुरक्षाका लागि छुट्टै समिति भएकाले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको बताए ।

विमानस्थल प्रमुखको संयोजकत्वमा रहेको सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय प्रतिनिधिलगायतका प्रतिनिधि सदस्य रहेका छन् । उक्त समितिले समय समयमा बैठक बसेर विमानस्थल सुरक्षा विषयमा पुनरावलोकन गर्छ । विमानस्थलजस्तो संवेदनशील ठाउँको सुरक्षा नेतृत्व प्रहरी नायब निरीक्षकलाई दिइएको भुजेलले बताए ।

प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३६ जना प्रहरी विमानस्थलमा कार्यरत छन् । प्रहरीले तीन घेरामा सुरक्षा दिइरहेका छन् । विमानस्थल वरीपरीको क्षेत्रलाई निगरानीमै राखिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । पश्चिम नेपालको सबैभन्दा बढी व्यस्त उक्त विमानस्थलबाट काठमाडौंका लागि दैनिक ९ वटासम्म उडान हुन्छन् ।

साथै पहाडी तथा हिमाली जिल्लामा पनि यहाँबाट दैनिक दर्जनौँ उडान हुन्छन् । यात्रुको चाप बढ्दै जाँदा जहाज कम्पनीले उडान सङ्ख्या पनि थप्दै गएका छन् । यहाँ दिनहुँजसो ठूलाबडा व्यक्तिको आवाजतजावत हुने गरेको तर सो यन्त्र बिग्रिँदा सुरक्षामा खतरामा हुने सम्भावना भएको राँझाका स्थानिय स्थानिय प्रमोद गुप्ताले बताए । विमानस्थलको शान्ति, सुरक्षामा सरकारले खासै ध्यान नदिएको आरोप उनले लगाए । आन्तरिक सुरक्षा व्यवस्था लथालिंग भइरहेका बेला विमानस्थलको सीमाक्षेत्रमा स्थायी तारबार नहुँदा अर्को जोखिम बढेको उनले बताए ।

विमानस्थलका विभिन्न स्थानमा लगाइएका तारजाली जीर्ण भइसकेको छ । ती स्थानबाट पशुचौपाया, वन्यजन्तु तथा मानिससमेत ओहोरदोहोर गर्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको दक्षिणी क्षेत्र सुरक्षाका लागि जति कडाइ गरेको छ त्यसबाहेक अन्य क्षेत्रको सुरक्षामा चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।

विमानस्थलको पश्चिम, उत्तर र पूर्व क्षेत्रलाई सामान्य रूपले तारबार गरे पनि सुरक्षा सतर्कता बढाएको नदेखिएको अर्का एक स्थानीयवासीले बताउँछन् । विमानस्थलको उत्तरी भाग मानवबस्तीसँग जोडिएको छ । सुरक्षा निगरानीका लागि विमानस्थल क्षेत्रमा १६ सिसी क्यामरा जडान गरिएको देखिन्छ ।

बाँकेमा सुरु भयो स्वास्थ्य बिमा कार्यक्रम

बाँके,१८ फागुन । बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरू टोलटोलमा खटिएका छन् । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । ४० औं जिल्लाका रूपमा बाँकेमा स्वास्थ्य विमा सदस्यता दर्ता शुभारम्भ गरिएको हो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोख्रेलले जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणालाई कार्ड प्रदान गरेर दर्ता शुभारम्भ गरेका हुन । प्रमुख अतिथी रहेका श्रीवास्तवले बीमा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्नु सामाजिक उत्तरदायित्व भएको बताए । विशेष अतिथी राणाले कार्यक्रमको व्यापकता र प्रभावकारिताका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, शल्यक्रिया, प्रयोगशाला, औषधी लगायतका सेवामा निःशुल्क व्यवस्था गरिएको छ । प्रत्येक वडा मार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरूले घरदैलो गरेर सदस्यता दर्ता गर्ने गर्दछन् ।

बाँकेमा हाल ८१ जना दर्ता सहयोगीले आ आफ्नो वडामा स्वास्थ्य बिमा परिचय पत्र बनाएर सेवा प्रारम्भ गरिरहेको बोर्डका बाँके जिल्लास्थित दर्ता अधिकारी प्रकाश थपलीयाले जानकारी दिए ।

५ जना सम्मको परिवारले वार्षिक रूपमा दुई हजार ५ सय तिर्नु पर्ने हुन्छ भने सो भन्दा बढी सदस्य भए प्रति थप सदस्य ४ सय २५ का दरले तिर्नुपर्ने हुन्छ । बोर्डले स्वास्थ्य बिमा कार्यक्रम बारे यस अघि नै दर्ता सहयोगी, स्वाथ्यकर्मीलगायत सरोकारवाला सबैलाई अनुशिक्षण दिइसकेको छ ।

प्रतिक्रिया